काँग्रेस भित्रको विवाद सहतमा, जिल्ला सभापतिको भेला आज काठमाडौंमा हुँदै
वि.सं.२०७५ चैत २० बुधवार ११:४७
shares

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसभित्रको विवाद पुन सहतमा देखिएको छ। विधानका विषयलाई लिएर पार्टीका जिल्ला सभापतिको भेला आज बुधबार काठमाडौंमा हुँदै छन्। केन्द्रीय समिति बैठकले महासमिति बैठकको एजेण्डाविपरीत विधान पारित गरेपछि परिमार्जनका लागि दबाबस्वरुप पुनः जिल्ला सभापतिको भेला हुन लागेको हो।
गत मंसिर ११ र १२ गते नुवाकोटको ककनीमा सम्पन्न कांग्रेस जिल्ला सभापतिहरुको भेलाले पार्टी विभिन्न २४ बुँदे सुझाव प्रतिवेदन बुझाएको थियो। उक्त भेलाले गरेको निर्णय र दिएका सुझाव मध्येको प्रमुख मुद्दाको रुपमा रहेको विधान सम्बन्धी दुई बुँदाबारे महासमिति हुँदै केन्द्रीय समितिमा आएर पनि टुङ्गो नलागेपछि जिल्ला सभापतिहरु पुन एकजुट भएका हुन्।
‘यो जिल्ला सभापतिको भेला भन्दा पनि आन्तिरक बैठक हो, कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीश नरसिंह केसीले भने, ‘जिल्ला सभापतिहरुको ककनी भेलादेखि साझा धारणा हामीले २४ बुँदे सुझाव प्रतिवेदन पार्टीलाई बुझाएका थियौं।
विषेश गरी नेताहरु पदेन महासमिति सदस्य हुने व्यवस्थाको अन्त्य र समानुपातिकको अवसर एकपटकामात्र दिने भन्ने विषयमा महासमिति बैठकले गरेको निर्णय विपरित केन्द्रीय समितिले विधान पारित गरेको हुनाले यसलाई सच्याउनुपर्छ भन्ने जिल्ला सभापतिहरुको मान्यता हो।
महासमिति बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने सभापति शेरबहादुर देउवाले प्रतिबद्धता जनाइसकेको अवस्थामा त्यसबाट फिर्ता हुन नहुने उनको भनाइ छ। यसअघि ५६ जिल्लाका सभापतिहरुले विज्ञप्ति जारी गर्दै महासमिति बैठकको निर्णय विपरित केन्द्रीय कार्यसमितिले गरेको निर्णय नसच्याए आफूहरु विशेष महाधिवेशन बोलाउन पहल गर्न बाध्य हुने चेतावनी दिएका थिए। कांग्रेस विधानमा २५ प्रतिशत जिल्ला सभापतिले हस्ताक्षर गरेर महाधिवेशन बनाउन माग गरे नेतृत्वले विशेष महाविधेशन बोलाउनुपर्ने व्यवस्था छ।
गत मंसिरमा ककनीमा सम्पन्न जिल्ला सभापतिहरुको भेलाले संशोधित विधानमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने त्यसको लागि वडास्तरबाटै चुनाव जितेर आउनुपर्ने र आरक्षणको सुविधामा एकपटक मात्र अवसर दिनुपर्ने भन्ने बुदालाई केन्द्रीय समिति बैठकले समेत नमानेपछि जिल्ला सभापतिहरु थप रुष्ट हुँदै आएका छन्।
दुइदिनसम्म चल्ने अबको भेलाले पार्टीको नेतृत्वको गलत प्रविद्धि र विधानमा परिमार्जन गरिछाड्ने अठोट लिएका छन। चैत २३ गते पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा आफ्ना माग राख्ने गरी २० र २१ गते भेला राखिएको बताइएको छ।
गत मंसिर–पुसमा सम्पन्न महासमिति बैठकको समापन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले जनाएको मौखिक प्रतिबद्धता विपरित पार्टी केन्द्रीय कार्यसमितिबाट बहुमतले पारित विधानमा पुनर्विचार गर्न जिल्ला सभापतिहरुले दवाव दिएका छन्।




























