केही मानिसले विरोध गरेका छन्, उनीहरुलाई हामी कामबाट जवाफ दिन्छौं– प्रधानमन्त्री

वि.सं.२०७५ मंसिर २३ आइतवार १२:५८
shares

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इञ्जिनीयरसहित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन्। नेपाल प्रगतिशील इञ्जिनीयर एशोसिएशनका पदाधिकारीसँग शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले इञ्जिनीयर पेशालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनुपर्नेमा जोड दिए ।
सरकार इञ्जिनीयरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्रीले भने ‘तपाईंहरुको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ । राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाई थियो । ‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो शर्त हो’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा सरकार प्रतिबद्ध छ ।
सरकारको यस अभियानमा इञ्जिनीयरको साथ सहयोग जरुरी छ । वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । ‘सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको छ”, प्रधानमन्त्रीले भने, “केही मानिसले विरोध गरेका छन् । त्यसलाई हामी कामबाट जवाफ दिन्छौँ ।
प्रधानमन्त्रीलाई भेट्न एशोसिएशनका अध्यक्ष शम्भुबहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री ओलीले इञ्जिनीयरका जायज माग पूरा गर्न आफू सकारात्मक भएको बताएको उनको सचिवालयले जनाएको छ । रासस