रेसुङ्गामा देउवा र कोइराला, पौडेल भने प्रशिक्षणमै ब्यस्त
वि.सं.२०७५ चैत १७ आइतवार १२:५५
shares

बुटवल। प्रशन्न मुद्रामा आईतवार विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोईराला गुल्मीको प्रशिद्ध धार्मिक तथा ऐतिहासिक तपोभुमी तथा पर्यटकीय क्षेत्र रेसुङ्गा लेकमा घुमफिरका लागि सँगै भेटिए। यता वरिष्ठ नेता रामचन्द्र पौड्याल भने सदरमुकाम तम्घासको ईन्द्रेणी पार्टी प्यालेस सभाहलमा कार्यकर्तालाई प्रशिक्षण दिन र पार्टी संगठनको सेटिङ्ग मिलाउनमा ब्यस्त देखिन्थे।
शनिवार नेपाली कांग्रेस गुल्मीको प्रथम ऐतिहासिक सम्मेलनलाई सम्वोधन गर्न आएका पार्टी सभापति देउवा र महामन्त्री कोईराला रेसुङ्गा धार्मिक क्षेत्रको दर्शन र त्यहाँको पर्यटन विकासको अवस्थाबारे अवलोकन गर्न गएका र वरिष्ठ नेता पौड्याल लगायत आफुहरु सदरमुकामको सभाहलमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा रहेको केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारीले बताए।
नेता भण्डारीले भने उहाँहरु माथी रेसुङ्गाबाट फर्किन साथ हामी बुटवल तर्फ हिड्ने कार्यक्रम रहेको छ। सम्मेलनको दुई दिने कार्यक्रममा सह-महामन्त्री प्रकाश शरण महत केन्द्रिय सदस्य धनराम गुरुङ्ग पुष्पा भुसाल चन्द्र भण्डारी सहित झण्डै दुई दर्जन केन्द्रिय नेताहरु गुल्मी आएका छन्।
गुल्मीको दुई दिने बसाइमा यस अघि अन्य जिल्ला र केन्द्रिय कार्यक्रमहरुमा भन्दा सहज देखिएका छन् सभापति देउवा सहित कांग्रेसका शिर्ष नेताहरु। मञ्चमा संगै रहेका उनिहरु बिचको कानेखुशी र प्रशन्न मुद्राले कार्यकर्ताहरुलाई शिर्ष नेताहरुमा फुट छैन भन्ने अनुभुत दिलाउने प्रयास भई रहेको एक कार्यकर्ताले बताए।
नाम नबताउने सर्तमा ती कार्यकर्ता भन्छन नेताहरु आफुहरु भित्रको मनको तुष भित्रै गुम्साएरै भएपनि सामिप्यता प्रदर्शन गरिरहेका छन जुन मञ्चन नभई मनै देखि भई दिए हामी कार्यकर्तामा उत्साह छाउने थियो। हिजोको कार्यक्रमले आफुहरुमा उर्जा थपिएको कार्यकर्ताहरुको भनाई छ। गुल्मी कांग्रेसले सम्मेलन आयोजना गर्नुको मुख्य उद्देश्य पनि तीन नेता तीन तिर फर्किने गरेको विगतको अन्त्यका लागि रहेको बताएकोे छ।






























