राष्ट्रपति समक्ष प्रधानमन्त्री ओलीद्धारा नेपाल सरकारको प्रतिवेदन प्रस्तुत
वि.सं.२०७६ वैशाख ३ मंगलवार १०:४०
shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो। राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो।
नेपालको संविधानको धारा ५३ मा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन सरकारले राष्ट्रपति समक्ष पेश गर्नुपर्ने उल्लेख छ। त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसदमा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानवअधिकारको संरक्षण र सम्बद्र्धन राज्यका निर्देशक सिद्धान्तहरुको अनुशरण तथा राज्यका नीतिको क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्न बनाउने राज्यको दायित्व हुनेछ। संविधानको धारा ५२ मा उल्लेख छ।
निर्देशक सिद्धान्तमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई सर्वोपरी राख्दै नागरिकको जीउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानूनको शासन, मौलिक हक तथा मानवअधिकारको मूल्य र मान्यता लगायतका विषयवस्तुको सुनिश्चितता गर्नु राज्यको उद्देश्य हुनेछ।
राष्ट्रिय एकता र सुरक्षा, राजनीतिक तथा शासन व्यवस्था, सामाजिक र सांस्कृतिक रुपान्तरण, अर्थ, उद्योग र वाणिज्य, कृषि तथा भूमि सुधार, विकास, प्राकृतिक साधन स्रोतको संरक्षण सम्बद्र्धन सम्बन्धी नीति लगायतका विषयवस्तु राज्यका नीतिमा पर्दछन्।


















