कृषिको व्यावसायिक विकास गर्न सके गाउँमै रोजगारी : मन्त्री पौडेल
वि.सं.२०७५ मंसिर १६ आइतवार ११:५४
shares

राँझा । प्रदेश नं ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गरी समृद्ध प्रदेश बनाइने बताउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज यहाँ आयोजना गरेको प्रदेश नं ५ को आवधिक योजना तर्जुमासम्बन्धी सुझाव सङ्कलन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले प्रदेशको समृद्धिको महत्वपूर्ण आधार कृषि भएको बताउनुभयो ।
उहाँले निजी र सार्वजनिक क्षेत्रलाईसँगै र प्रतिस्पर्धी ढङ्गले अघि बढाउन सक्दा विकास प्रभावकारी हुनसक्ने बताउनुभयो । ‘‘हाम्रो रणनीति भनेको कृषिको व्यावसायिक विकास गरी कृषिमा रहेका बहुसङ्ख्यकलाई आर्थिक रुपमा सवल बनाउने हो’’, उहाँले भन्नुभयो, “कृषिको व्यावसायिक विकास गर्न सक्दामात्रै गाउँमै रोजगारको अवस्था सिर्जना हुनेछ ।
प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषालले छलफलको अवधारणा पत्र प्रस्तुत गर्दै दस्तावेज विषयवस्तु मात्रै महत्वपूर्ण नभएर प्रक्रिया पनि महत्वपूर्ण भएकाले योजना तर्जुमा सम्बन्धमा सुझाव सङ्कलन गर्न गोष्ठी आयोजना गरेको बताउनुभयो । गोष्ठीमा बाँके जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सांसद, स्थानीय तहका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ ।














