राजतन्त्र फर्कने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली
वि.सं.२०७५ पुस २७ शुक्रवार १०:३४
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेका छन्। दुई सय ९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिहीबार यहाँ आयोजित कार्यक्रममा उनले भने, “पृथ्वीनारायणसँगको साइनो भजाएर अब कुनै पनि बहानामा राजतन्त्र फर्किन्छ भनेर नसोचे पनि हुन्छ, पृथ्वीनारायणसँग जोडेर राजतन्त्रको सपना देखेर मुख मिठ्याउनेबीच कुनै साइनो छैन, वास्तवमा राजतन्त्र पुनःस्थापनाको सपना देख्ने प्रतिगामी मात्रै हुन्।
प्रधानमन्त्री ओलीले स्पष्ट नीतिका साथ सरकारले नयाँ बाटो समातेको र प्राप्त उपलब्धिलाई संस्थागत गरी जनतालाई परिवर्तनको अनुभूत गराइने उल्लेख गर्दै “यो पाँच वर्षे स्थायी सरकार हो, सङ्ख्याको बहुमत मात्र हैन, स्पष्ट ‘भिजन’सहित अगाडि बढेका छौँ, आँकडामा खेलेर परिवर्तन आउँदैन बरु उपलब्धिले आँकडालाई परिवर्तन गर्ने हो, मैले बजेट कार्यान्वयन मङ्सिरसम्मको पाँच महीने तथ्याङ्क प्रस्तुत गरेको हुँ”,भने।
सरकार नयाँ बाटोमा
प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण कानून निर्माणमा बढी केन्द्रित हुनु परेको उल्लेख गर्दैे सरकारले अब विकास र समृद्धिको यात्रालाई रफ्तारमा अघि बढाउने बताए।
उनले भने, “गत असोज २ गतेसम्म मौलिक हक कार्यान्वयनसम्बन्धी कानून निर्माणमा बढी अल्मलिनुपर्यो, त्यसयता अरु कानून निर्माणसँगै नयाँ अभियान पनि चलाइरहेका छौँ ।
जसका सकारात्मक असर देखिँदैछन् अब, नेपालमा कोही भोकै बस्नु पर्दैन, भोकले मर्नुपर्दैन, तराईमा शीतलहरबाट जोगाउन न्यानोका लागि आवश्यक सामग्री पठाएका छौँ, अर्को वर्षसम्म निराक्षरता उन्मूलन गर्ने अभियानका साथ लागेका छौँ, त्यसैले अब सरकारले नयाँ बाटो समातेको छ।
राष्ट्रिय एकता आवश्यकताअनुरुप
प्रधानमन्त्री ओलीले पृथ्वीनारायणलाई राष्ट्र निर्माणको अगुवाइ गर्ने नायकका रुपमा आफूले बुझेको चर्चा गर्दै राष्ट्रिय एकतालाई अहिलेको आवश्यकताअनुरुप सबल र बाबजुद बनाइनुपर्नेमा जोड दिए।
पृथ्वीनारायणले नेपाल राष्ट्रको एकीकरणको अगुवाइ नगरेको भए नेपाल अहिलेको अवस्थामा नआउने उनको भनाइ थियो।
स्वाधीन राष्ट्र नेपाललाई विगतमा भड्काउन र विभाजन गर्न विभिन्न चलखेल भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियहित, न्यायोचित र अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा छिमेकीसँगको सम्बन्धलाई सौहार्दपूर्ण बनाइने बताए।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्व साम्राज्यवादले घेरेको विषम परिस्थितिमा नेपाललाई एकीकरण गर्न पृथ्वीनारायणले गरेको योगदानलाई आजको पुस्ताले भुल्न नहुने विचार व्यक्त गरे। प्रतिष्ठानकै उपकुलपति डा जगमान गुरुङले पृथ्वीनारायणको राष्ट्र निर्माणको योगदानलाई आत्मसात् गर्दै अग्रगमनतर्फ लागेर प्राज्ञिक उन्नतिमा लाग्नुपर्नेमा जोड दिए। रासस




























