शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँछौँ : प्रधानमन्त्री

4.33K
shares

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने बताएका छन्। निजी क्षेत्रबाट सञ्चालित नेशनल मेडिसिटी अस्पताल नेपालमा पहिलोपटक नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स एनए विएचमा सूचीकृत भएको अवसरमा बधबार आयोजित कार्यक्रममा उनले खुशी र सुखी हुनका लागि समृद्धि भएर मात्र पुग्दैन स्वस्थ्य हुनु पर्ने बताए।

राजनीति स्थायित्व पछि मुलुक आर्थिक समृद्धिको यात्रामा द्रुतरुपमा अगाडि बढेको चर्चा गर्दै उनले अब गरीबी र अभाव अन्त्य हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओलीले भने लोकतान्त्रिक विधि र पद्धति, कानूनी शासन जनताप्रति उत्तरदायी भई सरकार जनताको आर्थिक र सामाजिक जीवन माथि उकास्न लागिपरेको छ। गरीबी, पछौटेपन अन्त्य गर्न सरकार दृढ सङ्कल्प छ।

आर्थिक समृद्धिका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, ऊर्जा, सूचना प्रविधिलगायत सबै क्षेत्रमा तीव्र विकास र परिवर्तन ल्याउन सरकारले चाहेको उल्लेख गर्दै उनले यसका लागि सार्वजनिक, निजी र सहकारी समन्वयमा अगाडि बढ्ने नीति रहेको बताए।

प्रधानमन्त्री ओलीले देशभित्रका सामथ्र्य र सीपलाई अधिकतम उपयोग गर्दै थप पूँजी र प्रविधि भित्र्याएर छिटो आर्थिक वृद्धिदर हासिल तथा विकासमा चमत्कार गर्न लागेको बताए। प्रधानमन्त्री ओलीले यहाँको हावापानी, वातावरण विश्वमा कमैमात्रमा पाइने हुँदा नेपाललाई अन्तर्राष्ट्रियस्तरमा शिक्षा र स्वास्थ्यका क्षेत्रको उत्कृष्ट गन्तव्य केन्द्रका रुपमा विकसित गर्न सकिने धारणा व्यक्त गरे।

हरेक नेपालीलाई स्वस्थ्य बनाउन सरकारले सबैलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने चर्चा गर्दै उनले आधारभूत स्वास्थ्य सेवामा सरकारले दायित्व लिएको बताए। प्रधानमन्त्री ओलीले सरकारले सञ्चालन गरेका पुरानो र ठूला वीर, शिक्षण अस्पताल, धरान अस्पतालले किन अन्तर्राष्ट्रिय मान्यता पाएनन् भन्ने प्रश्न गर्दै सार्वजनिक सम्पत्तिलाई अपनत्व ठान्दै जनताको सेवामा अधिकतम् उपयोगमा ल्याउन आग्रह गरे। उनले बाह्य पूँजी र प्रविधिलाई देश र जनताको हितमा अधिकतरुपमा लगाउन लगानी सम्मेलन आयोजना गर्न लागिएको बताए।

उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्दै गएको चर्चा गर्दै मिर्गौला, मुटु, आँखा रोगका उपचारमा सफलता प्राप्त गरेको बताए। उनले समृद्धिको आधार नै स्वास्थ्य भएकाले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै जाने नीति लिएको जानकारी दिँदै पछिल्लो समय नसर्ने रोग नियन्त्रणमा चुनौती थपिएको बताए। उपप्रधानमन्त्री यादवले सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना, नयाँ स्वास्थ्य नीति, सरकारी स्वास्थ्य संस्थालाई उपकरण जनशक्ति तथा पूर्वाधारका क्षेत्रमा बलियो बनाउन लागिएको जानकारी दिए।

सो अवसरमा नेशनल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोलाई एनएविएचका कार्यकारी निर्देशक चिकित्सक हरिस नडकर्नीले एनएविएचको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। बालगुरु आदित्यले मूल्यबापत मात्र सेवा दान होइन उपचार सेवाबापत जीवन उपहार देऊ भन्ने लिखित आशीर्वचन प्रदान गरेका थिए।

अध्यक्ष महतोले उपचारको अभावमा कुनै नेपालीले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नाका लागि आफूले स्वास्थ्य क्षेत्रमा लगानी गरेको जानकारी दिँदै अस्पताल अगामी दिनमा विरामीको सेवामा तल्लीन रहने बताए। उनले भने समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानलाई सार्थक बनाउन अरुको मुख ताक्नु हुँदैन आफैँले केही गर्नुपर्छ।

सो अवसरमा एनएविएचका कार्यकारी निर्देशक चिकित्सक हरिस नडकर्नीले नेपालको स्वास्थ्य सेवा अन्तर्राष्ट्रियस्तरमा पुगेकामा बधाई दिए। अस्पतालका कार्यकारी निर्देशक चिकित्सक समता प्रसादले अस्पतालका सेवाका बारेमा जानकारी दिएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083