ठकुरीलाई श्रद्धाञ्जलि दिदै भावुक भएर देउवाले भने ‘उनको निधनले कांग्रेसलाई ठूलो घाटा पुग्यो’
वि.सं.२०७५ वैशाख १२ बुधवार १७:००
shares

ठकुरीलाई श्रद्धाञ्जलि दिदै देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाही भएको बताएका छन् । चक्रबहादुर ठकुरी फाउण्डेशनले स्वर्गीय चक्रबहादुर ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा आज कार्यक्रममा उनले ठकुरीको निधनले कांग्रेसलाई ठूलो घाटा पुगेको बताए । ‘पार्टी संगठन निर्माणमा स्वर्गीय ठकुरीको महत्वपूर्ण योगदान रहेको छ,’ उनले भने ।
स्वर्गीय ठकुरीले देखेको सपना पूरा गरेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने सभापति देउवाको भनाइ थियो । उनले मुलुकको विकास र समाजसेवाको क्षेत्रमा स्वर्गीय ठकुरीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पमा रसुवा जिल्लाको केरुङ नाकानजिक ढिस्कोले पुरिएर उनको निधन भएको थियो । ठकुरी विसं २०६४ मा काठमाडौं क्षेत्र नं ३ बाट कांग्रेसको तर्फबाट निर्वाचित सांसद थिए भने विसं २०७० को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए ।



















