‘अब देशभक्तिको भावना विकास गर्न जरुरी छ’ : रक्षामन्त्री पोखरेल
वि.सं.२०७५ फागुन ५ आइतवार १४:०८
shares

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले देशभक्तिको भावनाका साथ अघि बढन सबैलाई आह्वान गरेका छन्। उपप्रधानमन्त्री पोखरेलले मुलुकको स्वाभिमान र सामाजिक सदभाव कायम हुने गरी देशभक्तिको भावना विकास गर्न जरुरी रहेको पनि स्पष्ट पारे।
आईतबार ललितपुरको लगनखेलस्थित राजदल गणमा आयोजित राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासमा कहिल्यै पराधिन हुनु नपरेको मुलुकको गौरवगाथालाई उचाईमा पुर्याउने काममा अझै क्रियाशील भएर लागि पर्न राष्ट्रिय सेवा दललाई पनि सचेत गराए।
त्यस अवसरमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय सेवा देलले मुलुकको देशभक्तिपूर्ण भावनाको जगेर्ना गर्न उल्लेखनीय योगदान दिँदै आएको स्मरण गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।
उपप्रधानमन्त्री पोखरेलले मुलुक बहुजातीय, बहुधार्मिक र बहुसंस्कृतिले युक्त रहेको स्मरण गराउँदै सबै जातिका समूदायलाई समान सम्मान गरेर अघि बढन सरकार तयार रहेको पनि बताए। दिक्षान्त कवाज कार्यक्रममा दलको प्रशिक्षणसम्बन्धि अभ्यास खेलहरु पनि प्रस्तुत गरिएको थियो।





























