जल्यो इतिहास : पेरिसको ८५० वर्ष पुरानो चर्चमा भिषण आगलागी
वि.सं.२०७६ वैशाख ३ मंगलवार १०:१०
shares

एजेन्सी । विश्व भरी चर्चित रहेको नोट्र डाम क्याथेड्रलमा लागेको आगो भवन भरी फैलिएको छ। आगलागिका कारण चर्चको छानानै खसेको छ। तर मुख्य संरचना र दुईवटा घण्टी सहितको टावर भने बचाइएको समाचारमा उल्लेख छ। अग्निनियन्त्रकहरु आगो निभाउने प्रयासमा लगातार जुटि रहेका छन्।
आगलागीको कारण खुलेको छैन, तर चर्चमा जीर्णोद्धारको काम भइरहेको थियो र यहि क्रममा आगालगी भएको हुन सक्ने अनुमान छ।गएको साल मात्रै चर्चको पुनर्निर्माणका लागि आर्थिक सहयोगको लागि अपिल गरिएको थियो। निकै पुरानो भएका कारण चर्चको संरचनाहरुको अवस्था जर्जर बनिसकेको थियो। राष्ट्रपति इम्यानुअल म्याक्रोनले घटनालाई ‘गम्भिर-दुर्घटना’ भनेका छन्। उनले आफु क्याथोलिक समुदाय र पुरा फ्रान्सका नागरिकको साथमा रहेको बताए।
आगलागी भएको क्षेत्रको अवलोकन पछि राष्ट्रपति म्याक्रोनले नोट्र डाम क्याथेड्रलको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भनेका छन्, ‘मेरो पुरा देशवासीहरु जस्तै म पनि आज निकै दुखी छु, यो घटना देखेर मलाई निकै दुःख लागिरहेको छ कि हाम्रो एक अभिन्न अंग जलिरहेको छ’। उनले भने, ‘नोट्र–डाम हाम्रो इतिहास हो, हाम्रो साहित्य हो, र हाम्रो मनोभावनाको भाग हो, हाम्रो सबै प्रमुख कार्यक्रममा जम्मा हुने थलो पनि हो।
महामारी, युद्ध, स्वतन्त्रतासहित हाम्रो जीवनको केन्द्र विन्दु हो।’ समाचार संस्था रोयटर्सका अनुसार राष्ट्रपति म्याक्रोनले सबै मिलेर आफूहरुको इतिहार र जीवनको केन्द्रविन्दु नोट्र डाम पुनः बनाएरै छाड्ने बताएका छन्। आगो निभाउन कारीब ४०० अग्नी नियन्त्रक खटिएका छन्।













