‘एक प्रचण्डको बिरोध “जनयुद्ध” माथिको आक्रमण हो’

9.79K
shares

भुमिराज अधिकारी

वर्तमान सरकारको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरि रहेका छन् । उनको बिरोध आलोचना समर्थन /असमर्थन चर्चा /परिचर्चा भने प्रत्यक्ष /अप्रत्यक्ष ढङ्गबाट भई नै रहेको छ । त्यसैले त प्रचण्ड एक नेपाली जनताको सर्वमान्य जनताप्रेमी नेता हुन् ।

प्रचण्ड कम्युनिष्ट विद्रोहबाट आएका नेता हुन्। ‘जनयुद्ध’को तयारी, ‘जनयुद्ध’ र यसपछिका उनका वैचारिकताको बिभिन्न पक्षलाई हेर्दा उनको चिन्तनमा उतारचढाव देखिन्छ। ‘जनयुद्ध’ तयारीको चरणमा उनी नेपाली कांग्रेसको उदारवादी प्रजातान्त्रिक विचार, उदीयमान नेता मदन भण्डारी र उनीहरूले व्याख्या गर्ने जबज, पुनरुत्थानवादी राजावादी (पञ्चायती)  शक्तिसँग वैचारिक सङ्घर्ष गरेर आएका एक क्रान्तिकारी नेता हुन् ।

मार्क्सवाद, लेनिनवाद र माओवाद (मालेमावाद) लाई मार्ग निर्देशक सिद्धान्त स्वीकार गर्दा उनको कदम एक भावुक विद्रोहीको रूपमा देखिन्छ। ‘जनयुद्ध’को क्रममा चलेका वैचारिक बहसहरूले उनलाई व्यावहारिक र कुटिल नेताका रूपमा परिचित गरायो भने ‘जनयुद्ध’पछि एक संसदीय खेलाडीका रूपमा!

नेपालका कम्युनिष्टहरू आफू बाहेक अरूलाई असली कम्युनिष्ट देख्दैनन्, तर कम्युनिष्ट विचारधाराभन्दा बाहिरका सबैका लागि उनीहरू समान दुस्मन हुन्। उनीहरू कम्युनिष्टहरूको अस्तित्व यस संसारमा नहोस् भन्ने चाहन्छन्। नेपालमा कम्युनिष्ट विद्रोही नेता क्रान्ति र त्यसपछिका निर्वाचनमा लगातार विजयी हुनु उनीहरूको निदहराम हुने विषय हो।

प्रचण्ड पछिल्ला केही दशकयता नेपाली राजनीतिको केन्द्रमा छन्। उनकै नेतृत्वमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीकरणको राजनीतिक आन्दोलन सञ्चालन भयो। यो राजनीतिक आन्दोलनले विद्रोह र जनआन्दोलनको वैधता मात्र होइन आधुनिक राजनीतिशास्त्रमा संविधान निर्माणको सबैभन्दा उन्नत विधि संविधानसभाको वैधता पनि प्राप्त गर्‍यो। शास्त्र, शस्त्र, नैतिक र जनबलले यो राजनीतिक आन्दोलन सफल भयो। सबै राजनीतिक शक्तिले रहर, कर, बाध्यताले यसलाई मान्यता दिए।

माओवादी आन्दोलनले उठाएका सबै विषय पूरा भएका छैनन्। आफ्नै कमजोरीका कारण कैयौं मुद्दा माओवादीको राजनीतिक लगामबाट छुटे। मधेशी पहिचानको उठान गर्न माओवादीले ठूलो बलिदान गर्‍यो तर मधेशको संवेदनशीलता नबुझ्दा र युद्ध उन्मादी प्रवृत्ति हावी हुँदा ठूलो अवसर गुमायो। पहिचानसहितको संघीयताको मूल नारा बोकेर संविधानसभामा गएको माओवादीले एकातर्फ झन्डै ५० प्रतिशत जनमत गुमायो भने अर्कोतर्फ मुद्दाप्रतिको स्वामित्व गुमायो।

शिक्षा र स्वास्थ्य जनताका आधारभूत विषय थिए। माओवादी पार्टीले पटक पटक शिक्षा र स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्‍यो तर कुनै परिवर्तनको छनक देखिएन। माफियाको चङ्गुलमा परेको शिक्षा स्वास्थ्य मन्त्रालय छिरेका लाल कामरेडहरू रङ बदलेर छिर्केमिर्के भएर फर्के। विद्यार्थी, शिक्षक, प्राध्यापक सङ्गठनहरू पीए, जागिरे र भागबन्डा ढुकुवा भन्दा बढी हुन सकेनन्। किसान बुढा नेता थन्क्याउने थलो बन्यो, सुकुम्बासी भूमिहीनहरूको भरोसा बचेन। महिला सङ्गठन जुझारु रहेन।

माओवादले उठाएका मुद्दा राता ब्यानरबाट  नीलो ब्यानरले थाहै नपाई खोसिदियो। अनि आधारभूत वर्गले विश्वासघात भएको आशङ्का गरे। राजनीतिक मुद्दा रातो ब्यानरबाट नीलो ब्यानरमा पुग्दा धेरै विकृत भइसकेको छ। प्रचण्डमाथि आक्रमण हुँदा आफ्नैहरू अलमलमा परे, प्रतिवाद गरेनन्। आक्रमणकारीले प्रतिरोध र प्रत्याक्रमण सामना गर्नु परेन। उनीहरू हौसिए र निरन्तर आक्रमण जारी राखे।

माओवादी पार्टीमा प्रचण्डको प्राधिकार स्थापित भयो। पार्टीमा प्रचण्ड दिने र अरू लिनेजस्ता भए। निर्णय, निर्णयप्रतिको उत्तरदायित्व र जवाफदेही सामूहिक भएन। पार्टीभित्रै नेतृत्वलाई दबाव दिएर लाभ लिने तर जवाफदेही नहुने प्रवृत्ति देखियो। बाहिरबाट हेर्दा सबै तर भित्रभित्र कोही पनि प्रचण्डको नहुने देखिए।

भुमिराज अधिकारी

पार्टी विभाजनपछि विभाजितहरूले आफ्ना जीवनका सारा सङ्गृहीत इच्छाहरूको बाधक र कारक प्रचण्ड हुन् जस्तो गरी भाष्य स्थापित गरिए। पार्टीभित्र र हिजोका सहकर्मीबाट आक्रमणको वातावरण तयार हुँदैगयो। प्रचण्डमाथिको आक्रमणको एउटा कारण माओवादी पार्टी र माओवादी आन्दोलनको शक्ति सङ्घर्ष पनि हो।

राज्य र समाजको मात्र होइन अदालत र सेनाको समेत लोकतन्त्रीकरण भन्ने प्रचण्ड आफ्नै पार्टीको लोकतन्त्रीकरण गर्न चुके। माओवादीले न त पार्टी जीवनका नोकरशाही प्रवृत्ति रोक्न सक्यो न त अराजकता नियन्त्रण गर्न सक्यो। पार्टी विभाजनका धेरै कारणमध्ये महत्त्वपूर्ण कारण यी पनि हुन्।

माओवादी युद्ध समानता, स्वतन्त्रता, न्याय र बलिदानको आन्दोलन थियो। सामूहिकता र सरलता यसका सांस्कृतिक निधि थिए। यो महिला हिंसा, बहुविवाह, दलितमाथिको भेदभाव जस्ता सामाजिक-सांस्कृतिक विकृति विरुद्ध थियो। त्यतिबेला श्रमप्रतिको सम्मान थियो। दलाली, कमिशनतन्त्र र भ्रष्टाचार विरुद्ध आन्दोलन केन्द्रित थियो। फलतः अथाह जनविश्वास प्राप्त भयो।

अहिले यी सांस्कृतिक मूल्यहरू गुमेका छन्। आफैंले निर्माण गरेका नैतिक मानकहरूमा माओवादी फेल भएको छ। राजनीतिक शक्ति निर्माणको बलियो आधार नैतिकबल हो। नैतिक रूपमा माओवादी हारेको जुवाडे जस्तो भएको छ। शत्रुको कमजोर बिन्दुमा आक्रमण गर्नुपर्छ भन्ने प्रचण्डमाथि आक्रमण गर्नेले राम्रोसँग बुझेका छन्। फेसबुक वालपेपरमा जीपीएमजीको फोटो राखेर गुमेको साख फर्कंदैन।

जुनसुकै राजनीतिक व्यवस्था र सिद्धान्तको अन्तिम उद्देश्य जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन, न्यायको अनुभूति, सुरक्षित भविष्य हो। विकास र समृद्धि आम नागरिकको चाहना हो। पञ्यायती व्यवस्थामा विकासको मूल फुटाउने भनेर होस् कि २०४६ पछिका सरकारले विभिन्न नारा दिएर विकासको नारा जोडतोडले उठाए।

जनताले आश्वासनका भतेर खाए तर समृद्धि कुन चरोको नाम हो थाहा भएन। माओवादीले नयाँ नेपाल बनाउने भन्दै पुरानै नारालाई रिब्रान्डिङ गरी बेच्यो। सुधारका सङ्केत देखिएन। नारा चर्का तर कार्यक्षमता कमजोर। यसबाट जनतामा चर्को निराशा सिर्जना भयो।

शान्ति सम्झौताको ६ महिनामा सम्पन्न गर्नुपर्ने सत्य निरूपण तथा मेलमिलाप आयोग, संक्रमणकालीन न्याय र परिपूरणका काम अझै हुन नसक्नुले नेतृत्वको प्राथमिकता के थियो भन्ने प्रश्न उठेको छ। अहिले विद्रोही प्रमुख र राज्यपक्षको प्रमुख प्रचण्ड स्वयं हुन्। पीडितले न्यायको अनुभूति गर्न पाउनुपर्छ र राज्यले त्यसको भरपर्दो व्यवस्था गर्न सक्नुपर्छ।

प्रचण्डले विद्रोही पक्ष वा राज्य पक्षको होइन ‘जनयुद्ध’मा मारिएका, बेपत्ता पारिएका, घाइते, अपाङ्ग, विस्थापित, जेल, यातना भोगेका, सम्पत्ति गुमाएका सम्पूर्णको जिम्मेवारी लिनुपर्छ। यो काम अपेक्षाकृत रूपमा अघि नबढ्नुमा प्रचण्डको पनि दोष छ। तर उनी मात्र एक्ला दोषी भने होइनन्। पुरानो घाउ कोट्याएर स्वार्थको रोटी सेक्ने र द्वन्द्वको नयाँ ब्याडको सृजना गर्न खोज्नेहरूलाई अब समय र ठाउँ दिनुहुँदैन।

आम निर्वाचन २०७९ ले आजको नेपाली कांग्रेस र एमालेलाई प्रमुख शक्ति र माओवादी पार्टीलाई सहायक शक्तिमा स्थापित गरिदियो। दुवै ठूला पार्टी आफ्नो नेतृत्व र माओवादीको सहयोगमा सरकार बनाउन चाहन्छन्। तर माओवादीले सरकारको नेतृत्व दाबी गर्दा उनीहरू सहयोगी भूमिकामा सीमित भएका छन्। यसले उनीहरूमा लघुताभासको अनुभूति भएको छ। उनीहरूको दबिएको अहंले प्रचण्डमाथि आक्रमण गरेको छ।

प्रचण्ड व्यक्तिगत कार्यशैलीका कारण पनि आक्रमणको निशानामा परेका छन्। हुन त प्रचण्ड यसलाई गतिशीलता भनी सौन्दर्यकरण गरिरहेका छन्। उनी एकातिर विलासी जीवनशैली बाँच्छन् भने सँगसँगै आफूलाई सर्वहारा वर्गको नेता हुँ भनिरहन्छन्। अपेक्षा र आवश्यकता राजनेताको छ तर प्रचण्डले साना विषयले पनि तरङ्गित हुने, शीघ्र र विवादित प्रतिक्रिया दिने अस्थिर कार्यशैली अपनाइ रहेका छन्।

प्रचण्डसँग असहमत हुने धेरै विषय छन्। तर उनी सशस्त्र युद्धबाट उदाएका  विद्रोही नेता हुन्। उनी अहिले तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । उनले प्रधानमन्त्री  सार्वभौम संसदको निर्वाचनबाट पाएका हुन्।

माओवादी पार्टी सानो हुँदै गएको हुँदा प्रतिशोधी तत्व उनको विरुद्ध हात धोएर लागेको छ। यस पार्टीको क्रान्तिकारी रापताप सेलाउँदै गएको छ । नैतिक बल र बलिदानी भाव स्खलित हुँदै गएको छ । तर पनि यो निषेध र दमन गर्न सकिने शक्ति होइन। प्रचण्डमाथिको निरन्तरको आक्रमण ‘जनयुद्ध’, २०६२/६३ को जनआन्दोलन  गणतन्त्र, समावेशी लोकतन्त्रमाथिको आक्रमण हो।

लेखक : अधिकारी अनेरास्ववियू क्रान्तिकारीका बिद्यार्थी नेता हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083