‘कमजोरीबाट पाठ सिक्यौं, अब व्यवहारमा उतार्छौं’ : रवि लामिछाने

416
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले पहिलो राष्ट्रिय महाधिवेशनसँगै पार्टी नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। महाधिवेशनले संगठनलाई थप संस्थागत, व्यवस्थित र परिपक्व बनाउने आधार तयार गरेको उनको भनाइ छ।

चितवनमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै लामिछानेले छोटो अवधिमा पार्टीले उल्लेखनीय उपलब्धि हासिल गरे पनि विगतका कमजोरीबाट सिकेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

उनले नयाँ राजनीतिक शक्तिका रूपमा उदाउँदा विभिन्न चुनौती र अनुभवबाट गुज्रिनु स्वाभाविक भएको उल्लेख गर्दै ती अनुभवले पार्टीलाई अझ परिपक्व बन्न मद्दत गरेको बताए। महाधिवेशनका क्रममा देखिएका व्यवस्थापकीय र संगठनात्मक कमजोरी स्वीकार गर्दै उनले प्रतिनिधि, नेता तथा कार्यकर्ताप्रति क्षमायाचना पनि गरे।

लामिछानेले अब महाधिवेशनबाट प्राप्त सुझाव र सिकाइलाई व्यवहारमा उतार्ने समय आएको भन्दै पार्टीलाई थप प्रभावकारी, अनुशासित र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार रास्वपा विभिन्न पेशा, अनुभव र पृष्ठभूमिका व्यक्तिहरूको साझा प्रयासबाट बनेको पार्टी भएकाले आगामी दिनमा अझ जटिल चुनौतीहरूको सामना गर्नुपर्नेछ। त्यसका लागि संगठनभित्र एकता, अनुशासन र सहकार्य अपरिहार्य रहेको उनले बताए।

पार्टीभित्रको प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले निर्वाचन सकिएसँगै सबै नेता–कार्यकर्ता साझा उद्देश्यका साथ एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। जित र हारलाई स्वाभाविक राजनीतिक प्रक्रिया मान्दै संगठन सुदृढ बनाउन सबैको समान भूमिका आवश्यक रहेको उनको भनाइ थियो।

लामिछानेले महाधिवेशन सफल बनाउन योगदान गर्ने प्रतिनिधि, स्वयंसेवक, नेता–कार्यकर्ता र सहयोगीप्रति आभार व्यक्त गर्दै अब प्राप्त अनुभवका आधारमा रास्वपालाई अझ सशक्त र विश्वासिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्‍याए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083