शेरबहादुर देउवाको संसदीय यात्रामा विराम !
वि.सं.२०८२ माघ ६ मंगलवार १०:०२
shares

डोटी ।पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका छन्। यससँगै करिब ३४ वर्षदेखि निरन्तर चलिरहेको उनको संसदीय यात्रामा पहिलोपटक विराम लागेको छ।
देउवा २०४८ सालदेखि लगातार संसद् वा संविधान सभाका सदस्य बन्दै आएका थिए। पहिलोपटक डडेल्धुराबाट निर्वाचित भएपछि उनी गृहमन्त्री बने र पछि पाँचपटक प्रधानमन्त्रीसमेत भए। उनले २०५२, २०५८, २०७४ र २०७८ सालमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
उनको राजनीतिक जीवन उतार–चढावले भरिएको रह्यो। २०५९ सालमा संसद् विघटन गरेपछि कांग्रेस विभाजन भई उनले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे। राजाको प्रत्यक्ष शासन, आन्दोलन, पुनःस्थापना र संविधान सभासम्मको यात्रामा उनी केन्द्रीय पात्र बने।
संविधान सभा निर्वाचनमा उनले डडेल्धुरा बाहेक कञ्चनपुर र कैलालीबाट पनि जित हासिल गरेका थिए, तर पछि एक–एक क्षेत्र छोडेका थिए। पछिल्ला तीनवटै प्रतिनिधि सभा निर्वाचनमा भने उनी डडेल्धुराबाटै विजयी हुँदै आएका थिए।
यसपटक भने पार्टीभित्रको नेतृत्व परिवर्तन, आन्तरिक विवाद र टिकट वितरणको राजनीतिले देउवाको उम्मेदवारी रोकेको देखिन्छ। नयाँ नेतृत्वसँग उनको समूह असन्तुष्ट रहँदै आएको छ र कानुनी बाटोसमेत अपनाइएको छ।
देउवाकी पत्नी आरजु देउवालाई पनि यसपटक कांग्रेसले टिकट नदिएको छ। यसले देउवा परिवारको सक्रिय चुनावी राजनीतिमा समेत विराम लागेको संकेत गर्छ।
विद्यार्थी राजनीतिबाट उदाएका देउवा हठी र साहसी नेताका रूपमा चिनिन्छन्। उनले कहिल्यै नछोडेको संसदीय राजनीति यसपटक रोकिनु नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण मोड मानिन्छ।




























