युवा विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार : नेता खनाल

5.73K
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ठूलो संख्यामा युवा विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको आरोप लगाए। काठमाडौं महानगरपालिका १५ ले नयाँ वर्षको सन्दर्भमा शनिबार भुइँखेलमा गरेको कार्यक्रममा सत्तारुढ दल नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री खनालले सरकारको नेतृत्वमा रहेका बेला नेपाली कांग्रेसले केही गर्न नसकेका कारण युवा जनशक्ति विदेशिन बाध्य भएको बताए।

२०४६ साल यता पटक पटक सरकारको नेतृत्व गरेको कांग्रेसले अवसर पाउदा मुलुक र मुलुकवासीका लागि उपलब्धिमूलक काम गर्न नसकेको टिप्पणी गरे। ‘नेपाली कांग्रेसका साथीहरूले हामी गर्छौ भनेर अहिले गफ लगाउनु भएको छ। तर ४६ साल पछाडि अवसर प्राप्त भएको हैनरु पटक पटक बहुमत प्राप्त भएको होइन।

तर के गर्नु भो? सारा देशलाई गरिवीमा डुबाउनु भयो। सारा देशमा वेरोजगारीमा डुबाउनु भो’, उनले भने, ‘आज झण्डै ५० लाख भन्दा बढी युवा विदेशमा जान बाध्य भइ रहेका छन्। यो बाध्यता खडा गर्‍यो कसलेरु नेपाली कांग्रेसका साथीहरूलाई म एक पटक आफ्नो अनुहार ऐनामा हेर्न भन्न चाहन्छु।’

पछिल्लो समय पूर्वाधार निर्माण, साधन स्रोतको विकास तथा जलस्रोतको विकासका लागि योजनावद्ध ढंगले अघि बढ्ने काम भएको भन्दै उनले सरकारलाई असफल पार्न गरिएका षडयन्त्र विरुद्ध दृढताका साथ उभिनुपर्नेमा जोड दिए। पछिल्लो समय लोडसेडिङ गराउने तत्व सक्रिय भएको भन्ने खबर आएको भन्दै उनले त्यस किसिमको षडयन्त्र विरुद्ध दृढताका साथ उभिन सरकार र नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरे।

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको शान्ति सुरक्षा कायम गर्दै सभा स्वच्छ, हराभरा बनाउनका लागि विशेष अभियान सुरु गरिएको बताए। उनले सिसि क्यामेरा मार्फत अपराधिक गतिविधि मात्रै नभई नगरलाई फोहर बनाउनेहरूको पनि निगरानी गरिने र उनीहरूलाई फोटोसहित सार्वजनिक अभिनन्दन गर्ने कार्यक्रम महानगरले अघि सारेको बताए। कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गीले ढल निकास, खानेपानी, विद्युत लगायतलाई महानगर मातहत नराखे सम्म महानगरको सम्मुन्नत विकास गर्न नसकिने बताइन्।

कार्यक्रममा नागरिकका लागि निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन सामुदायिक स्वास्थ्य सेवा परिषद्लाई १२ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो। वडा १५ ले ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बार्षिक १२ लाख रुपैयाँ दिने भएको हो। कार्यक्रमको सुरुवात स्वरुप कार्यक्रममा दुई जना वृद्धवृद्धालाई निशुल्क स्वास्थ्य परीक्षणको परिचयपत्र हस्तान्तरण गरिएको थियो।


divya collage
unigloble collage