कांग्रेस छाडेर माओवादी बनेका बाबुराजा फेरि कांग्रेसमै

5.42K
shares

बिराटनगर । नेपाली कांग्रेसले २०७० सालको स‌ंविधानसभा निर्वाचनमा टिकट नदिएपछि तत्कालीन माओवादीमा पुगेका नेता बाबुराजा ओझा फेरि कांग्रेसमै फर्किएका छन् । २२ वर्ष नेपाली कांग्रेसमा राजनीति गरेका उनी सं‌विधान सभाको टिकट नपाएपछि तत्कालीन एकीकृत नेकपा (माओवादी) मा प्रवेश गरेर मोरङ क्षेत्र नम्बर ६ मा स‌ंविधानसभा सदस्यको उम्मेदवार बनेका थिए ।

पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यसँग उनी पराजित भएका थिए । कांग्रेसले आफ्नो साख जोगाउनै नसक्ने भन्दै माओवादीमा पुगेका ओझालाई जीपी कोइराला फाउन्डेसनले आइतवार विराटनगरमा गरेको कार्यक्रममा कोइराला परिवारका तीन नेताले पार्टीमा भित्र्याए ।

ओझालाई तीन कोइराला नेताहरु शेखर, शशांक र सुजाताले एक साथ पार्टीमा स्वागत गरेका हुन् । ओझाले २०७० सालको चुनावमा क्षेत्रबाटै सर्वसम्मत आफ्नो नाम सिफारिस गरेको अवस्थामा कांग्रेसले गुटबन्दी गरेर आफूलाई टिकट नदिएको भन्दै माओवादीमा पुगेका थिए ।

कांग्रेस फर्किएका ओझा नेपाली कांग्रेस मोरङका पूर्व जिल्ला सचिव हुन्। दोस्रो संविधान सभा निर्वाचनमा जिल्ला सचिवको जिम्मेवारीमा रहेकोलाई बाइपास गरेर अर्कैलाई टिकट दिएको भन्दै ओझा माओवादीमा हिँडेका थिए ।


unigloble collage
baneshwor multiple campus ad -2083