१२ वर्षपछि अर्को भीआईपी सवार हवाई दुर्घटना !
वि.सं.२०७५ फागुन १५ बुधवार १५:५९
shares

काठमाडौं। एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटना ग्रस्त भएको छ। संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सात जनाकै निधन भएको हो।
‘घटनास्थलमा सबै सात जनाको शव भेटिएको छ’, उनले भने, ‘दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।’ क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारी सहित ६ जना यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडा स्थित निर्माणाधीन एयरपोर्ट अवलोकन पछि ताप्लेजुङतर्फ लागेको थियो।
हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसास शेरचन र अर्का एकजना सवार थिए।
मन्त्री अधिकारी सहितको टोली तेह्रथुमको चुहानडाँडा स्थित विमानस्थल अवलोकन सके पछि ताप्लेजुङ पुगेका थिए।
१२ वर्षपछि यस्तो भयानक भीआईपी सवार हवाई दुर्घटना भएको जनाइएको छ। यस अघि ताप्लेजुङको घुन्सामा २०६३ साल असोज ७ गते श्री एयरलाईन्सको हेलिकप्टर दुर्घटना भएको थियो । घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा डा. हर्क गुरुङ लगायत २४ जनाको निधन भएको थियो ।
त्यसवेला दुर्घटनामा तत्कालीन वन तथा भुसंरक्षण राज्य मन्त्री गोपाल राई, राईकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदार प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल लगायतको निधन भएको थियो।

















