प्रदेश २ मा अपराध : डेढ बर्षमा ३०६ बलात्कार !

6.1K
shares

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका– ३ मगर टोलकी ११ वर्षीया दुतिया रसाइलीलाई बलात्कारपछि जलाएर मार्ने निरज जर्घा मगर ५ दिनपछि पक्राउ परे।

आफूलाई ‘हाम्ली डन’ भन्ने मगरबिरुद्व प्रहरीले जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाएको छ। अहिले प्रदेश २ मा बलात्कारको अपराध सामान्य समाचार जस्तो हुन पुगेको छ। कुनै तरिकाले सार्बजनिक भएका धेरैजसो बलात्कारको घट्नाका अभियुक्त पक्राउन पनि परेका छन्। कतिपय पक्राउ समेत परेका छैनन्। घट्ना ढाकछोप गर्न सक्ने बलात्कारीहरु समाजमा खुलेआम घुमिरहेका छन्।

सिरहाको धनगढीमाई नगरपालिका– १३ की १४ वर्षीया बालिका बलात्कार गर्ने सोही ठाउँका श्रीराम यादव पक्राउ परेका छन्। त्यसअघि माघको तेस्रो साता सप्तरीको छिन्नमस्ता गाउँपालिका– ३ महुवामा १८ वर्षीया किशोरीलाई बलात्कार गर्ने प्रभु यादव अझै फरार छन्।

माघको दोस्रो साता पर्साको वीरगन्ज महानगरपालिका– ११ मा ३ वर्षीया शिशु बलात्कार गर्ने अनिल चौहान र कात्तिक तेस्रो साता महोत्तरीको मनरासिसवा नगरपालिका ६ की १३ बर्षीया बालिका बलात्कार गर्ने खेभन साहलाई प्रहरीले पक्राउ गरेको छ।

घर पनि असुरक्षित

प्रदेश २ का ८ जिल्लामा गत भदौयता बलात्कार थप तीन घटना सार्वजनिक भए। अधिकांश घट्नामा आफन्त र चिनजानकाले बलात्कार गरेको पाइएको प्रदेश प्रहरीका प्रवक्ता डिएसपी दानबहादुर थापा बताउँछन् ।

प्रदेश २ मा पछिल्लो डेढबर्षमा भएका बलात्कार अपराधको तथ्यांकले महिला तथा बालबालिका घरभित्रै सुरक्षित नरहेको देखाउँछ । तथ्यांक अनुसार डेढबर्षमा ३०६ जना महिला तथा बालबालिका बलात्कारका शिकार भएका छन् । यसमध्ये १० बर्षभन्दा कम उमेरका ३२ जना छन्। त्यस्तै, १०–१६ बर्षका १४५ र १६ बर्षमाथिका १२९ जना छन्।

३०६ मध्ये १४ जना आफन्त र बाँकी सबै चिनजानका पुरुषबाट बलात्कृत भएका छन्। यीमध्ये १८० जना आफ्नै घरमा बलात्कृत हुनुले महिला तथा बालिकाहरु सुरक्षा स्थिति कस्तो भन्ने देखाउँछ। प्रदेश २ मा बलात्कार प्रयासको घट्ना पनि अत्याधिक देखिएको छ। ५ फागुनमा जनकपुरमा १० बर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने भारतीय नागरिक संजय ठाकुर पक्राउ परे।

गत डेढ बर्षमा २२२ महिला र बालिकालाई आफन्त र चिनजानकै पुरुषले बलात्कारको प्रयास गरेको प्रहरीको तथ्यांकले देखाउँछ। यीमध्ये ८२ जनालाई घरभित्रै बलात्कार गर्ने प्रयास भएको थियो छ।

पछिल्लो समय पारिवारिक–सामाजिक अवस्थामा आएको परिवर्तन र सामाजिक सचेनाका कारण बलात्कारको घट्ना बढेको प्रहरीको ठम्याई छ। परिवारमा सामान्यतः चार भन्दा बढी सदस्य हुन्छन्। दिउँसो तीमध्ये कोही काममा, कोही विद्यालय त कोही घरमा हुन्छन्। विहान बेलुका घर जम्मा भएका बेला समेत आ–आफ्नै धुनमा सामाजिक संजालमा भुल्छन्। प्रहरीले यो अवस्थालाई पनि अपराधको कारण मानेको छ।

डीएसपी थापाका अनुसार, विगतमा यस्ता अपराध हुँदा लोकलाजका कारण बढी लुकाइन्थ्यो भने अहिले सचेतनाका कारण बढी सार्वजनिक हुन्छन्। उनी भन्छन्, ‘पीडित र पीडकको पारिवारिक–सामाजिक सम्बन्धलाई हेर्दा पनि त्यही देखिन्छ, जुन ज्यादै डरलाग्दो अवस्था हो।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083