स्याङ्जा जिप दुर्घटनामा २ जनाको मृत्यु, १७ घाइते
वि.सं.२०८३ भदौ ८ सोमवार २१:२७
shares

८ भदौ, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
सोमबार साँझ गल्याङबाट साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप उकालो घुम्तीमा नियन्त्रण गुमाएर दुर्घटनामा परेको हो।
दुर्घटनामा गल्याङ नगरपालिका–८ की करिब २५ वर्षीया निशा पचभैया र गल्याङ नगरपालिका–९ का करिब ६० वर्षीय यमबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले जानकारी दिए।
दुर्घटनामा घाइते भएका १७ जनामध्ये १५ जनाको नगर अस्पताल गल्याङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सामान्य अवस्थाका केही घाइते उपचारपछि घर फर्किएका छन्।
गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि मिसन अस्पताल, पाल्पा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















