एआईजी टेक बहादुर तामाङद्वारा उपत्यका स्थित प्रहरी कार्यलयका प्रमुखहरुलाई निर्देशन

2.02K
shares

काठमाडौ ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले उपत्यका स्थित प्रहरी कार्यलयका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ।

काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले  उपत्यका स्थित प्रहरी कार्यालयका प्रमुखहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा निर्देशन दिनु भएको हाे ।

निर्देशन सम्बोधनका क्रममा उहाँले कानून कार्यान्वयन गर्ने शान्ति सुरक्षा, अमनचयन कायम गर्ने, अपराध अनुसन्धान एंव नियन्त्रण गर्ने राज्यको महत्वपूर्ण निकाय नेपाल प्रहरी भएकाले चुस्त दुरुस्त तवरबाट प्रहरी सेवा प्रवाह गरी जनतालाई न्याय दिलाउने कार्यमा कटिवद्ध र प्रतिवद्ध हुन निर्देशन दिनुभयो । प्रहरी कार्यालयमा समस्या लिएर आउने प्रत्येक नागरिकको समस्या गहन ढंगले बुझेर मिठो बोलिवचन र सभ्य व्यवहारका साथ निष्पक्ष ढंगबाट छिटो छरितो सेवा प्रवाह गर्न समेत उँहाले निर्देशन दिनुभयो ।

प्रहरीको कार्यशैली, निर्णयहरु र व्यवहार समाजका नागरिकहरुले सहज रुपमा स्वीकार गर्न सक्ने किसिमको हुनुपर्ने बिषयमाथि जोड दिदै उहाँले नागरिक बिना वर्दीको प्रहरी र प्रहरी वर्दीसहितको नागरिक भएकाले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा नागरिकको साथ सहयोग लिएर कानुन बमोजिम प्रहरी काम-कारवाही गर्नका लागि निर्देशन दिनुहुँदै प्रत्येक कार्यालयले आफ्नो क्षेत्राधिकार भित्र उदाहरणीय कार्य गरी त्यस क्षेत्रका नागरिकले प्रहरीलाई सदैव सम्झने गरी प्रवाभकारी सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।

मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्धनमा विशेष ध्यान दिन आग्रह गर्दै वहाँले Operational Readiness को लागि प्रहरी कर्मचारीहरुलाई हरदम तयार रहन, गुण्डागर्दी लगायतका आपराधिक कार्यमा संलग्न व्यक्तिहरुको अभिलेख राखि कानूनी दायरामा ल्याई नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन समेत निर्देशन दिनुभयो । सोही क्रममा उहांले महाशिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्र एवं शिव मन्दिरहरुमा सुरक्षाको प्रभावकारी प्रबन्ध गरी श्रद्दालु भक्तजनहरुलाई भयरहित वातावरणमा शिवरात्री पर्व मनाउनका लागि आवश्यक सुरक्षा ब्यबस्थापन गर्नसमेत निर्देशन दिनु भएको थियोे।