कालीगण्डकी प्रसारण करिडोर प्रभावित
वि.सं.२०७५ पुस ५ बिहीवार १४:०१
shares

पर्वत। रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ। प्रसारण लाइनको म्याग्दीको दानादेखि पर्वतको खुर्कोट खण्डमा रूख काट्ने आदेश नपाउँदा काम प्रभावित भएको हो। मन्त्रिपरिषद्ले रूख काट्न अनुमति दिने निर्णय कार्यान्वयन नहुँदा २२० केभिए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा ३० वटा टावर निर्माण कार्य रोकिएको छ।
२०७४ पुस १३ गतेको मन्त्रिपरिषद् बैठकले ३० वटा टावर निर्माण हुने वन क्षेत्रको २।५८ हेक्टर जग्गा भोगाधिकार र चार हजार २०८ वटा रूख काट्नका लागि अनुमति दिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय एक वर्षसम्म कार्यान्वयन नहुँदा वन क्षेत्रमा टावर बनाउने र तार तान्ने काम गर्न समस्या परेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए। रूख कटान आदेश नपाएपछि आयोजना वन क्षेत्रमा प्रवेश गर्न पाएको छैन्।
वन क्षेत्रमा ओगट्ने क्षेत्रफल बराबरको सट्टा जग्गा उपलब्ध गराउनु पर्ने वन विभागसँगको सम्झौता कार्यान्वयनमा आयोजनाले देखाएकाले बाध्य भएर कटान आदेश रोकिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ। जग्गा उपलब्ध गराउन नसके बिरुवा रोप्न र हुर्काउने लागतसमेत हिसाब गरी सट्टा जग्गाको मूल्य उपलब्ध गराउन सकिने विकल्प छ।
म्याग्दीमा ४७७ ठूला रूख र ९८१ साना बिरुवा काट्नुपर्ने जनाइएको छ । ११४ वटामध्ये हालसम्म ८१ वटा टावर निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत् सबस्टेसन पनि निर्माण भइरहेको छ। टावर निर्माण भएको ठाउँमा छ किलोमिटर तार तानिएको छ।
अनौपचारिक शिक्षामा विद्यार्थी टिकाउन कठिन
नेपाल सरकारले दुई वर्षअघि शुरु गरेको अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममा विद्यार्थी टिकाउनै कठिन हुन थालेको छ। पर्वतको कुस्माबजारस्थित शिवालय माविमा सञ्चालित अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममा खाजा खुवाउने समस्याका कारण विद्यार्थी नियमित उपस्थित गराउनै कठिन भएको हो।
शिवालय माविले अनौपचारिक शिक्षा कार्यक्रम शुरु गरेपछि १९ परिवारका बालबालिका नियमित कक्षा आउने गरेका थिए। मजदूरी गर्ने र राजमार्गमा आउजाउ गर्ने यात्रीसँग पैसा मागेर गुजारा चलाउने केटाकेटीलाई विद्यालयको पहुँचसम्म ल्याउन शुरु गरेको कक्षामा उनीहरु नियमित आउनै मान्दैनन्। यही कारणले विद्यालयले उनीहरुका लागि कक्षामा खाजा खुवाउन शुरु गरे पनि खाजा कार्यक्रमलाई निरन्तरता दिन विद्यालयले नसकेपछि विद्यार्थी टिकाउन समस्या भएको प्रधानाध्यापक भुपेन्द्र चापागाईँले बताए।
“कहिलेकाहीँ स्थानीय व्यवसायीले दुई–चार बोरा चिउरा, चामल र पीठो दिएर सहयोग गर्दा खाजा खुवाउन सकिन्छ,” उनले भने, “खाजा नभएपछि फेरि विद्यार्थी खोजेर ल्याउनै मुस्किल हुन्छ ।” सहयोगी दाताहरुले दिएको नगद र जिन्सी दुवै अभाव हुँदा कहिलेकाहीँ खाजा नियमित हुन नसक्दा समस्या हुने गरेको छ। खाजा बनाउन नसक्दा बच्चाहरु भोलिपल्ट स्कूल आउनै नमान्ने प्रअ चापागाइँले बताए।
बजार क्षेत्रमा मजदूरी गर्ने, पारिवारिक समस्याले नियमित विद्यालय आउन नसक्ने बालबालिकालाई अनौपचारिक शिक्षा दिन २०७४ वैशाखदेखि यस्तो कक्षा सञ्चालन भएको हो। कक्षामा ५ देखि १८ वर्षसम्मका केटाकेटी पढ्छन् ६ महीनासम्म नियमित अध्ययन गरेपछि उनीहरुको क्षमताअनुसार नियमित कक्षामा पठाइन्छ । “पोहोर २२ जना विद्यार्थी आएका थिए,” प्रअ चापागाईंले भन्नुभयो, “चारजना नियमित कक्षामा गए। अहिले १९ जना अनौपचारिकमै छन्।” रासस































