आज नागपञ्चमी, यसरी गर्नुहोस् पूजा

9.07K
shares

काठमाडौं । हरेक वर्ष श्रावण शुक्ल पञ्चमी तिथिलाई नाग पञ्चमी पर्वका रुपमा नागको पूजा गर्ने शास्त्रीय नियम रहि आएको छ । यसवर्ष श्रावण १० गते शनिबार नाग पञ्चमी पर्व परेको छ । शास्त्रीय विधिअनुसार पूजागरिएको नागको प्रतीक घरको मुख्य द्वारमा टाँसेमा बर्षभरि नै नाग अर्थात् सर्पको भय नहुने शास्त्रमा उल्लेख गरिएको छ ।

भगवान् शिवको प्रिय महिनाका रुपमा श्रावण महिनालाई लिने गरिन्छ । शिवजीको गलामा गहनाका रुपमा निवास गर्ने नाग देवताको पूजा तथा आराधना गरेमा समस्त बन्धनबाट मुक्ति मिल्ने पनि शास्त्रमा उल्लेख गरिएको छ । शास्त्रमा उल्लेख भए अनुसार त्रेतायुगमा लंकाका राजा रावणका छोरा मेघनाथले राम तथा लक्ष्मणलाई नाग पासमा बाधेको कुरा रामायणमा उल्लेख गरिएको छ ।

नागपास सबैभन्दा शक्तिशाली पाश हो । मानिस जन्मिएको समयमा पनि नागको दोष हुने गर्दछ । यस्तो दोषमा जन्मिएको समयमा जीवनमा हरेक समस्या देखापरिरहन्छ, गर्न लागेका कुनै पनि कार्य सिद्धि हुँदैन भने पारिवारिक समस्या पनि भइरहन्छ । यस्तो अवस्थामा विधिपूर्वक नागको पूजा गरेमा हरेक प्रकारका समस्याबाट छुट्कारा पाउनका लागि विशेषगरी अष्टनागको पूजाको विधान शास्त्रमा उल्लेख गरिएको छ ।

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिक, कर्कट, शंखचूड गरि अष्टनागको विशेष गरि पूजाको विधान उल्लेख गरिएको छ ।श्रावण महिनामा नागको उत्तर दिशामा शिर हुने गर्दछ । शास्त्रमा सर्पलाई कालको रुपमा पनि व्याख्या गरिएको छ । समस्त चराचर जगत्को मृत्युु कालको अधिनमा छ । कालले कसैलाई पर्खिदैन र भेदभाव पनि गर्दैन ।

शास्त्रमा नवग्रह मध्ये राहु तथा केतु ग्रहलाई पनि गणना गरिएको छ र राहु तथा केतुलाई छाया ग्रहका रुपमा व्याख्या गरेको छ । राहु नाभि भन्दा माथिको शिर हो भने केतु नाभि भन्दा तल पुच्छर हो । राहुको नक्षत्र भरणी तथा केतुको नक्षत्र अश्लेषा हो । शास्त्रका अनुसार भरणी नक्षत्रका देवता यमराज अर्थात काल र अश्लेषा नक्षत्रका देवता नाग अर्थात् सर्प हुन् ।

यसकारणले नक्षत्रका अधिपति देवताका रुपमा राहुलाई काल तथा केतुलाई सर्पका रुपमा उल्लेख गरिएको छ । सपनामा सर्प देखिरहने तथा अन्य समस्या भएकाहरुले नागपञ्चमीका दिन विधिवत् नागको पूजा गरी धातुबाट नागको प्रतिमा बनाएर नदीमा सेलाउने या शिवको मन्दिरमा लगेर चढाएमा हरेक प्रकारका समस्याबाट मुक्त हुने पनि उल्लेख गरिएको छ । नागको पूजा गर्दा रातो वस्तुहरु चढाउनु हुँदैन र बत्ती पनि नजिकै लगेर बाल्नु हुँदैन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083