अन्तर–कोरियाली सैनिक सम्झौतालाई निरन्तरता दिने प्रतिबद्धता

4.51K
shares

सियोल। दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाका रक्षा प्रमुखहरुले गत वर्ष उत्तर कोरियासँग भएको अन्तर–कोरियाली सैनिक सम्झौतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। दुबै पक्षबीच सीमामा तनाब कम गर्न र विश्वासको वातावरण निर्माण गर्न गत वर्ष अन्तर–कोरियाली सैनिक सम्झौता भएको थियो।

वासिङ्टनमा सम्पन्न वार्तामा दक्षिण कोरियाका रक्षामन्त्री जियोङ क्योङ–डू र कार्यबाहक अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानबीच उत्तर कोरियासँग हुनसक्ने सम्भावित युद्धको अवस्थामा त्यसको सञ्चालन नियन्त्रणसम्बन्धी अख्तियारी सियोललाई नै प्रदान गर्नेसम्बन्धी अमेरिकी शर्तहरुका बारेमा पनि छलफल भएको थियो।

“दुबै पक्षले वृहत् सैनिक सम्झौता (सीएमए) को कार्यान्वयनबाट कोरियाली प्रायःद्वीपमा सैनिक तनाब न्यून गर्न र आत्मविश्वास निर्माण गर्न खेलेको भूमिकाको बारेमा मूल्याँकन गरिएको छ,” दुबै देशका रक्षा मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

गत सेप्टेम्बरमा उत्तर कोरियाका नेता किम जोङ–अनको मैत्रीपूर्ण निमन्त्रणामा दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनको उत्तर कोरियाको भ्रमणका क्रममा उक्त सीएमएमा दुबै देशका रक्षा मन्त्रीहरुले हस्ताक्षर गरेका थिए। दुबै पक्षबीच विश्वास निर्माण तथा हतियार नियन्त्रण उपायका बारेमा छलफल गर्ने सहमति भएको थियो।

जियोङ र शानाहानबीच उत्तर कोरियासँगको शान्ति प्रक्रियालाई सहजीकरण गर्नेतर्फ दुबै देशका सेनाले मिलेर कार्य गर्ने सहमति पनि भएको छ। दक्षिण कोरियाका राष्ट्रपति मून आगामी अप्रिल ११ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न वासिङ्टन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083