शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा
वि.सं.२०८२ माघ ६ मंगलवार १०:२६
shares

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन्। उनले आफ्ना दीर्घकालीन सामाजिक तथा प्रविधि सम्बन्धी अभियानलाई निरन्तरता दिन सरकारबाट बाहिरिने निर्णय गरेका हुन्।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनको राजीनामाबारे जानकारी दिँदै, उनी अब पुनः आफ्नै अभियानमा सक्रिय हुने बताएका छन्। उनका अनुसार पुनले मन्त्री पदभन्दा पनि नवप्रवर्तन र सामाजिक विकाससम्बन्धी कामलाई प्राथमिकता दिएका छन्।
ग्रामीण क्षेत्रमा प्रविधि विस्तार, इन्टरनेट पहुँच, तथा नवप्रवर्तन प्रवर्द्धनका लागि लामो समयदेखि सक्रिय रहेका पुन मन्त्री बनेपछि पनि शिक्षा र विज्ञान क्षेत्रमा सुधारका कार्यक्रम अघि बढाउँदै आएका थिए। तर सीमित समय र प्रशासनिक व्यस्तताले आफ्नो मूल अभियानमा पूर्ण रूपमा लाग्न नसकेको महसुस भएपछि उनले राजीनामाको निर्णय गरेको स्रोतको भनाइ छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले पुनको राजीनामाबारे औपचारिक प्रक्रिया अघि बढाउने तयारी गरेको बताइएको छ। अब शिक्षा मन्त्रालयको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा सत्तारुढ गठबन्धनभित्र छलफल सुरु भएको छ।
पुनको राजीनामाले सरकारको मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना पनि बढाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
















