निषेधित घोषणा क्षेत्र फिर्ता लिन साझा पार्टीको आग्रह

२०७५ वैशाख ७ शुक्रवार
1.3K
shares
काठमाडौं । सरकारले काठमाडौंका ७ ठाउँमा मात्रै विरोध प्रदर्शन गर्न पाइने निर्णय गरे सँगै विवेकशील साझा पार्टीले सरकार प्रति गम्भीर ध्यान आकर्षण जनाएको छ।शान्तिपूर्ण जनप्रदर्शन कार्यक्रमलाई कमजोर पार्ने गरी लग–भग पुरै सहरलाई निषेधित क्षेत्र घोषणा गरिएको भन्दै विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ।
‘नेपालको संविधान २०७२ को धारा १७ ले व्यवस्था गरेको स्वतन्त्रताको हकको बिरुद्ध हुने गरी आएको यो निर्णय लोकतन्त्रको मर्म विपरित भएको छ। यसले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने माध्यमका रूपमा शालीन एवंम भद्र विरोधलाई अपनाउनेहरुलाई चिन्तित समेत तुल्याएको छ।’ विवेकशील साझाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। पछिल्ला समयमा कयौं भद्र आन्दोलनहरुको प्रतिक बनेको माईतीघर मण्डलालाई समेत निषेधित क्षेत्रमा पार्ने गरि आएको निर्णयलाई अविलम्ब फिर्ता लिन विवेकशील साझा पार्टीले सरकारलाई आग्रह गरेको छ।

२०७५ वैशाख ७ शुक्रवार