योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली स्वीकृत
वि.सं.२०७५ कात्तिक २८ बुधवार १५:३४
5.98K
shares
shares

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को यही कात्तिक २५ गतेको बैठकले श्रमिकको सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाउन गत वर्ष नै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन जारी गरेको थियो ।
सोही ऐनको दफा ६९ बमोजिम बैठकले उक्त नियमावली स्वीकृत गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । उक्त नियमावलीमा सरकारी कोषबाट पारिश्रमिक लिने व्यक्ति, अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारीमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा सूचीकरण हुने तथा तोकिएमा खास अवस्थामा रोजगारीदाता सूचीकरणबाट हटेको अवस्थामा पनि योगदानकर्तालाई भुक्तानी गर्नुपर्ने दायित्वबाट उम्कन नपाउने व्यवस्था गरिएको छ ।












