अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट नेपाल विमुख छैन : मन्त्री ज्ञवाली

5.14K
shares

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले मानवअधिकार संरक्षण एवम् प्रवर्द्धनप्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट विमुख नभएको स्पष्ट गरेको छ। परराष्ट्रमन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग बुधवार जेनेभामा भएको भेटवार्तामा मानवाधिकार रक्षामा नेपाल दृढ रहेको बताएका हुन्।

सफलतापूर्वक टुङ्गिएको नेपालको शान्ति प्रक्रिया, लोकतान्त्रिक रुपान्तरण र त्यसपछिका कानूनी प्रक्रिया, समावेशी विकासबारे भेटवार्तामा मन्त्री ज्ञवालीले जानकारी गराएको संयुक्त राष्ट्रसङ्घका लागि जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ।

द्वन्द्वपीडितका चासोको सम्बोधन, सत्य निरुपण तथा मेलमिलापसम्बन्धी बाँकी विषय, सर्वोच्च अदालतको आदेश, मेलमिलापसहित द्वन्द्व पीडितलाई समाजमा पुनःस्थापना गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको उनले बताए।

बुधवार नै परराष्ट्रमन्त्री ज्ञवालीले कोष्टारिकाका प्रथम उपराष्ट्रपति र म्यान्माका अन्तर्राष्ट्रिय सहायतामन्त्रीसँग पनि बेग्लाबेग्लै भेट गरी पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए।