एक बर्षको अवधिमा सरकारले काम गरेर देखाउनै सकेनः सभापति देउवा
वि.सं.२०७५ चैत २० बुधवार ११:०२
shares

कपिलवस्तु। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले ओली सरकारले एक वर्षको अवधिमा कुनै पनि काम गरेर देखाउन नसकेको बताएका छन्।
सरकारले जनतालाई देखाउने लायकको काम गर्न नसकेको उनको आरोप छ। कपिलवस्तुको विजयनगर गाउँपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता देउवाले ओली सरकारले वलात्कारीलाई बचाउने काम गरेको आरोप लगाए। उनले सरकारले साइवर क्राइमको नाममा वाक– स्वतन्त्रतालाई हनन गरेर अप्रजातान्त्रिक गतिविधि गर्न लागेको दाबी गरे।
संविधानले प्रत्यभूत गरेको प्रेस स्वतन्त्रतालाई समेत सरकारले अंकुश लगाउन खोजेको सभापति देउवाको भनाइ छ। उनले आफुले कारणबस संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसक्ने भनेर पत्राचार गर्दा पनि बैठक बोलाएर सरकारले एकलौटी ढंगले निर्णय गरेको आरोप लगाए।
संवैधानिक परिषदमा विपक्षी दलको उपस्थितिलाई सरकारले नरुचाएको उनको टिप्पणी थियो। सभापति देउवाले सरकार सच्चिएर अगाडी नवढे आन्दोलन गर्न वाध्य हुनेसमेत चेतावनी दिएका छन्। यस्तै कांगे्रस सहमहामन्त्री डा।प्रकाशशरण महतले सरकारले संस्थागत भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन्।




























