उपत्यकामा कोरोनाको जोखिम बढेको निष्कर्ष,सवारी पासमा कडाई
वि.सं.२०७७ असार २३ मंगलवार ०९:२७
shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमै फैलिन थालेको र जोखिम उच्च रहेको निष्कर्षसहित काठमाडौँ जिल्ला प्रशासनले सवारी पास वितरणमा कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै अत्यावश्यक काममा बाहेक अरूलाइ सवारी पास वितरण नगरिने र काठमाडौँबाहिर जाने सवारीले कुनै पनि यात्रु नलिइकन फर्कनुपर्ने लगायत नियमहरू लागू गरेको छ ।
पछिल्लो समय लकडाउन खुकुलो भएर जोर-बिजोरका आधारमा काठमाडौँमा निजी सवारी साधन चल्न दिइएको छ । तर मानिसहरू बेपर्वाह हुँदै गएको, भीड बढ्न थालेको र उपत्याकाबाहिरबाट पनि मानिसहरू भित्रिने क्रम बढेको भन्दै यसले संक्रमणको जोखिम बढेको कार्यालयले जनाएको छ ।
मृत्यु, अस्पताल, विवाह सरकारी एवं आयोजनारपरियोजनाका कर्मचारी र अन्य प्राथिमकता प्राप्त कार्यमा खटिने जनशक्तिको औचित्य विचार गरेर मात्र सवारी पास जारी गर्ने प्रशासनले निर्णय छ । अत्यावश्यक कामका लागि भनेर पास लिने जथाभावी यात्रु ओसार्ने गरेमा तथा मास्क नलगाएरै हिँडेमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने समेत प्रशासनले जनाएको छ ।
साथै सार्वजनिक रूपमा चल्ने भाडाका सवारीहरू जस्तैः ट्याक्सी, सुमो, माइक्रोबस तथा ठूला बसका लागि हाल सवारी पास जारी नगरिने समेत जनाइएको छ ।
































