उपराष्ट्रपतिको कार्यालय समाज कल्याण परिषदको भवनमा सार्ने तयारी

8.03K
shares

काठमाडौं । सरकारले मंसीर मसान्तभित्र उपराष्ट्रपतिको कार्यालय लंनचौरस्थित समाज कल्याण परिषदको भवनमा सार्ने तयारी गरेको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित समाज कल्याण परिषदको भवनमा सार्ने गरी तयारीको कामलाई तीव्रता दिइएको जानकारी गराएको हो । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकमा मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले उपराष्ट्रपति कार्यालय सार्न परिषदको भवन निर्माण तथा सुधारको काममा सहरी विकास मन्त्रालय लागि रहेकोे जानकारी पनि गराए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले समाज कल्याण परिषदको कार्यालय भने ललितपुरको पुल्चोकस्थित केन्द्रिय बाल कल्याण समितिको नयाँ भवनमा सार्ने निर्णय पनि गरेको छ । परिषदका कर्मचारीहरुको माग अनुसार उनीहरुको कार्यालय पुल्चोकस्थित केन्द्रिय बाल कल्याण समितिको नयाँ भवनमा सार्ने व्यवस्था गरिएको पनि सचिव खड्काले बताए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर उपराष्ट्रपति कार्यालय भवन समाज कल्याण परिषदको भवनमा सार्ने निर्णय लिएको पनि स्पष्ट पारेको छ । सचिव खड्काले समाज कल्याण परिषदको कामलाई व्यवस्थित बनाउन आवश्यक ऐन, कानुन संशोधन गर्न लागिएको पनि बताए । उनले राष्ट्रिय लेखा प्रणालीमार्फत् सबै गैरसरकारी संस्थाहरुलाई पारदर्शी बनाउने योजना पनि अघि सारे ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको सहयोगमा निर्माण गरिएको सो भवनमा उपराष्ट्रपति कार्यालय राख्न लागिएकोमा समाज कल्याण परिषदका कर्मचारीहरुले असन्तुष्टि जनाईरहेका छन । यता, सरकारले भने त्यो भवन अर्थ मन्त्रालयको सम्पत्ति भएकाले राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर उपराष्ट्रपति कार्यालय सार्ने निर्णय गरेको स्पष्ट पारेको छ ।


unigloble collage
baneshwor multiple campus ad -2083