महिला सशक्तीकरणका निम्ति गाउँगाउँमा जागरण अभियान आवश्यक : मन्त्री ‘थममाया’

5.71K
shares

काठमाडौं । महिला, वालवालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले महिला सशक्तिकरणका साथ साथै क्षमता अभिवृद्धिका कार्यक्रमहरू गरी गाउँ-गाउँमा जागरण अभियान संचालन गर्नुपर्नेमा बताएकी छिन्।

जागरण नेपालले आयोजना गरेको ुलैंगिक हिंसा विरुद्धको १६ दिने अभियान, १० औं मानवअधिकार महाभेला–२०१८, महिलाहरू विशेष गरी सिमान्तकृत समुदायको स्थानीय सुशासन, निर्वाचन, निर्णायक तह र राजनीतिमा सहभागिता सवलिकरणु विषयक ‘उपलब्धी, सिकाई र चुनौती’बारे छलफलमा मन्त्री थापाले त्यस्तो बताइन्। लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानलाई सार्थक बनाउन सातै प्रदेशको जनप्रतिनिधिहरूलाई सहभागिता गराउन पहल कदमी गरेको बताउँदै मन्त्री थापाले तीनवटा प्रदेशमा अभियान सम्पन्न गरिसकेको र अन्य चारवटा प्रदेशमा समेत अभियान सफलतापूर्वक सम्पन्न गराउने क्रममा रहेको बताइन्।

कुनै पनि काममा तीनै तहको सरकारमा जनतालाई सहजता प्रदान गराउने बताउँदै मन्त्री थापाले जनाधार नै लोकतन्त्रको बलियो आधार भएको बताइन्। देशमा लामो समयदेखि गरिएको राजनैतिक आन्दोलनबाट प्राप्त उपलब्धि वा परिणामले वर्तमान संविधानमा महिलाको हकहित संरक्षित भएको उनले दावी गरिन्। प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले महिलाका मुद्दालाई महिला सम्बन्धी संघ संस्थाले मात्र नभई राष्ट्रिय मुद्दा बनाई सवै निकाय वा संस्थाहरुले तीनै तहका सरकारले अभियान, तालिम, गोष्ठि लगायतका कार्यक्रमहरू गर्नुपर्ने बताइन्।

देशमा संरचनाको वृद्धिसँगै महिलाको दायित्वको समेत वृद्धि भएकाले महिलाले आफ्नो जिम्मेवारीलाई पुरा गर्नु सबै लाग्नुपर्ने उनको भनाइ थियो। संस्थाका अध्यक्ष सम्झना पोखरेलले संस्थाले परियोजना संचालन भएयता हासिल गरेका उपलब्धिका विषयमा चर्चा गरिन्। महिलाहरूलाई अवसर दिएर मात्र नहुने भन्दै अवसरलाई सदुपयोग गर्ने वातावरण समेत सिर्जना गर्नुपर्नेमा उनको जोड थियो। जागरण नेपालको संस्थापक अध्यक्ष शर्मिला कार्कीले एसियाकै उत्कृष्ट संविधान नेपालको भएको भन्दै समावेशी तथा आरक्षणको पूर्ण व्यवस्था र कार्यान्वयनमा आउनु ठूलो उपलब्धि भएको बताइन्।

महिलाको राजनीतिमा सहभागिता नै महिलाको हक अधिकारको सुनिश्चितता हुने दावी उनको थियो। ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ र काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा स्थानीय सरकार संचालन गर्दा आएका परिवर्तन, चुनौति तथा समस्याको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083