ओली सरकारले लोकतन्त्रका खम्बाहरूमाथि आक्रमण गर्योः डा.संग्रौला
वि.सं.२०७५ मंसिर २ आइतवार १६:३९
shares

जनकपुरधाम । नेपाली कांगेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले सरकारले लोकतन्त्रका खम्बाहरूमाथि आक्रमण गरिरहको आरोप लगाएकी छन् । नेपाली कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा सम्बन्धमा राय–सुझाव संकलनका लागि आयोजित प्रदेश नं २ स्तरीय कार्यशाला गोष्ठीमा उनले सो आरोप लगाएकी हुन् ।
हिंसा, बलात्कार, हत्या, महँगी, भ्रष्टाचार, मौलिक अधिकार, कर वृद्धि, प्रेस स्वतन्त्रता तथा न्यायपालिकामाथिका आक्रमणप्रति सरकारको उदासीनताले लोकतन्त्रमाथि खतराको कालो बादल मडारिरहेकाले नेपाली काङ्गे्रस मौन बस्न नहुने धारणा पनि उनले राखिन् ।
उनले कांग्रेसले अर्जुनदृष्टिका साथ सरकारी पक्षको द्वैध चरित्रविरुद्ध ऐक्यबद्ध हुनुपर्ने खाँचो औँल्याउँदै मधेश केन्द्रित दल कम्युनिस्ट सरकारको भ्रमजालमा परी मधेशी जनताको मुद्दालाई ओझेलमा पारेको बताइन् । सरकारले प्रदेश सरकारलाई औचित्यहीन बनाउँदै संघीयतालाई नै धरापमा पारेको भन्दै उनले कांग्रेसले लोकतन्त्र तथा सङ्घीयताको रक्षा गर्न अग्रसर हुन जरूरी भएको धारणा राखिन् । रासस





























