के हो माक्र्सवादी दर्शन: दर्शन र यसका प्रकार
वि.सं.२०७६ चैत २५ मंगलवार १४:०१
shares

दर्शन र यसका प्रकार:
दर्शन मानव चेतनाका रूपहरूमध्ये एक हो । दार्शनिकहरुले यसको परिभाषा विभिन्न ढङ्गले गरेका छन् । प्राचीनकालका पूर्वीय विद्वानहरूले दर्शनशास्त्रलाई आन्वीक्षिकी भन्दथे र आन्वीक्षिकीलाई चार विद्यामध्ये एक मान्दथे (कौटिल्य)। प्राचीन पाश्चात्य दार्शनिक ल्पेटोले ‘दर्शन सत्य सम्बन्धी दृष्टिकोण हो’ भनेका छन् । ईशाको तेह्रौँ–चौधौँ शताब्दीका एक पूर्वीय चिन्तकले ‘दर्शन त्यस ज्ञानको नाम हो, जसबाट चक्षुगोचरअर्थात् रूपमा प्रकट हुने र आँखाले देखिने विषयहरू तथा स्पर्श सम्बन्धी अर्थात् छोएर, चाखेर र सुँघेर थाहा पाइने विषयहरू, चाहे ती अति नै सूक्ष्म या अन्य कुनै वस्तुभित्र गाभिएर रहेका वा धेरै टाढा रहेका किन नहोऊन्, ती सबको ज्ञान हुन्छ’ भनेका छन् (माधवाचार्य, २००१ पृ.२६१०) ।
एक भारतीय दर्शनशास्त्रीले ‘दर्शन जगतको विषयबोध गर्ने मानव प्रयास हो’ भनेका छन् । पूर्वीय दर्शनको समेत गहन अध्ययन गरेका एक पश्चात्य विद्वानले ‘दर्शन चिन्तन पद्धति मात्र नभएर जीवन पद्धति पनि हो’ भनेका छन् । त्यसैगरी अर्का एक पाश्चात्य विद्वान्ले ‘दर्शन विज्ञान र धर्मबीचको विषय हो’ भनेका छन् । अझै अर्का एक पाश्चात्य विद्वानले ‘दर्शन हाम्रो विश्वदृष्टिकोण हो, विश्व र मानवजाति तथा विश्वमा मानवको स्थानबारे बुझ्ने प्रयास हो’ भनेका छन् । हेगेलले ‘दर्शन सत्यको वस्तुवादी विज्ञान हो’ भनेका छन् । द्वन्द्वात्मक भौतिकवादी दर्शनका प्रणेता कार्ल मार्क्सले ‘दर्शन सँस्कृतिको सजीव आत्मा हो’ भन्नुका साथै ‘हरेक सच्चा दर्शन आफ्नो युगको उच्चतम बौद्धिक सारतत्व हो’ भन्दै यदि सच्चा दर्शन भएमा त्यो आफ्नो युगको बौद्धिक सारतत्व हुने बताएका छन् । रुसी दर्शनशास्त्री स्पिरिकिनले ‘दर्शन सामाजिक चेतनाको एउटा विशेष रुप हो र चिन्तनको मौलिक शैलीमा आधारित हुन्छ । दर्शन विश्वदृष्टिकोणको सैद्धान्तिक गुदी हो’ भनेका छन् ।
यी सबै भनाइहरूबाट दर्शन प्रकृति र समाज सम्बन्धी मानव चिन्तन हो र यो मानव चेतनाको एक उच्चतम रूप हो भन्ने स्पष्ट हुछ । दर्शन मानिसको विश्व दृष्टिकोण हो । विश्वदृष्टिकोण भनेको विश्वप्रतिको दृष्टिकोण हो । विश्वलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो । दर्शन एक विज्ञान हो र विज्ञानको हिसावले दर्शन प्रकृति, जीवन, समाज र चिन्तनको उत्पत्ति, विकास र परिवर्तनका चालक वा आम नियमहरुको विज्ञान तथा अध्ययन पद्धति हो ।
दर्शन मुख्य दुई प्रकारका छन् :
भाववादी दर्शन र भौतिकवादी दर्शनः भाववादी दर्शनले चेतना एवम् चिन्तनलाई प्राथमिक तत्व मान्दछ र संसार अबोधगम्य छ भन्ने ठान्दछ । भौतिकवादी दर्शनले पदार्थ एवम् अस्तित्वलाई प्राथमिक तत्व मान्दछ र संसार बोधगम्य छ भन्ने ठान्दछ । भाववाद वा अध्यात्मवाद ईश्वर केन्द्रीत दर्शन हो भने भौतिकवाद मानव केन्द्रीत दर्शन हो । दर्शनको विभाजन पूर्वीय र पाश्चात्य भनेर पनि गरिन्छ । तर यो विभाजन दर्शनको चरित्र या अन्तर्वस्तुको विभाजन नभएर दर्शनको रचना क्षेत्र अर्थात भूगोलको विभाजन मात्र हो ।
मार्क्सवादी दर्शन
मार्क्सबादी दर्शन सवैभन्दा विकसित र वैज्ञानिक भौतिकवादी दर्शन हो । यो संसारका सवै बस्तु र घटनालाई तिनीहरूका गतिको द्वन्द्वात्मकतामा र विकासको ऐतिहासिक प्रकृयामा हेर्ने, वुझ्ने तथा व्याख्या गर्ने र परिवर्तनका लागि बाटो देखाउने वैज्ञानिक विश्वदृष्टिकोण हो । यसले भौतिक पदार्थको द्वन्द्वात्मक गतिलाई संसारका सबै वस्तु, घटना र घटना प्रकृयाको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण वा आधार मान्दछ । अरु दर्शनले संसारको व्याख्या मात्रै गर्छन् भने यस मार्क्सबादी दर्शनले संसार परिवर्तन गर्ने मान्यता समेत राख्दछ । ‘मार्क्सवादी दर्शन विकसित क्रान्तिकारी विश्व दृष्टिकोण हो, यसले प्रकृति, समाज र मानव चिन्तनको विकासका आधारभूत नियमहरुलाई समेटेको छ’ अर्नोल्डोभ, (ई.१९८५ पृ.१४०) ।
मार्क्सवादी दर्शनका मूलभूत मान्यताहरू
हरेक दशर्नका निश्चित मूलभूत सिद्धान्त हुन्छन् । ती मूलभूत सिद्धान्तले उक्त दर्शनका विश्व र मानव सम्वन्धी दृष्टिकोण जाहेर गर्दछन् । मार्क्सवाद एउटा क्रान्तिकारी वैज्ञानिक चिन्तन र एक नवीन विश्वदृष्टिकोण हो । यसका पनि केही मूलभूत दार्शनिक एवम् सैद्धान्तिक मान्यताहरू छन् । कुर्सानोव र अन्य (ई.१९६७)ले ‘विश्वको भौतिकता, दर्शनको पक्षधरता तथा सिद्धान्त र व्यवहारबीचको एकता द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादका मुख्य सिद्धान्त हुन्’ भनेका छन् (पृ.११९० )
मार्क्सवादी दर्शनका मूलभूत सिद्धान्त वा मान्यताहरुलाई निम्न बुँदामा राख्न सकिन्छ
१) द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण –मार्क्सवादी विश्वदृष्टिकोणको केन्द्रीय भाव द्वन्द्ववादी भाव हो अर्थात हरेक चिज निरन्तर गतिमा हुन्छ, विकसित हुन्छ र वदलिन्छ भन्ने हो । (अफानास्येव ,१९६९ पृ. २३) मार्क्सवादले संसारका सवै वस्तु, घटना, र घटना प्रकृयालाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिले हेर्दछ र द्वन्द्ववादी पद्धतिबाट विश्लेषण गर्दछ । द्वन्द्वात्मक भौतिकवादी दृष्टिले हेर्नु भनेको वस्तु र घटनालाई गतिमा र परिवर्तनको प्रकृयामा हेर्नु हो । द्वन्द्ववादी पद्धतिबाट विश्लेषण गर्नु भनेको हरेक वस्तु र घटनामा सकारात्मक पक्ष र नकारात्मक पक्ष, नवीन पक्ष र पुरातन पक्ष, जीवनशील पक्ष र मरणशील पक्ष, सवल पक्ष र दुर्वल पक्ष, आगमन र गमनका पक्ष जस्ता दुई पक्ष हुन्छन् भनेर विश्लेषण गर्नु हो । यसरी सिङगै संसारलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिले हेर्ने र द्वन्द्ववादी पद्धतिबाट विश्लेषण गर्ने दृष्टिकोण मार्क्सवादको मूल दार्शनिक दृष्टिकोण हो र सवैभन्दा प्रमुख मान्यता पनि हो । त्यसैले मार्क्सवाद ‘द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण’ हो।
(कोन्स्तान्तिनोभ र अन्य, ई,१९८२, पृ,४६०)
२) परिवर्तनकारीता –मार्क्सले ‘दार्शनिकहरूले विभिन्न ढङ्गबाट संसारको व्याख्या मात्रै गरेका छन्, जवकि सवाल यसलाई परिवर्तन गर्ने हो’ भनेर (मार्क्स र एंगेल्स, ई.१९७६.पृ.८०) दार्शनिक चिन्तन केवल व्याख्यात्मक मात्र हुनु भएन त्यसमा परिवर्तनकारी दृष्टिकोण पनि हुनुप–यो भन्ने मान्यता प्रस्तुत गरे । यसो गरेर उनले चिन्तन पद्धतिमा नै परिवर्तनको एउटा मोड ल्याइदिए । त्यसैले भनिन्छ उनले चिन्तनमै क्रान्ति ल्याइदिए । उनले (ई.१९५४) ‘द्वन्द्ववादले सामाजका प्रत्येक ऐतिहासिक रूपलाई सतत् परिवर्तनशील मान्दछ’ (पृ,२९) भन्दै समाजलाई परिवर्तनको प्रकृयामा हेर्ने र ‘अहिलेसम्म हामीले मानव कृयाकलापको मुख्यतः एउटा पक्षमा मात्रै विचार गरेका छौं, त्यो हो मान्छेद्वारा प्रकृतिको पुनर्संरचना गर्ने कार्य । अर्को पक्ष हो मान्छेद्वारा मान्छेकै पुनर्संरचना गर्ने अर्थात मान्छे्लाई नयाँ साचोमा ढाल्ने कार्य’ भन्दै (मार्क्स र एगेल्सं, ई.१९७६,पृ.५०) केवल समाज मात्र वदल्ने होइन कि समाजको निर्माण गर्ने मान्छेले स्वयंम्लाई पनि वदल्नुपर्ने मान्यता प्रस्तुत गरे । त्यसैले उनको दर्शनलाई विद्वानहरूले परिवर्तनको दर्शनका रूपमा लिने गरको पाइन्छ ।
३) श्रमजीवी वर्ग पक्षधरता –मार्क्सवादको अर्को एक मूलभूत मान्यता श्रमजीवी वर्गको पक्षपोषण गर्ने मान्यता हो । मार्क्सवाद स्पष्ट ढङ्गले सर्वहारा श्रमजीवी वर्गका जनताको पक्षमा उभिएको र तिनै वर्गको हित प्रतिनिधित्व गर्ने दर्शन हो । यही श्रमजीवी वर्गको पक्षपोषण गर्ने मान्यताको आधारमा मार्क्सवादले वर्ग संघर्षको माध्यमबाट वर्गीय शोषण उत्पीडनको अन्त्य गर्ने लक्ष्य राखेको छ र सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति गरी वर्गीय समाजको अन्त्य गरेर वर्गविहीन समाज निर्माण गर्ने अवधारणा प्रस्तुत गरेको छ । मार्क्स र एंगेल्स (ई.१९६९) ले ‘कम्युनिष्टहरूको तात्कालिक लक्ष्य सर्वहाराहरूलाई एक वर्गको रूपमा संगठित गर्नु र बुर्जुवा वर्गको प्रभुत्व समाप्त पारी सर्वहारा वर्गको सत्ता कायम गर्नु हो’ भनेका थिए (पृ.१२०) । माओ (ई.१९६८) ले ‘मार्क्सवादी दर्शनका दुईटा विशेष गुणमध्ये एउटा हो यसको वर्गीय चरित्रः यसले खुल्ला रूपमा स्वीकार गर्दछ की द्वन्द्वात्मक भौतिकवाद सर्वहाराको सेवामा छ’ भनेका छन् (पृ.४) ।
४) जनसार्वभौमता र राज्यसत्ताविनाको नयाँ समाज –मार्क्सवादको राजनैतिक दर्शन जनसार्वभौमसत्ता, आर्थिक–सामाजिक अधिकारसहितको लोकतन्त्र, राजनीतिक सत्ताको अन्त्य र समानतासहितको स्वतन्त्रता स्थापना गर्नु हो । मार्क्सले वुर्जुवा लोकतन्त्रमा केवल राजनैतिक स्वतन्त्रता मात्रै पाए । त्यहा उनले आर्थिक–सामाजिक स्वतन्त्रता र समानता पाएनन् । त्यसैले उनले राजनीतिक मुक्ति र मानवीय मुक्तिका बीच आधारभूत भिन्नता रहेको निष्कर्ष निकाले र मानवीय मुक्ति राजनीतिक जगतमा मात्रै प्राप्त हुन सक्तैन, यसले त आर्थिक सामाजिक व्यवस्थामा क्रान्तिकारी रूपान्तरणको माग गर्दछ भन्ने धारणा अगाडि सारे (मिलिबाण्ड, ई.२००६,पृ.११) । उनले एकात ‘राजाको सार्वभौमसत्ताको विरुद्धमा जनताको सार्वभौमसत्ता भन्न सकिन्छ’ भन्दै जन सार्वभौमसत्ताको पक्षपोषण गरेका थिए (माएं, ई.१९७५बी.पृ.२८) भने अर्कोतर्फ ‘जसको प्रतिनिधित्व गर्ने हो तिनिहरूकै जानकारीबाट विच्छेद भएको प्रतिनिधित्व त कुनै प्रतिनिधित्व नै होइन’ भनी (माए, ई.१९७५ए.पृ.१४८) प्रतिनिधि छानिएपछि जनताबाट टाढा रहने परिपाटीको आलोचनागरेका थिए ।
५) व्यवहारवादीता –मार्क्सले “मानव चिन्तनले वस्तुनिष्ट सत्यको वोध गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न सैद्धान्तिक नभएर व्यवहारिक प्रश्न हो, मानिसले आफ्नो चिन्तनको सत्यता, व्यवहारमा प्रमाणित गर्नुपर्दछ” भनेका छन् । ( ई.१९६९.पृ.१३) यस भनाइबाट मार्क्सले सिद्धान्त र व्यवहारबीच अभिन्न एकता हुनुपर्नेमा र सिद्धान्त व्यवहारसँग जोडिनुपर्नेमा जोडदिएको स्पष्ट हुन्छ । यसै आधारमा ग्राम्शी (ई.२००९) ले मार्क्सवादी दर्शनको मूल चरित्र सिद्धान्त र व्यवहारबीच तथा चिन्तन र कार्यबीच अभेद्य एकता कायम गर्नु हो (भूमिका) भन्नुका साथै यस दर्शनलाई ‘व्यवहारको दर्शन’ भन्ने नाम दिएका छन् । (पृ.३१९. माओ (ई.१९६८) उनको विचारमा मार्क्सवादी दर्शनका दुईटा विशेष गुणमध्ये एउटा हो यसको व्यवहारवादीता यसले सिद्धान्त व्यवहारमा निर्भर गर्दछ भनी जोडदिन्छ, सिद्धान्त व्यवहारमा आधारित हुन्छ र त्यसले व्यवहारलाई सेवा गर्दछ भनी जोडदिन्छ । (पृ.४०) सेप्चुलिन (ई.१९७८) को विश्लेषणमा मार्क्सवादी दर्शनले आफुलाई व्यवहारसँग गाँस्यो र दर्शनको काम विद्यमान वास्तविकताको व्याख्या गर्ने मात्र नभएर त्यस वास्तविकतालाई वदल्ने समेत हो भन्ने निष्कर्ष प्रस्तुत गरोस्,दर्शन ज्ञान पद्धति मात्र नभएर कार्य पद्धति नि हो भन्ने मान्यता समेत स्थापित गर्यो (पृ.८३) ।
मार्क्सबादी दर्शनका दुईपक्ष छन् ।
द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । त्यसैले यसलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शन भनिन्छ । द्वन्द्वात्मक भौतिकवादमा पदार्थ र त्यसको अस्तित्वका रूपहरू, गति र गतिका रूपहरू, चेतनाको विकास, द्वन्द्ववादका नियम र प्रवर्ग तथा द्वन्द्ववादी ज्ञान सिद्धान्तको अध्ययन हुन्छ । ऐतिहासिक भौतिकबादमा समाजको भौतिक विकास, चिन्तनको विकास र सामाजिक–राजनीतिक पद्धतिको विकासवारे अध्ययन हुन्छ ।
द्वन्द्वात्मक भौतिकवाद
द्वन्द्वात्मक भौतिकवाद पदार्थमा अन्तर्निहित द्वन्द्वात्मक गतिलाई प्रकृति, जीवन, समाज र चिन्तनको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण एवम् आधार मान्ने विश्वदृष्टिकोण हो । यो वस्तुगत जगत र मनोगत जगतका बीच द्वन्द्वात्मक सम्वन्ध हुन्छ, मनोगत जगत वस्तुगत जगतमा आधारित हुन्छ भने मनोगत जगतले वस्तुगत जगतमा कृया गर्दछ भन्ने मान्यता राख्ने तथा सिद्धान्त र व्यवहारका बीच निरन्तर अन्तरकृया भैरहन्छ र यिनीहरू दुवै निरन्तर विकास र परिवर्तनको प्रकृयामा हुन्छन् भनेर मान्ने दार्शनिक दृष्टिकोण हो । यो संसारका प्रत्येक वस्तु र घटनामा सकारात्मक र नकारात्मक, नवीन र पुरातन, जीवनशील र मरणशील, सवल र दुर्वल, आगमन र गमन जस्ता दुई पक्ष हुन्छन् भनेर विश्लेषण गर्ने द्वन्द्ववादी विश्लेषण पद्धति पनि हो । एंगेल्स (ई.१९७६ए) का अनुसार ‘द्वन्द्ववाद ऐतिहासिक विकासका दुईपक्ष (प्रकृति र मानव समाज) का साथै चिन्तनका अति सामान्य नियमहरूको विज्ञान हो’ (पृं.६२) । लेनिन (ई.१९७७) का अनुसार ‘द्वन्द्ववाद विपरीत तत्वहरूको एकताको सिद्धान्त हो’ (पृ.२३) । माओ (ईं.१९६८) का अनुसार द्वन्द्वात्मक भौतिकवाद ‘विश्व ब्रह्माण्डको विकासको नियम सम्वन्धी मानव ज्ञानको समग्र इतिहासमा रहेका दुई अवधारणामध्ये एक हो’ (पृ.२४) । स्पिर्किन (ई.१९८३) का अनुसार ‘द्वन्द्ववाद विश्व ब्रह्माण्ड र यसको वोधका सामान्य सम्वन्धहरूको सिद्धान्त तथा त्यस सिद्धान्त अनुरूपको चिन्तन पद्धति हो’ (पृ.६१) । कुर्सानोभ (ई.१९६७) का अनुसार द्वन्द्ववाद ‘वस्तुगत जगतको द्वन्द्वात्मकताको प्रतिविम्वन बाहेक अरु केही होइन’ (पृ.११३) । अतः द्वन्द्वात्मक भौतिकवाद भनेको संसारका सवै वस्तु, घटना र घटना प्रकृयाहरू आफैमा गतियुक्त, विरोधाभासयुक्त, अन्तर्विरोधयुक्त र प्रतिपक्षयुक्त छन् भनेर मान्ने दृष्टिकोण एवम् विश्लेषण पद्धति हो ।
द्वन्द्ववादका मूल नियम
दर्शनमा नियम भन्नाले कुनै पनि वस्तु वा घटनाको अस्तित्व र विकासमा निर्णायक भूमिका खेल्ने स्थायी एवम् दोहोरिरहने अत्यावश्यक आन्तरिक सम्बन्धहरूलाई बुझिन्छ । ती नियमहरू सार्वभौम चरित्रका हुन्छन् र कुनै एउटा खास क्षेत्रमा सीमित नभई प्रकृति, समाज र चिन्तनका सवै क्षेत्रमा लागु हुन्छन् । द्वन्द्वात्मक भौतिकवाद कुनै खास क्षेत्रमा सीमित विषयबस्तु नभएर बोध सम्बन्धी समग्र मानवीय कृयाकलाप सार्वभौम पद्धति भएको हुनाले विकासका नियम र ज्ञानका नियमको रूपमा रहेका यसका मूल नियमहरूको व्यापकता पनि त्यत्तिकै फराकिलो छ । द्वन्द्ववादका मूल नियमहरूवारे एगेल्स (ई.१९७६बि) लेख्छन्ः द्वन्द्ववादका नियम प्रकृति र मानव समाजको इतिहासबाट निकालिएका हुन् । किनभने तिनीहरू ऐतिहासिक विकासका उक्त दुई पक्षका साथै चिन्तनका समेत अति सामान्य नियम वाहेक अरु केही होइनन् । र खासमा तिनीहरूलाई मुख्य तीन सूत्रमा राख्न सकिन्छ– मात्राबाट गुणमा र गुणबाट मात्रामा रूपान्तरणको नियम । प्रतिपक्षहरूको अन्तर्गमनको नियम । निषेधको निषेध हुने नियम (पृ.६२) ।
१) प्रतिपक्षहरूको अन्तर्गमनको नियम –पदार्थका सवै रूपहरूमा मेल र वेमेलका पक्षहरू हुन्छन् । तिनीहरू सधैं भिन्न भिन्न किसिमले कृयाशील हुनुका साथै हरदम विपरीत दिशामा अग्रसर हुन्छन् । तिनीहरूका बीचको अन्तरकृयाबाट विभिन्न किसिमका कृया र परिवर्तनहरू भैरहन्छन् । ती कृया तथा परिवर्तनहरू एउटै प्रकृतिका र एकै दिशामा अगाडि बढ्ने खालका नभई विभिन्न प्रकृतिका र विभिन्न दिशामा अगाडि बढ्ने खालका हुन्छन् । मेल र वेमेलको चरित्र भएका तथा विकासको भिन्न प्रकृति एवं भिन्न मोड वा दिशालाई प्रकट गर्ने यी पक्षहरू नै प्रतिपक्ष वा विरोधी पक्षहरू हुन् । मेल र वेमेलको यो अवस्था पदार्थको सर्वव्यापी गुण हो । पदार्थका हरेक रूपमा यो गुण ब्याप्त छ । जस्तो कि भौतिक पदार्थका हरेक परमाणुमा ऋणात्मक र धनात्मक विद्युतधारा भएका इलोक्ट्रोन र प्रोटोन हुन्छन्, कण र प्रतिकण हुन्छन् । चुम्वकमा उत्तरी ध्रुव र दक्षिणी ध्रुव हुन्छन् । विद्युतमा ऋणत्मक र धनात्मक धारा हुन्छन् । प्रकाशका कणहरू इलेक्ट्रोन र पोजिट्रनहरू मिलेर बनेका हुन्छन् । रासायनिक तत्वहरूमा संयोजन र बियोजन कृया हुन्छ । हरेक जैव शरीरको पाचन प्रणाली मा परिपाचन र विपाचन कृया चलिरहन्छ, वंशानुगत गुण र परिवर्तनीय गुण हुन्छन् र नयाँ कोषको वृद्धि तथा पुराना कोषको क्षय भैरहन्छ । बंशानुगत गुणको प्रसारण र कोष विभाजन तथा जीन परिवर्तनको अन्तरकृयाबाट जैव जातिको विकास हुन्छ । जीवाङ्गहरूका श्वास प्रश्वास प्रणालीमा श्वास लिने र फ्याँक्ने कार्य तथा रक्त सञ्चार प्रणालीमा मुटुबाट शुद्ध रगत शरीरका प्रत्येक भागमा पुर्याउने र दुषित रगत तानेर फोक्सोमा ल्याई शुद्ध पारेर फेरी मुटुमार्फत पठाउने कार्य हुन्छ । स्नायु प्रणालीमा सूचना ग्रहण गर्ने र प्रसारण गर्ने कार्य हुन्छ ।
प्रकृति र समाजबीचको अन्तरकृयाबाट भौतिक मूल्यहरूको सिर्जना हुन्छ । समाजको उत्पादन प्रणालीमा उत्पादक शक्ति र उत्पादन सम्बन्धबीच द्वन्द्वात्मकता हुन्छ । शोषक र शोषित वर्गहरूबीचको द्वन्द्वात्मक सम्वन्धबाट वर्गीय समाजका विभिन्न रूपहरूको निर्धारण हुन्छ । आर्थिक, सामाजिक, वैचारिक र राजनीतिक लगायत सामाजिक जीवनको हरेक क्षेत्रका नयाँ र पुराना तत्वहरूबीचको संघर्षबाट समाज विकासको गति अगाडि बढ्दछ । तार्किक ज्ञानमा अमूर्त चिन्तन र विम्व निमार्ण तथा विश्लेषण र संश्लेष्ण कार्य हुन्छ । चिन्तनमा सही विचार र गलत विचार तथा नयाँ विचार र पुराना विचार हुन्छन् ।
२) मात्रात्मक परिवर्तनबाट गुणमा रूपान्तरणको नियम –संसारका सवै बस्तु, घटना र प्रकृयाहरू गतिशील छन् । तिनीहरू सवै परिवर्तनको प्रवाहमा प्रवाहित छन् । सामाजिक रूपान्तरण तथा विज्ञान र प्रविधिको क्षेत्रमा भएको आश्चर्यजनक प्रगतिले सिंगै संसार गतिशील एवं परिवर्तनशील छ भन्ने कुरालाई कसैले पनि अस्वीकार गर्न नसक्ने गरी स्थापित गरेको छ । परिवर्तनको प्रकृया मात्रात्मक परिवर्तन र गुणात्मक रूपान्तरणको तरिकाले निरन्तर अगाडि बढ्दछ ।
मात्रात्मक परिवर्तन र गुणात्मक रूपान्तरणको नियमले विकासको प्रकृयालाई प्रकट गर्दछ । द्वन्द्ववादी दृष्टिकोण अनुसार विकास भनेको पहिलेदेखि अस्तित्वमा रहेको पदार्थको सामान्य वृद्धि वा ह्रास होइन, विकास भनेको त गहन रूपान्तरण हो, नयाँ गुणको प्रकटीकरणको प्रकृया हो (शिहन, ई.१९९३.पृ.४०) । त्यसैले बस्तु र घटनाहरूको अग्रगामी प्रकृयालाई विकास भनिन्छ । यस प्रकृयामा मात्रात्मक र गुणात्मक दुवै किसिमका परिवर्तनहरू पर्दछन् । मात्रात्मक परिवर्तन भनेको वस्तुको मात्रा या संख्यामा, ऊर्जाको मात्रामा र सम्वन्ध एवम् अन्तर्विरोधहरूको मात्रामा बृद्धि वा ह्रास हो । गुणात्मक रूपान्तरण भनेको एउटा गुण भएको वस्तु वा घटना अर्को गुण भएको वस्तु वा घटनामा वदलिने कार्य हो ।
एंगेल्स (ई.१९७६) का अनुसार–“प्रकृतिमा सवै किसिमका गुणात्मक भिन्नताहरू रासायनिक संमिश्रणको भिन्नतामा अथवा गति (ऊर्जा) को मात्रा या रूपको भिन्नतामा निर्भर गर्दछन् । त्यसैले पदार्थ वा गतिमा वृद्धि वा ह्रासविना अर्थात मात्रात्मक परिवर्तनविना कुनैपनि पिण्डको गुणमा परिवर्तन गर्न असम्भव हुन्छ” (पृ.६३ं) । भौतिक, रासायनिक र जैव जगतमा हुने मात्रात्मक परिवर्तनको प्रकृया दुई किसिमले चल्ने गर्दछ । १) स्वयम् पदार्थकै मात्रामा परिवर्तन भएर । २) पदार्थको गति वा ऊर्जाको मात्रामा परिवर्तन भएर । समाजमा हुने परिवर्तन उत्पादन सम्वन्ध लगायत विभिन्न सम्वन्ध र वर्गीय लगायत विभिन्न अन्तर्विरोधहरूको मात्रामा वृद्धि वा ह्रासमा निर्भर गर्दछ ।
परमाणुहरूको संघटक अंगका रूपमा रहेका प्रोटनहरूको संख्यामा परिवर्तन हुँदा गुणात्मक रूपले भिन्न तत्वको निर्माण हुन्छ । त्यसैले प्रत्येक तत्वको परमाणुमा प्रोटनको संख्या फरक फरक हुन्छ । एउटा मात्र प्रोटन भएमा हाइड्रोजन परमाणु बन्दछ । यदि दुइवटा प्रोटन भए भने हिलियमको परमाणु बन्दछ । सातवटा प्रोटन भएका नाइट्रोजन, आठवटा भएमा अक्सिजन, त्रिपन्न भएमा आयोडियम र बयानब्बे भएमा युरेनियम परमाणुहरू बन्दछन् ।
रासायनिक तत्वका परमाणुहरूको मात्रा वा संख्या परिवर्तन हुँदा गुणात्मक रूपले भिन्न यौगिकको निर्माण हुन्छ । जस्तै हाइड्रोजनका दुइवटा र अक्सिजनको एउटा परमाणु मिल्दा पानी बन्दछ भने अक्सिजनका परमाणु पनि दुइवटा नै समावेश भएमा हाइड्रोजन पाराक्साइड बन्दछ । नाइट्रोजनका दुइवटा र अक्सिजनको एउटा परमाणु मिल्दा नाइट्रोजन मोनो अक्साइड नामक ग्याँस बन्दछ भने नाइट्रोजनका दुई र अक्सिजनका पाँच परमाणु मिल्दा नाइट्रोजन पेन्टाक्साइड नामक ठोस यौगिक बन्दछ । कार्वनको एउटा र हाइड्रोजनका चारवटा परमाणु मिल्दा मिथेन ग्याँस बन्दछ भने कार्वनका दुई र हाइड्रोजनका ६ परमाणु मिल्दा इथेन ग्याँस बन्दछ । जीवकोषहरूमा रहने जीवसूत्र र जीव वीजहरूको संख्यामा भिन्नता हुन्छ । जस्तै मानिसको जीव कोषमा क्रोमोजोमका २३ जोडी हुन्छन् भने नरवानरकोमा २४ जोडी, मुसाकोमा २० जोडी, भ्यागुताकोमा १३ जोडी हुन्छन् । पानी सून्य डिग्री सेल्सियसको तापक्रममा जमेर बरफ बन्दछ भने १०० डिग्री सेल्सियसमा बाफ बन्दछ । तापक्रमलाई बढाएर ५५० डिग्री सेल्सियसमा पु¥याइयो भने अणु परमाणुहरूको वियोजन हुन्छ र प्लाज्मा बन्दछ । त्यसैगरि १५३५ डिग्री सेल्सियसमा फलाम पग्लिएर झोल हुन्छ र ३००० डिग्री सेल्सियसमा बाफ बन्दछ । उत्पादक शक्तिको क्षमतामा विकास भएपछि उत्पादन सम्बन्धहरूमा परिवर्तन हुन्छ र समाजकै गुणात्मक रूपान्तरण हुन्छ । वर्गीय अन्तरविरोधहरू चर्किएर गएपछि सामाजिक क्रान्ति हुन पुग्छ ।
३) निषेधको निषेध हुने नियम –निषेधको निषेध नियम वस्तु वा घटनामा गुणात्मक परिवर्तन हुँदा अस्तित्वको पुरानो रूप लोप हुने र नयाँ रूप अस्तित्वमा आउने अविच्छन्न प्रकृयाको नियम हो । यस नियमले प्राकृतिक र सामाजको विकासमा नयाँ र पुरानोबीचको सम्वन्ध र मूल प्रवृत्ति परिभाषित गर्दछ (कुर्सानोव र अन्य, ई.१९६७ पृ. १७२) । यसले वस्तु र घटनामा हुने विकासको अग्रगामी एवम् आरोही चक्रलाई जाहेर गर्दछ । त्यसैले यो विकासको दिशा देखाउने नियम हो । यो नियम द्वन्द्वात्मक भौतिकवादका नियमहरूमध्ये सवैभन्दा जटिल नियम हो, किनभने यसमा द्वन्द्ववादका अन्य मूल नियमहरू समेत समाविष्ट हुन्छन् ।
निषेधको निषेध वस्तु वा घटनामा प्रतिपक्षहरूको अन्तर्गमनमा हुने गुणात्मक परिवर्तनको प्रकटीकरण हो । निषेध हुँदा पुराना प्रतिपक्षहरू लोप हुन्छन् र नयाँ प्रतिपक्षहरू प्रकट हुन्छन् । निषेध हँुदा पुरानो मूल चरित्रको त्याग हुन्छ र नयाँ मूल चरित्र ग्रहण हुन्छ । निषेध विकासको पुरानो चरण र नयाँ चरणबीच सम्वन्धको कडी हो, विकासको अविच्छिन्नता र विच्छिन्नता बीच द्वन्द्वात्मक एकताको कडी हो । एंगेल्स (ई.१९७६) ले यसलाई “विकासको आरोही रूप” भनेका छन् (पृ.१७) ।
ऐतिहासिक भौतिकवाद
ऐतिहासिक भौतिकवाद समाजको भौतिकवादी अवधारणा हो । समाजको उत्पत्ति, विकास र परिवर्तन सम्वन्धी दुइखाले दृष्ट्रिकोण छन्
१ ) समाजलाई ईश्वरको रचना मान्ने दृष्टिकोण ।
२) समाजलाई भौतिक सम्बन्धहरूको कूल योग या समष्टि मान्ने दृष्टिकोण ।
ऐतिहासिक भौतिकवाद समाजलाई विकासको गति र ऐतिहासिक प्रकृयामा हेर्ने, बुझ्ने तथा व्याख्या गर्ने र वदल्नका निम्ति तरिका बताउने दर्शन हो । यसका अनुसार समाज भनेको मानवीय जीवन निर्वाहका निम्ति आवश्यक पर्ने भौतिक साधनहरूको उत्पादन गर्ने शिलशिलामा मानिसहरू एक आपसमा मिलेर बस्न र कामगर्न थालेपछि निर्माण भएको आर्थिक सामाजिक संरचना हो । यो उत्पादक शक्ति र उत्पादन सम्वन्धहरूको द्वन्द्वात्मकतामा आधारित सामाजिक, साँस्कृतिक, वैचारिक, राजनैतिक, प्रशासनिक आदि सम्वन्ध एवम् संरचनाको कूलयोग हो ।
समाज विकासका नियमहरू :
ऐतिहासिक भौतिकवादका अनुसार समाज विकासको मुख्य आधार उत्पादक शक्तिको विकास हो । उत्पादक शक्तिको विकास भनेको प्रकृतिमा मानव शक्तिको प्रभाव वृद्धि हो । ऐतिहासिक भौतिकवादले इतिहासको अमूर्त होइन मूर्त व्याख्या गर्छ । यसले इतिहासका चालक नियमहरूको व्याख्या गर्छ । इतिहासका चालक नियम भनेका समाज विकासका ती चालक नियम हुन् । ती नियमहरूलाई निम्न बुँदामा राख्न सकिन्छ ।
१ ) भौतिक उत्पादनको निर्णायक भूमिका हुन्छ–‘जीवनको सम्वन्ध सवभन्दा पहिले भोजन, पानी, आवास र पोशाकसँग हुन्छ । त्यसैले यी आश्यकताहरूको पूर्तिगर्ने साधनहरूको उत्पादन गर्नु, भौतिक जीवन स्वयम्को उत्पादन गर्नु प्रथम ऐतिहासिक कार्य हो’ (ई.१९६९.पृ.३०) । त्यसकारण समाजको निर्माण, विकास र परिवर्तनमा भौतिक उत्पादन कार्यको निर्णायक भूमिका रहन्छ । भौतिक उत्पादन भनेको स्वयम् मानव र मानवीय जीवन निर्वाहका निम्ति आवश्यक साधनको उत्पादन हो । समाजको भौतिक विकासको मूल नियम यही हो ।
२) आधार अनुरूपको संरचना हुन्छ –‘भौतिक जीवनको उत्पादन पद्धतिले सामाजिक, राजनीतिक र बौद्धिक जीवनको आम प्रकृया निर्धारण गर्दछ’ (मार्क्स, ई.१९७) पृ.२०–२१) । त्यसैले समाजको आधार जस्तो हुन्छ त्यसै अनुरूपको संरचना बन्दछ । समाजको आधार आर्थिक उत्पादन प्रणाली हो । त्यसैले आर्थिक आधार जस्तो हुन्छ त्यसै अनुरूपको उपरी संरचना बन्दछ । अर्थिक सम्बन्धहरूले समाजका राजनीतिक, सामाजिक, साँस्कृतिकलगायत अन्य सबै सम्बन्धहरूको निर्धारण गर्दछन् । ‘सामाजिक सम्वन्धहरू उत्पादक शक्तिसँग घनिष्ट रूपले जोडिएका हुन्छन् । मानिसले नयाँ उत्पादक शक्ति हासिल गरिरहँदा आफ्नो उत्पादन पद्धतिमा परिवर्तन गर्छन् र उत्पादन पद्धतिमा परिवर्तन गरिरहँदा, जीविकोपार्जनको तरिकामा परिवर्तन गरिरहँदा आफ्ना सारा सामाजिक सम्वन्धहरूलाई पनि परिवर्तन गर्दछन्’ (मार्क्स,१९७८.पृ.१०३) ।
३) अस्तित्वद्वारा चेतनाको निर्धारण हुन्छ –‘मानिसको चेतनाले उनिहरूको अस्तित्व निर्धारण गर्ने होइन वरु उनीहरूको भौतिक अस्तित्वले उनिहरूको चेतनाको निर्धारण गर्दछ’ (मार्क्स, ई.१९७०.पृ.२१) । अतः भौतिक परिवेशले चिन्तनको निर्माण र विकासलाई आधार प्रदान गर्दछ । चेतनाका अङ्गविना चेतना र ज्ञानेन्द्रीयहरू विना ज्ञान असम्भव छ । चेतना वा चिन्तनले भौतिक परिवेशको परिर्वतनमा भूमिका भने खेल्दछ । चेतनाको विकास हुने प्रकृया यही हो ।
४) वर्गीय समाज परिवर्तनको मूल सम्बाहक वर्ग संघर्ष हो-मार्क्स र एंगेल्सका (ई.१९६९) अनुसार ‘विगत प्रत्येक समाजको इतिहास वर्ग विरोधहरूको विकासको इतिहास हो, ती वर्ग विरोधहरूको, जसले भिन्न युगमा भिन्न रूप धारण गरेका थिए’ (पृ.१२५–२६) र ‘आजसम्म अस्तित्वमा आएका सवै समाजको सम्पूर्ण लिखित इतिहास वर्ग संघर्षको इतिहास हो’ (पृ.१०८)। वर्गीय समाजको मूल विभेद वर्गीय विभेद हो । अन्य विभेद सहायक वा गौण हुन् । वर्गीय विभेद अन्त्य गर्ने मूल माध्यम वर्ग संघर्ष हो । अन्य विभेद विरुद्धको संघर्षलाई वर्ग संघर्षसँग जोड्नु पर्दछ । यो नै सामाजिक–राजनैतिक विकासको मुख्य प्रकृया हो ।
५ ) इतिहासका निर्माता श्रमजीवी जनता हुन्– ‘मानिसहरूले आफ्नो इतिहास आपैmँ निर्माण गर्छन्, उनीहरूले त्यो काम उनीहरूलाई त्यसो गर्न आधार प्रदान गर्ने एउटा निश्चित वातावरणमा र पहिलेदेखि विद्यमान वास्तविक सम्वन्धहरूको आधारमा गर्दछन्’ ( ई.१९७५ पृ.४४२) । श्रमजीवी जनताले मानवीय जीवन निर्वाहका वस्तु वा साधनको उत्पादन, भौतिक संरचना निर्मार्ण श्रमका औजारको निर्माण र परिमार्जन, वौद्धिक मूल्यहरूको सिर्जना, सामाजिक–राजनीतिक संगठन निर्मार्ण र परिचालन तथा परिवर्तनका निम्ति संघर्ष सञ्चालन जस्ता कार्यहरू गरेर समाज र समाजको इतिहास निर्माण गर्ने कार्य गर्दछन् । त्यसैले उनीहरू नै इतिहासका निर्माता हुन् ।
विज्ञानमा क्रान्ति र मार्क्सवादी दर्शनको सच्चाई पुष्टि
मार्क्सवादी दर्शनको प्रतिपादन हुँदाको समयसम्म ऊर्जाको संरक्षण र रूपान्तरण गर्न सकिन्छ भन्ने, सवै जीवको शरीर जीवकोषबाट बनेको छ भन्ने र जीव विकासको सिद्धान्तजस्ता केही प्रमुख नियमहरू मात्र जानकारीमा थिए । त्यसबेलासम्म परमाणु नै पदार्थको सबैभन्दा सुक्ष्म रूप हो र यो अविभाज्य छ भन्ने विश्वास गरिन्थ्यो । परमाणुभन्दा सुक्ष्म जगतको बारेमा जानकारी थिएन । त्यसपछिको समयमा धेरै ठूलाठूला आविष्कार भएका छन्, जसलाई विज्ञानमा क्रान्ति भनिन्छ ।
विज्ञानमा भएका पछिल्ला क्रान्तिहरूले मार्क्सवादी दर्शनका मूल मान्यताहरूलाई पुष्टि गरिरहेका छन् । भौतिक विज्ञानमा ‘समस्त ब्रह्माण्डको तहमा पदार्थको सकारात्मक ऊर्जालाई नकारात्मक गुरुत्वाकर्षणीय ऊर्जाले सन्तुलनमा राख्ने भएकाले ब्रह्माण्डको सृष्टिमा कुनै अवरोध हुँदैन’ (हकिन्स र म्लोदिनो, ई.२०१०,पृ.१८०) भन्ने मानिनु,विभिन्न प्रकारका विद्युत चुम्वकीय तरङ्ग र तिनका फ्रिक्वेन्सीहरूबीच द्वन्द्वात्मक सम्बन्ध रहेको पाइनु , इलेक्ट्रोनको प्रतिकणका रूपमा न्यूट्रिनोहरू रहनु , क्वान्टनमा तरङ्ग र कणको द्वन्द्वात्मकता हुनु , क्वार्कका प्रतिक्वार्क हुनु , बोसोनका प्रतिकणको रूपमा फर्मिओनहरू रहनु । यी सब कुराले मार्क्सवादी दर्शनको प्रतिपक्षहरूको अन्तर्गमन हुने नियमलाई पुष्टि गर्दछन् ।
विभिन्न तरङ्गहरूको प्रतिसेकेन्ड आवागमन संख्याले ती तरङ्गको गुण निर्धारण गर्छ (ग्राण्ट र वुड्स, २०१४,पृ.६०) भन्ने नियमले मार्क्सवादी दर्शनको मात्रात्मक परिवर्तनबाट गुणात्मक फड्को मार्ने नियमलाई पुष्टि गर्दछ ।
यसरी भौतिक विज्ञानको क्षेत्रमा भएको विकासले मार्क्सवादी दर्शनलाई सही सावित गरिरहेको छ र लेनिनले भने जस्तै प्रसव व्यथामा रहेको भौतिक विज्ञानले द्वन्द्ववादलाई नयाँ–नयाँ ढंगले जन्म दिइरहेको छ । विज्ञानको अन्य क्षेत्रमा भएको विकास भौतिक विज्ञानको विकासमा नै आधारित छ । किनभने वैज्ञानिकहरूका अनुसार जीव विज्ञानका आणविक आधारहरूको अध्ययनले जैविक प्रक्रियाहरू भौतिक विज्ञान र रसायन विज्ञानका नियमहरूबाट सञ्चालित छन् भन्ने देखाउँछ र स्नायु विज्ञानका पछिल्ला प्रयोगहरूले हाम्रो भौतिक मस्तिष्कले विज्ञानका ज्ञात नियमहरूको अनुसरण गरेर हाम्रा कार्यहरू निर्धारण गर्दछ्, ती नियमभन्दा बाहिरको अरु कुनै एजेन्सीले होइन भन्ने दृष्टिकोणलाई सघाएका छन् ।































