संसदीय सुनुवाई समितिद्वारा दुई जना राजदूतको नाम अनुमोदन

5.58K
shares

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले दुई जना राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। संसदीय सुनुवाई विशेष समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा फ्रान्सका लागि प्रस्तावित राजदूत दिपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।

परराष्ट्र मन्त्रालयका सहसचिवद्वय अधिकारी र ढकालको नाम क्रमशः फ्रान्स र थाइल्याण्डको राजदूतमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। समितिको गत पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद बैठकले अधिकारी र ढकालसहित विभिन्न देशका लागि ५ जना राजदूतको नाम सिफारिस गरेको थियो। बैठकमा फ्रान्सका लागि प्रस्तावित राजदूत अधिकारीले दुई मुलुकबीचको कुटनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउन आफू लागिपर्ने प्रतिवद्धता जनाएका थिए।

उनले मुलुकको समृद्धिका लागि आर्थिक कूटनीतिलाई पनि आफूले प्राथमिकता दिने जनाए। थाइल्याण्डका लागि प्रस्तावित राजदूत ढकालले मुलुकमा लगानी भित्रयाउने विषयलाई आफूले उच्च प्राथमिकता दिने बताए। उनले थाइल्याण्ड नेपालको विकास साझेदार मुलुक भएकाले थप लगानीको सम्भावनाको खोजी गर्ने योजना पनि समितिलाई जानकारी गराए।

बैठकमा बाँकी रहेका कुवेतका लागि प्रस्तावित राजदूत दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि प्रस्तावित राजदूत भृगु ढुंगाना र संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा नियुक्तीका लागि प्रस्तावित मणिप्रसाद भट्टराईसँग सुनुवाई गर्ने निर्णय पनि गरिएको समितिका सभापति कर्णले बताए। समितिको अर्का बैठक आगामी माघ ८ गते मंगलबार बिहान ११ बजे बोलाइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083