तातोपानी नाका खुलाउन अग्नि प्रयास

२०७५ वैशाख ४ मंगलवार
1.9K
shares
अग्नि सापकोटा
चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी १२ वैशाखको विनाशकारी भूकम्पपछि ठप्प छ । भूकम्पले भन्सार कार्यालय, सुक्खा बन्दरगाह र दुवैपट्टिको सडकमा ठूलो क्षति पुर्याएको थियो । अहिले यी सबै संरचनाको पुनर्निर्माण अघि बढेको छ । सो नाका बन्द हुँदा चीनसँगको व्यापारमा असहजता देखिएको छ । साथै तातोपानी नाकाआसपासमा रहेर व्यापार गर्ने सयौँ परिवार विस्थापित भएका छन् । अहिले नेपाल र चीन दुवै पक्षले नाका खुलाउन केही सकारात्मक कदम चालेका छन् । सिन्धुपाल्चोक–१ का प्रतिनिधि सभा सदस्य अग्नि सापकोटाले यो नाका खोल्न सरकार र सदनको बारम्बार ध्यानाकर्षण गराइरहेका छन् । उनी नेपाली प्रतिनिधिमण्डल र चिनियाँ प्रतिनिधिमण्डल लिएर नाकाको निरीक्षणमा पनि गइरहेका छन् । त्यहाँको वर्तमान अवस्था र नाका खुलाउन अहिलेसम्म भएका प्रयासबारे उनले यसरी वर्णन गरेका छन् ।
अग्नि सापकोटा सांसद सिन्धुपाल्चोक– १
जनजीवन प्रभावित
तातोपानी चीनसँग नेपाललाई जोड्ने देशको महत्वपूर्ण नाका हो । अहिलेसम्म यति अनुकूल र सुविधासम्पन्न अर्को बनेको छैन । त्यसकारण यसको ऐतिहासिक, राजनीतिक, आर्थिक र कूटनीतिक दृष्टिकोणले बहुआयामिक महत्व छ । यो नाका सञ्चालनमा रहँदा दैनिक करोडौँ राजस्व प्राप्त हुने गरेको थियो । यसर्थ, अहिले सो नाका बन्द हुँदा राष्ट्रियस्तरमै ठूलो हिस्सा ओगट्ने गरी आर्थिक क्षति भएको छ । सिन्धुपाल्चोक जिल्लामा मात्र भएको क्षतिको कुरा गर्ने हो भने नाका बन्द भई कारोबार नै ठप्प हुँदा बस्ती नै विस्थापित भएका छन् ।
सो नाकाबाट हुने कारोबारसँग सम्बन्धित परिवारको आयस्तर नै खुम्चिएको छ । हजारौँ मानिसहरू बेरोजगार भएका छन् र त्यस क्षेत्रको जनजीवन असाध्यै कष्टकर बनेको छ । खासगरी बाह्रबिसेदेखि तातोपानीसम्मको सडक तहसनहस अवस्थामा छ । पहाड पड्केर लार्चाको पुल भाँचिएको थियो, जसकारण त्यसले पनि आवातजावतमा कठिनाइ उत्पन्न गर्यो । त्यस्तो अवस्थामा सुधार ल्याउन र स्थानीयलाई आवातजावतमा सहजता प्रदान गर्न बेलिब्रिज हालिएको थियो, त्यो पनि भाँचिएर फेरि अर्को बनाइएको छ । अहिले त्यहाँका जनता अत्यन्तै कष्टपूर्ण रूपले जीवन निर्वाह गर्न बाध्य भइरहेका छन् ।
नाका खुल्ने दिशामा
अहिले विभिन्न संघ–संस्था, चीनस्थित नेपाली दूतावास, नेपालस्थित चिनियाँ दूतावास र नेपाल आउने प्रत्येक चिनियाँ प्रतिनिधिमण्डलसँग नाका खुलाउने विषयमा कुरा भएका छन् । यसरी पहल गर्दै अघि बढ्दा तातोपानी खुल्ने सम्भावना बढेर गएको छ ।
१ चैतमा अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले हस्ताक्षर गरेर बाह्रबिसेदेखि तातोपानीसम्मको सडक जतिसक्दो छिटो मर्मत गरी सुचारु गर्ने र नाकाआसपासमा चेक प्वाइन्ट निर्माण गर्ने सम्झौता भइसकेको छ । हप्ता दिनअघि मात्रै तातोपानीको वारि–पारि नै चिनियाँ प्रतिनिधिमण्डल र नेपालतर्फको प्रतिनिधिमण्डलले अध्ययन, अवलोकन गरिसकेको अवस्था छ । त्यसक्रममा चिनियाँ सिमानाको सुरक्षामा खटिएका जनमुक्ति सेनाका क्याप्टेन ‘फी’सँग पनि भेट भएको थियो । उनीसँग कुराकानी हुँदा चिनियाँ पक्षतिर बाटो पुनर्निर्माण र चेक प्वाइन्ट निर्माणलगायतका काम तीव्र रूपमा भइरहेको जानकारी आएको छ ।
चिनियाँ सहयोगमा तातोपानीको सुक्खा बन्दरगाह तीव्र गतिमा निर्माण भइरहेको स्थिति छ । यी सबै प्रगति विवरणले तातोपानी नाका खोल्नका लागि चिनियाँ पक्षले पनि पहलकदमी लिइरहेको छ भन्ने बुझिन्छ । हाम्रोतिर बाह्रबिसेदेखि तातोपानी सडक पुनर्निर्माणले गति लिनुपर्छ । अबका दिनमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलगायतलाई परिचालन गरेर अघि बढ्नुपर्छ ।
सरकार र सदनबाट पहल
तातोपानी नाका खुलाउनैपर्छ भन्ने उद्देश्यले सरकार र सदन दुवै स्थानबाट आवाज उठिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका वेला चीनको भ्रमणमा जानुभएको थियो । त्यतिवेला तातोपानी नाका खुलाउन चिनियाँ अधिकारीसँग कुरा भएको थियो । केपी ओली प्रधानमन्त्री भएर चीन जाँदा पनि यो विषय उठाइएको थियो । चिनियाँ पक्षलाई राखेर काठमाडौंमा अन्तक्र्रिया, गोष्ठी पनि भएका छन् । जसका कारण तातोपानी खुलाउनुपर्छ भन्ने कुरामा चीन सरकारको ध्यानाकर्षण भएको छ । पछिल्लोपटक चिनियाँ राजदूत यू होङसँग कुराकानी हुँदा नाका खोल्ने कुरामा त समस्या छैन, कुन मोडलमा खोल्ने भन्ने कुरा मात्रै प्राथमिक हो भन्ने कुरा आएको छ ।
पहिलेको जस्तो खासा बजारलाई व्यवस्थित गर्ने कि त्यहाँभन्दा केही परको न्यालम बजारबाट सुरु गर्ने भन्ने कुरामा छलफल चलिरहेको छ । चिनियाँ राजदूतले तातोपानी र रसुवा नेपालसँगको व्यापार गर्ने प्रमुख नाका हुन्, त्यसैले दुवै सुचारु गर्नुपर्छ भन्ने कुरा राख्नुभएको छ । अरनिको र कोदारी राजमार्गको महत्वले तातोपानी अझ महत्वपूर्ण छ भन्ने कुरा बुझेका छौँ भन्ने कुरा पनि गर्नुभएको छ ।
सदनबाट पनि तातोपानी नाका खुलाउने, मर्मत गर्ने कुरामा आवाज उठाइरहेका छौँ । अरनिको राजमार्ग विस्तार र पुनर्निर्माण गर्न चीनले दिएको १४ अर्ब ९४ करोड रुपैयाँको खर्च के कसरी भइरहेको छ भनेर सदनबाट जानकारी माग भएको छ । सुक्खा बन्दरगाह निर्माणका लागि चीनले ३ अर्ब रुपैयाँ दिएको छ, यसले के–कति काम भयो भनेर जानकारी सदनमा माग गरिएको छ । नाका खुलाउनका लागि राजनीतिक र कूटनीतिक तहबाट पहल तीव्र पारियो भने छिट्टै खुल्न सक्छ ।
सुरक्षामा चीनको चासो
चिनियाँ पक्षसँग बारम्बार कुरा हुँदा जमिनको सुरक्षालाई लिएर केही चिन्तित भएको देखिन्छ । किनभने, जमिन नै बगेको छ । त्यसैले नाका सुचारु गरेर व्यापारलाई सहजीकरण गर्न कतिको उपयुक्त छ भनेर चीनपट्टिको सडकखण्डमा पर्ने जमिनको जाँच भइरहेको छ । अन्य रणनीतिक सुरक्षासँग सम्बन्धित चासो विशेष रूपमा चीनले राखेको छ । चीनविरोधी गतिविधि नहुन् भन्ने चिनियाँ पक्षको चासो छ । यस्तो गतिविधि हुन पाउँदैन भनेर हामीले चिनियाँ पक्षलाई विश्वास दिलाएका छौँ, किनभने नाकासँग जोडिएको भोटेकोसी गाउँपालिकाका प्रमुख र उपप्रमुख, बाह्रबिसे नगरपालिकामा प्रमुख, उपप्रमुखलगायत जिल्लाका प्रतिनिधिहरू चिनियाँ पक्षको चासोलाई सम्बोधन गर्न प्रतिबद्ध छन् ।
केन्द्र र प्रदेश सरकार तथा प्रतिनिधि सभा र प्रदेश सभाका सांसद सबैले अवाञ्छित गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका छन् । यो अवस्थामा हामी सम्पूर्ण जनताको तर्फबाट सीमा सुरक्षाको ग्यारेन्टी गर्छौँ भनेका छौँ । नाकावरिपरि अवाञ्छित गतिविधि हुन दिँदैनौँ, नाकालाई सुरक्षित र व्यवस्थित गर्ने कुरामा हाम्रो पहलकदमी हुन्छ भन्ने कुराको विश्वास दिलाएका छौँ । हाम्रा कुरालाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएका छन् ।
नयाँ पत्रिकाबाट

२०७५ वैशाख ४ मंगलवार