काठमाडौँ महानगरपालिकासंग गुनासो छ ? ११८० मा फोन गर्नुहोस्
वि.सं.२०७५ मंसिर १० सोमवार १४:३२
shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाले जनगुनासो सुन्नका लागि हटलाइन नम्बर तय गरेको तीन महीना बितिसक्दा पनि गुनासो अत्यन्तै थोरै सङ्ख्यामा आएको छ । नेपालकै जेठो महानगरमा जनताको उजुरी सिधै सुन्नका लागि महानगरले ‘हेल्लो महानगर’ भनेर ‘हटलाइन नं। ११८०’ को व्यवस्था गरेको तीन महीना बितिसकेको छ । तर तीन महीना भइसक्दासमेत कामपामा गुनासो गर्ने कोही नभएजस्तो देखिएको छ ।
यसको अर्थ कामपामा गुनासो नभएर भने होइन । गत भदौ १ गतेदेखि कामपाले जनताको चाहनाअनुरूप काम गर्नकै लागि हटलाइन नम्बर प्रयोगमा ल्याएको थियो । महानगरवासीलाई समस्या हटलाइनमार्फत राख्ने र समस्याको उचित समाधान खोज्नकै लागि उक्त व्यवस्था गरिएको हो । तर गुनासो अत्यन्तै कम आएको कामपाका जनसम्पर्क एकाइका प्रमुख कृष्णप्रसाद चापागाईंले बताए ।
किन गुनासो कमी
कामपामा रहेको समस्यालाई हेर्ने हो भने एकै दिनमा दश बढी जनगुनासा आउनुपर्ने हो । यहाँको धुवाँ, धूलो, अव्यवस्थित सडक, खानेपानीको समस्या र फोहरको दुर्गन्ध, भूकम्पपछिको पुनःनिर्माण जस्ता समस्या धेरै नै रहे पनि गुनासोकै रूपमा भने आएका छैनन् ।
थप प्रचारप्रसारकै लागि अबको केही दिनमा कामपाले फेसबुक र इमेलमार्फत पनि जनगुनासो सङ्कलन गर्ने तयारी गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले जनताको समस्या सिधै सुन्ने भनेर नै हटलाइन राखिए पनि महानगरको हटलाइन प्रमुख सचिवालयसँगै छैन । हटलाइनलाई कामपाको वातावरण विभाग टेकुमा राखिएको छ ।
कामपाको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख धु्रव काफ्लेका अनुसार महानगरभित्र निर्माण गर्ने भनिएको ४० शौचालय निर्माणका लागि अन्तिम छलफल भइरहेको छ । एक हप्ताअघि नै निर्माणका लागि प्रमुखको कार्यकक्षमा छलफल जारी रहेको छ । यही मङ्सिरको अन्तिम सातासम्ममा थप काम अघि बढ्ने काफ्लेले बताए । त्यसैगरी दीर्घकालीनरुपमा फोहर व्यवस्थापन गर्ने स्थान निर्माणको काम पनि अघि बढेको कामपाले जानकारी दिएको छ ।













