के मन्त्रिपरिषद फेरबदल हुन लागेकै हो?

4.97K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत फागुन ३ गते एक बर्ष पूरा गरेको छ। यतिबेला प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेको काम कारवाहीहरुको समिक्षा भई रहेको छ। प्रधानमन्त्री ओलीले मातहतका मन्त्रालयहरुको कार्यप्रगतिको मुल्यांकन गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले सफ्टवेयर नै बनाएर मन्त्रीहरुको कार्य मुल्यांकन गर्दै आएका हुन्। तर, कतिपय मन्त्रीहरुले आफ्नो कार्ययोजना आफै कार्यान्वयन गर्न असक्षम भएका छन्।

सोही मुल्यांकनमा अनुतिर्ण र विवादित मन्त्रीहरुका कारण सरकार नै सकसमा पर्न थालेपछि प्रधानमन्त्री सोचमग्न अवस्थामा छन्। ओलीले यसअघि नै मन्त्रीहरुलाई परिणाममू्खी काम गर्न पटक पटक आग्रह गर्दै आएका थिए। स्मरणहोस्, मन्त्रिपरिषद् गठनताका नै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई एक बर्षको कार्ययोजना मागेका थिए। त्यही बखत प्रधानमन्त्री ओलीले काम गर्नका लागि मन्त्रीहरुलाई एक बर्षको समयावधि पर्याप्त रहेको बताएका थिए।

पछिल्लो केही दिन यता मन्त्रिपरिषद् फेरबदल हुने समाचार बाहिर आएको छ। केही मन्त्रीहरुको कार्यशैलीका कारण सरकारकै कार्यप्रगतिमा प्रश्नचिन्ह ठडिए पछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद्बारे सोच्न बाध्य भएका हुन्। प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग समेत यस विषयमा गोप्य छलफल गरिसकेका छन्। यो गोप्य छलफलको विषय चुहिएपछि यतिबेला मन्त्रीहरुको ढुकढुकी बढेको छ। यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुबीच भने सम्भावित नयाँ मन्त्रीहरुको चियोचर्चा हुन थालेका छन्।

को को हुन् सम्भावित मन्त्रीहरु ?

गृहमन्त्री रामबहादुर थापा ‘बादल’

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा मुलुकमा शान्ति र अमनचयन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। तर, यथार्थमा त्यो हुन सकेको छैन। त्यसकारण प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापा बादलसँग सन्तुष्ट छैनन्। प्रधानमन्त्री ओली गृहमन्त्री बादलसँग यस अघि देखि नै असन्तुष्ट रहँदै आएको भएता पनि पार्टीगत सन्तुलन मिलाउनका लागि मौन बस्दै आएका थिए। स्मरण होस्, गृहमन्त्री बादल सचिवालय सदस्यका साथै पार्टी एकिकरण कार्यदलका संयोजक पनि हुन्।

पछिल्लो समय हत्या, हिंसा तिव्रदर बढ्न थालेपछि आइजिपी र गृहमन्त्री दुबैको चौतर्फी आलोचना भईरहेको छ। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी २३ बर्षिय बालिका निर्मला पन्त काण्ड, साढे ३३ किलो सुन काण्डलगायतका कारण पनि गृहमन्त्री बादल आलोचित छन्। त्यसकारण गृहमन्त्री बादल सम्भावित खतराको सूचिमा रहेका मन्त्री हुन्।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित

पहिलो कार्यकालमा निकै वाहवाही बटुलेका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यस पटक आलोचित बने। इन्धन सुविधा, भ्रमण भत्ता देखि कर्मचारी समायोजनसम्मका विषयले मन्त्री पण्डितलाई आलोचित बनायो। संघीयता कार्यान्वयन अन्तर्गतको प्राथमिक कार्य कर्मचारी समायोजनको काम ढिलो शुरु भएकोमा प्रधानमन्त्री असन्तुष्ट बनेका हुन्। समयमै कर्मचारी समायोजन हुन नसक्दा प्रदेश सरकारको कार्यप्रगतिमा बाधा पुग्न गएको छ जसले गर्दा प्रधानमन्त्रीले पनि मुख्यमन्त्रीहरुको दबाब खेपिरहेका छन्।

भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ

पद गुमाउने सम्भावित मन्त्रीको सूचिमा रहेका अर्का मन्त्री हुन् भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ। भौतिक संरचनाको विकास र सुधारमा यो मन्त्रालयको प्रगति सुस्त देखिएको छ। यसका साथै वीपी राजमार्गमा ठूला गाडी चलाउन अनुमति दिने निर्णय प्रधानमन्त्रीका लागि सबै भन्दा चित्त नबुझेको विषय हो। यो निर्णयविरुद्ध चौतर्फी विरोध मात्र भएन अदालतले समेत रोक लगाउनु परेको थियो।

त्यस्तै हालै टुटल र पठाओ प्रकरणले पनि मन्त्री महासेठलाई आलोचित बनायो। यो प्रकरणमा पनि प्रधानमन्त्रीले तत्काल एक्सन लिएर सञ्चालन अनुमति दिन आदेश दिएका थिए। सबैभन्दा बढी बजेट भएर पनि सुस्त कार्यान्वयन भएको मन्त्रालय अन्तर्गत परेकाले मन्त्री महासेठको पद गुम्ने सम्भावना अधिक रहेको नेकपाका नेताहरुबीच चर्चा छ।

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट

बैदेशिक रोजगारमा बढ्दो समस्याका विषयमा मन्त्रालयले खासै चासो नदिएको चर्चा छ। मलेसियाको रोजगारी बन्द हुनु, म्यानपावर व्यवसायी निकट हुनु लगायतका कारण उनी आलोचित छन्। यसका साथै मलेसियामा कामदार पठाउने जिम्मेवारी व्यक्ति विशेषलाई दिन खोजेको भन्दै उनको विरोध भईरहेको छ। यद्यपि सामाजिक सुरक्षा योजना र रोजगारी कार्यक्रम कार्यान्वयनका लागि मन्त्री विष्टको पद जोगिने सम्भावना पनि छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारी

पछिल्लो समय निकै आलोचित मन्त्री हुन् संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारी। उनको जनस्तरबाटै राजीनामाको माग भएको छ। वाइडबडी प्रकरणमा सरकारकै चर्को आलोचना भएपछि मन्त्री अधिकारीको पद धरापमा परेको हो। उनले संघीय संसदको संसदीय समितिमा नै गलत अभिव्यक्ति दिए पछि उनको चर्को आलोचना भएको थियो। यसका साथै संसदीय उपसमितिले पनि मन्त्री अधिकारीमाथि कारवाही गर्न सिफारिस गरेको थियो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव

मन्त्री पद गुमाउँन सक्ने अर्का मन्त्री हुन् उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव उद्योग व्यवसायीहरुलाई उचित समय नदिएको र समस्या समाधानका लागि कुनै पहल नगरेको भनेर मन्त्री यादवको आलोचना भईरहेको छ।

अर्थमन्त्री युवराज खतिवडा

अर्थमन्त्री युवराज खतिवडाको निकै पहिलेदेखि नै आलोचना हुँदै आएको छ। उनले अर्थमन्त्रीको शपथग्रहण गरेदेखि नै शेयरबजार राताम्मे बन्न थालेको थियो। यसका साथै पछिल्लो समय ब्याजदर प्रकरणले पनि अर्थमन्त्री आलोचित बनेका छन्। हालै मात्रै उद्योगी व्यवसायीले प्रधानमन्त्री ओलीलाई भेटेर समस्या समाधान गरिदिन आग्रह गरेका थिए।

यद्यपि अर्थमन्त्री खतिवडाको पद गुम्ने सम्भावना भने न्यून छ। किनकी सत्तारुढ दल नेकपामा अर्थमन्त्रीका लागि ‘राइट पर्सन’ भेटिएको छैन। अर्थमन्त्री बन्न पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, रक्षामन्त्री इश्वर पोखरेल र विष्णु पौडेल इच्छुक छन्। तर, पाण्डे माधव नेपाल गुटका नेता हुन् भने पौडेल नेकपाका महासचिव छन्। रक्षामन्त्री पोखरेलको कुनै सम्भावना छैन। अर्कोकुरा प्रधानमन्त्री ओली अर्थमन्त्रीलाई आफ्नै बजेट कार्यान्वयन गर्न दिने पक्षमा छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083