वाईडबडी भ्रष्टाचार काण्डमा ओली र देउवाकै संलग्नता रहेको हृदेश त्रिपाठीको आरोप

7.42K
shares

काठमाडौं। सांसद हृदेश त्रिपाठीले नेपालकै ईतिहाँसमा चर्चित र ठूलो मानिएको वाईडबडी जहाज खरिद प्रकरणमा प्रमुख दुई ठूला दलका शीर्ष नेताहरु संलग्न रहेको आरोप लगाएका छन्।

उनले वाईडबडी जहाज खरिद भ्रष्टाचारमा वर्तमान सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संलग्न रहेको सनसनीपूर्ण खुलासा गरेका छन्।

वाईडबडी जहाज खरिद खोटाला प्रकरणमा छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिका सदस्यहरुलाई तीनका पार्टीका अध्यक्षहरुले सात्तो खाएको र अहिलेसम्म ती सदस्यहरुको सात्तो नफर्किएको पनि उनले टिप्पणी गरेका थिए।

शुक्रबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन्। फरक प्रसँगमा उनले नेपालका संवैधानिक आयोगहरु निकम्मा भएको पनि गम्भिर आरोप लगाएका छन्।

उनले भने,”दलीय भागबण्डाका आधारमा नियुक्ती हुने भएकोले अख्तियार अनुशन्धान आयोग, निर्वाचन आयोग, लोकसेवा आयोग सबै निकम्मा भएका छन्। यिनीहरुलाई खारेज गर्नुपर्छ।”

राज्यको परिभाषा अनुसार नेपालले आधुनिक राज्य निर्माण नगरेको पनि उनले बताए। संविधानमा पनि अनगिन्ती त्रुटी रहेको उनको आरोप छ। उनले भने,”यो संविधान त त्रुटीहरुको बण्डल नै हो।” संसारमै नभएको संसदीय व्यवस्था नेपालमा भएको उनको टिप्पणी छ।