नख्खु बिस्फोटका अभियुक्त र विप्लवबीच सम्बन्ध : दोहोरी साँझ देखि बडिगार्डसम्म!

5.99K
shares

काडमाडौँ। नख्खुस्थित एनसेल मुख्यालय अगाडि गराइएको बम बिस्फोटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका सूर्य भुजेललाई कर्तव्य ज्यान मुद्दा चलाइएको छ।

ज्यान जाने गरी भएको उक्त विस्फोटका योजनाकार भएकाले उनलाई कर्तव्य ज्यान मुद्दा आकर्षित गरी अनुसन्धान सुरू गरिएको ललितपुर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्रबहादुर धानुकले बताए।

कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद (२५ वर्ष) सजाय हुने व्यवस्था छ। यस्तै, उनीमाथि बम बिस्फोट र हात-हतियार खरखजना मुद्दा आकर्षित हुने देखिएको प्रहरीले जनाएको छ। फौजदारी संहिताको बम बिस्फोट, हातहतियार तथा खर-खजना मुद्दामा पाँचदेखि दस वर्ष सजाय हुने व्यवस्था छ।

‘ज्यान जाने, अंगभंग हुने र भौतिक क्षति समेतको घटना भएकाले कर्तव्य ज्यान, ज्यान मुद्दा, बम बिस्फोट र हात-हतियार खरखजना सबै मुद्दा आकर्षित हुन्छन्,’ ललितपुर प्रहरी परिसर प्रमुख धानुकले भने, ‘सुरूमा कर्तव्य ज्यान मुद्दामा म्याद थप भएको छ। बाँकी मुद्दा के–के लिएर जानेबारे सरकारी वकिलसँग परामर्श भइरहेको छ।’

भूजेललाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार कलंकीबाट पक्राउ गरी कारबाहीको लागि ललितपुर परिसर बुझाएको थियो। शुक्रबार एनसेल मुख्यालयमा बम बिस्फोट हुँदा लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मृत्यु भएको थियो। बिस्फोटमा ललितपुर–४ की २६ वर्षीया प्रतिक्षा खड्का र बनेपाकी २५ वर्षीया उरूसा मानन्धर घाइते भएका थिए।

प्रहरीका अनुसार नख्खु बिस्फोटमा झन्डै बीस जनाको संलग्नता शंका गरिएको छ। तीमध्ये आठ जनाको पहिचान भइसकेको छ। सीसी क्यामराबाट आठ जना पहिचान भइसकेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

अनुसन्धान अधिकृतका अनुसार सीसी क्यामराबाट पहिचान भएकामध्ये भूजेल एक हुन्। उनलाई प्रहरीले बम बिस्फोट योजनाकार मध्ये एक भनेको छ।

‘बिस्फोट हुनुअघि मोटरसाइकलमा आउने–जाने, बम राख्ने, झिक्ने, अल्झाउने गतिविधिमा आठ जना व्यक्ति देखिन्छन्,’ महाशाखा स्रोतले भन्यो, ‘त्यसमा भूजेल पनि थिए।’ एनसेल मुख्य गेटमा बम अल्झाएर उनीहरू भागेका थिए। त्यही बम गार्डले फाल्दा सडकमा बिस्फोट भएको थियो।

प्रचण्ड माओवादी हुँदै विप्लवको बडिगार्ड

मंगलबार पक्राउ परेका भूजेल नेत्रविक्रम चन्द विप्लवका प्रमुख सुरक्षागार्ड भएको प्रहरीले जनाएको छ। नुवाकोट, साविक तारूका गाविस–२ का ३८ वर्षीय भूजेल विप्लवको पार्टीमा काठमाडौं जिल्ला सदस्य छन्।

उनको राजनीतिक पृष्ठभूमि माओवादी नै हो। युद्वरत् तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीमा उनी २०६० सालमा प्रवेश गरेका थिए। उनलाई नुवाकोट जिल्ला युवा परिचालनको जिम्मेवारी दिइएको थियो।

भूजेल शान्ति प्रक्रियापछि माओवादीले गठन गरेको अर्धसैन्य दस्ता वाइसिएलको जिल्ला कमिटी इञ्चार्ज थिए। २०६४/२०६५ ताका वाइसिएलको गतिविधि ठेक्कापट्टा, टेन्डर कब्जा गर्ने र अबैध असुली गरी पार्टीलाई सघाउने थियो। प्रहरीका अनुसार वाइसिएल गतिविधि नियन्त्रण हुँदै गएपछि भूजेल होटल व्यवसायमा संलग्न भएको देखिन्छन्। २०६६ देखि नै काठमाडौंको ठमेलमा पोखरा दोहरी साँझ सञ्चालन गरेका भुजेल विप्लवले नयाँ पार्टी गठन गरेपछि उनकै सहयोगी भएर काम गरेका थिए।

पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी बाट छुट्टिएर विप्लवले नयाँ पार्टी गठन गरेपछि भूजेल विप्लवको सम्पर्कमा आएको प्रहरीले जनाएको छ। ‘पुरानो माओवादी मै रहँदा हतियार चलाउन र बिस्फोट गराउन जानेका भूजेललाई विप्लवले बडिगार्डको रुपमा राखेका थिए,’ अपराध महाशाखा स्रोतले भन्यो।

पछिल्लो समय विप्लव नेतृत्वको माओवादीले देशव्यापी रुपमा हिंसात्मक घटना गराइरहेको छ। त्यो सिलसिलामा भूजेललाई नख्खु बिस्फोटमा खटाइएको थियो।

नख्खुमा बिस्फोट भएको केही समयमै कमलपोखरी लोत्सेचोकको आँगन मिठाइ पसलमा बम भेटिएको थियो। त्यो बम भूजेलले नै राखेको महाशाखा बताउँछन्। ‘सेनाको डिस्फोजल टोली चाँडै पुगेकाले त्यहाँ बिस्फोट हुन पाएन,’ महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने, ‘त्यो बम भूजेलले नै राखेका थिए।’

नख्खु बिस्फोटमा संलग्न अन्य कोही पक्राउ परेका छैनन्। सीसी क्यामरा फुटेजमा देखिएकाहरू चाँडै प्रहरीको नियन्त्रणमा आउने महाशाखाले जनाएको छ। ‘सिनमा देखिएकाहरू पक्राउ नजिक छन्, अरूको खोजी भइरहेको छ,’ महाशाखाले भन्यो।

प्रहरी प्रधान कार्यालयका अनुसार देशभर भएका घटनामा नेत्रविक्रम चन्द माओवादीका ३२ कार्यकर्ता पक्राउ परेका छन्। ‘उनीहरूमाथि अनुसन्धान र सोधपुछ चलिरहेको छ,’ प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले भने।

यस बीच, विप्लव माओवादीका एक कार्यकर्ता धरानबाट आधुनिक हतियारसहित पक्राउ परेका छन्। मोरङ बेलबारी नगरपालिका–१० का देवकुमार लिम्बू लङ मेसिन गन र एम–१६ राइफल सहित पक्राउ परेको प्रहरीले जनाएको छ।

धरानबाट विप्लवको कार्यकर्ता त्यस्तो खुलेको छैन। हामी अहिले अनुसन्धान कै क्रममा छौं। दुबै हतियार सेनाले प्रयोग गर्दै आएको छ। यी राइफल १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा सेनाबाट लुटेको हुनसक्ने आशंका गरिएको छ।