परराष्ट्रमन्त्रीपछि प्रधानमन्त्रीको भारत भ्रमण !
वि.सं.२०७७ पुस ११ शनिवार १२:३६
shares

काठमाण्डौ । प्रतिनिधिसभा विघटनसँगै शुरु भएको राजनीतिक अस्थिरताले नेपालमा विदेशी शक्तिहरूको चलखेल फेरि तीबरुपमा बढ्न लागेकोले सचेत हुन परराष्ट्र मामिलाका विज्ञहरूले चेतावनी दिएका छन् ।
उनीहरूले राणा शासन ढलेदेखि यताका घटनाक्रमले नेपालमा राजनीतिक सङ्कट चुलिएका बेला विदेशीहरुले आफ्नो स्वार्थपूर्तीको लागि दवाव दिने गरेको देखिएको छ । त्यसबाट नेपालको अहित हुने गरि सन्धिसम्झौताहरु हुने गरेकोले यसपटक पनि त्यस्तै हुने हो कि भन्ने आशंका जन्मिएको छ । त्यसमाथि प्रधानमन्त्री ओलीले दुई साताभित्रै भारत भ्रमण गर्न लागेको समाचारहरु सार्वजनिक भएपछि त मानिसहरुमा त्यस्तो आंशकाले झन महत्व पाएको छ ।
नोभेम्बरको अन्त्यमा भारतीय विदेशसचिव हर्षवद्र्धन सृंगला काठमाण्डौ आएर फर्किएका थिए । त्यसपछि भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पौषको मध्यमा नयाँ दिल्ली जाने बताइएको थियो । ज्ञवाली उक्त भ्रमण सकेर फर्किएलगत्तै जनवरी पहिलो साता अर्थात पुसको तेस्रो सातासम्म प्रधानमन्त्री ओली आफैँ भारत भ्रमणमा जाने तयारी भैरहेको भारतीय सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेका थिए । तर, यसबारेमा नेपाल तथा भारतका सरकारहरुले भने औपचारिकरुपमा कुनै जानकारी दिएका छैनन् । प्रधानमन्त्री ओलीको मात्र होइन परराष्ट्र ज्ञवालीको भ्रमणको विषयमा समेत सरकारले केही बताएको छैन ।
नेपालमा संसद् विघटन हुनु नहुंदै भारत र चिनियाँ कूटनीतिज्ञहरू एकपछि अर्काे गर्दै लगातार उच्चस्तरीय भ्रमणमा आएका थिए । भारतबाट गुप्तचर निकायका प्रमुख, स्थल सेनाध्यक्ष र विदेशसचिव आएका थिए भने चीनबाट रक्षामन्त्री र कम्युनिष्ट पार्टीका उच्च अधिकारीहरुले भ्रमण गरेका थिए।
परराष्ट्र मामिला विज्ञ श्रीधर खत्री सन् १९५० को सन्धि राणाहरू आन्तरिक रूपमा कमजोर भएको र अन्तर्राष्ट्रिय दबाव रहेको बेला हस्ताक्षर भएको बताउंदै त्यसयता हरेक पटक नेपालको राजनीति अवस्था तरल हुंदा विदेशीहरुले मौकाको रुपमा लिने गरेको बताउंछन् । ‘अहिले पनि सत्तारूढ दल विभाजित भएको छ। प्रमुख विपक्षी दलमा पनि एकमत छैन। साना दलहरू आफ्नै उद्देश्यमा लागेका छन् । यस्तो समयमा हाम्रो जस्तो देशका लागि जोखिम बढ्छ ।’ उनले विविसीसंग भनेका छन् । खत्रीका अनुसार भारतले के कारणले भ्रमणमा बोलायो वा त्यहाँ किन जाने त्यो एकदमै गम्भीर प्रश्न हो। हामी आन्तरिक रूपमा कमजोर भएको अवस्थामा त्यहाँ गएर नेपाललाई केही फाइदा हुँदैन। यस्तो बेलामा हुने भ्रमणमा हाम्रो राष्ट्रिय मुद्दाभन्दा ओलीको पार्टीको मुद्दा भ्रमणको केन्द्रमा हुन्छ जसले भारतलाई नै फाइदा पु¥याउने देखिन्छ ।
प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई देशभित्र विभाजन र अस्थिरता हुँदा भूराजनीतिक चुनौती बढ्ने भए पनि अहिलेको सरकार निर्वाचन गराउन प्रतिबद्ध भएकोले हाल देखिएको अनिश्चितता लामो समय नरहने दावि गर्छन् । ‘हामीले देशभित्र अनिश्चितता पैदा गर्दा एक किसिमको समस्या पैदा हुन्छ । तर हामीले त्यो नगरी निर्वाचनमा होमियौँ र जनताले जसलाई विजयी गराउँछन् त्यसलाई जिम्मेवारी दियौँ भने त्यो आफैँ सही ठाउँमा आइहाल्छ । चुनावबाट परिपक्व खालको जनमत आओस् भन्नु ठिक हुन्छ भन्ने मलाई लाग्छ ।’ उनको भनाई छ ।






























