दुई दिनका लागि पूर्व जाँदै प्रधानमन्त्री, के-के छन् कार्यक्रम?

4.88K
shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनका लागि काठमाडौंबाहिर जाने भएका छन्। आज आइतबार र भोलि सोमबार दुई दिन उनी मोरङ र झापामा विभिन्न कार्यक्रममा सहभागी हुने भएका हुन्। अहिले बिहान साढे १० बजे काठमाडौंबाट प्रधानमन्त्री ओली पूर्व प्रस्थान गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले आइतबार मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन तथा त्यहाँ निर्मित स्तम्भको अनावरण गर्ने कार्यक्रम छ। साथै उनले मदन भण्डारी स्मृति प्रतिष्ठानअन्तर्गत इन्जिनियरिङ कलेजको समेत उद्घाटन गर्ने कार्यक्रम छ।

मदन भण्डारी स्मृति प्रतिष्ठानको कार्यक्रम सकेर प्रधानमन्त्री ओली आइतबार गृहजिल्ला झापा जानेछन्। दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्र दमक नगरपालिका परिसरमा आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिकरप्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि उनले नगरपालिका भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीले जानकारी दिए।

प्रधानमन्त्री ओलीले आइतबार मोरङमा मदन भण्डारी रंगशाला सम्बन्धी सरोकारवालाहरुसँग पनि छलफल र भेटघाट गर्दैछन्। त्यसपछि झापाको गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग अन्तरिक्रया गर्ने कार्यक्रम छ। सोमबार पनि प्रधानमन्त्री ओली बिहानैदेखि उद्घाटन तथा छलफल कार्यक्रममा व्यस्त हुनेछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, दमकस्थित रेडक्रस हलमा आयोजना गर्न लागिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने प्रेसम संयोजक अधिकारीले बताए। प्रधानमन्त्री ओलीले दमकमै निर्माण गरिएको पशुहाटको उद्घाटन गर्ने कार्यक्रम पनि छ।

यस्तै उनले भारतीय राजदूतावासको सहयोगमा निर्मित गौरादह नगरपालिकास्थित स्कुलचौन माविको भवन पनि उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री ओली चन्द्रगढीबाट काठमाडौं फर्कने प्रेस संयोजक अधिकारीले जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083