पेरिसमा तनाव : सरकार जनताबाट टाढिनुको परिणाम
वि.सं.२०७५ मंसिर १७ सोमवार १५:५९
shares

काठमाडौं । फ्रान्समा विगत तीन हप्तादेखि पहेंलो ज्याकेट लगाएका आन्दोलनकारीले सरकारविरुद्ध प्रदर्शन गर्दै आइरहेका छन् । इन्धनमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै शुरू भएको यो आन्दोलनका क्रममा हिंसा पनि भएको छ । खासमा यो गरीब र निमुखा जनतालाई सरकारले गरेको बेवास्ताका कारण जन्मिएको क्रोधले अभिप्रेरित गरेको आन्दोलन हो ।
स्थिति नियन्त्रणबाहिर गएपछि फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले आपतकालीन बैठक बोलाएका छन् । कुनै पनि आन्दोलनका अगाडि घुँडा नटेक्ने दृढसंकल्प लिएका कारण म्याक्रोंले इन्धनको मूल्यवृद्धि त फिर्ता लिन मानेका छैनन् तर सर्वसाधारणको जीवनयापन सहज होस् भनी योजना बनाउन सरकारलाई निर्देशन चाहिँ दिएका छन् ।
पहेंलो ज्याकेट आन्दोलनको पृष्ठभूमिको कुरा गर्नुपर्दा फ्रान्समा सबै वाहनचालकलाई टाढैबाट टल्किने पहेंलो ज्याकेट लगाउन अनिवार्य गरिएको छ । त्यही पहेंलो ज्याकेटलाई आफ्नो विरोधको प्रतीक बनाएका छन् आन्दोलनकारीहरूले । सरकारले आफूलाई पूरै बेवास्ता गरेको भएर उसले देखोस् भन्नका लागि आन्दोलनकारीहरूले पहेंलो टल्किने ज्याकेट लगाएका हुन् ।
मजदूर वर्गका मानिस यो आन्दोलनका प्रमुख पात्र हुन् । उनीहरूलाई जिन्दगी चलाउनै धौधौ परेको छ र कहिलेकाहीँ त महिना मर्ने बेलामा एक पैसा पनि बाँकी नरहेको स्थिति आइपरेको छ । यो आन्दोलनले सम्भ्रान्त र शहरमुखी फ्रान्सेली सरकार तथा गरीब र ग्रामीण जनताबीचको ठूलो खाडललाई प्रस्टसँग देखाएको छ । क्रुद्ध आन्दोलनकारीहरूले पेरिसमा धनीहरूले शपिङ गर्ने पसलमा तोडफोड समेत गरेका छन् ।
राष्ट्रपति म्याक्रोंले प्रचण्ड बहुमत ल्याएर चुनाव जितेको भएपनि अहिले उनको समर्थन सूचकांक ह्वात्तै घटेको छ । आन्दोलनकारीहरूले उनलाई धनीहरूको मात्र राष्ट्रपति भएको आरोप लगाएका छन् । त्यसैले आन्दोलनकारीहरूको आक्रोश उनीविरुद्ध चुलिएको छ । पेरिसको प्रसिद्ध शम्श एलिसीमा आन्दोलनकारीहरूले डेमिसन म्याक्रों अर्थात् म्याक्रों राजीनामा देऊका नाराहरू चर्काएका छन् । एकजना आन्दोलनकारीले त म्याक्रों नयाँ लुई चौधौं भएको र लुई चौधौंको अन्त्य गिलोटिनमा काटिएर भएको समेत भने ।
त्यसो त म्याक्रों सन् २०१७ मा राष्ट्रपति भएपछि मात्रै फ्रान्समा शहर र गाउँबीचको विभाजन बढेको भन्न मिल्दैन । विगत ४० वर्षदेखि फ्रान्समा एकपछि अर्को सरकारले चारपाँचवटा ठूला शहरमा बढी ध्यान दिँदै साना नगर र ग्रामीण क्षेत्रलाई बेवास्ता गर्ने गरेका छन् । ती ग्रामीण क्षेत्रका निवासीहरूले सार्वजनिक सेवा पाउन सकेका छैनन्, त्यहाँ बेरोजगारी डरलाग्दो गरी बढेको छ र उनीहरूले सीधै ठूला शहरहरूसँग यातायात सम्पर्क गर्न पनि पाएका छैनन् ।
हुन त धूवाँ फाल्ने कारहरूको प्रयोगलाई निरुत्साहित गरेर वातावरण संरक्षणका लागि सरकारले इन्धनको मूल्यवृद्धि गराएको हो । तर विद्युतीय कारहरूको भरपर्दो विकल्पलाई व्यापक मात्रामा अघि नसारिकनै उनले मूल्यवृद्धिको बाटो अपनाउँदा त्यसको प्रत्युत्पादक परिणाम आएको छ ।
मूल्यवृद्धिले जनताको जीवनको वास्तविकतालाई बेवास्ता गरेको देखियो । प्रमुख शहरबाहिर बस्ने मानिसहरू आफ्नो कारमा बढी नै निर्भर छन् ।
अनि विपक्षीहरूले पनि खुलेर आन्दोलनको समर्थन नगरिरहेको स्थिति छ । म्याक्रोंसँग राष्ट्रपति चुनावमा पराजय बेहोरेकी मरिन ले पेंले व्यक्तिगत रूपमा आन्दोलनमा भाग नलिने बताएपनि आफ्ना कार्यकर्तालाई चाहिँ भाग लिन भनेकी छिन् । ती उग्रदक्षिणपन्थी कार्यकर्ता आन्दोलनमा मिसिएपछि अन्य विपक्षी दलका सांसदले विरोध प्रदर्शनमा भाग लिन ठाडै अस्वीकार गरेका छन् ।
अनि कडा वामन्थी नेता जाँ लक मेलेन्चोनले आन्दोलनकारीहरूको क्रोध जायज रहेको बताएका छन् । तर उनको दलले जीवनयापन खर्च धान्न मुश्किल परेको जनताको समस्यामा सहानुभूति देखाएपनि प्रदूषण गराउने गाडीहरूलाई विस्थापित गर्ने गरी इन्धनको मूल्यवृद्धिलाई समर्थन गरेको छ । त्यसैले उनको दल विरोधकर्ताहरूको आन्दोलनमा मिसिन सकेको छैन ।
राजनीतिक दलहरू किंकर्तव्यविमूढ भएपनि मारमा परेका जनताले आन्दोलन गरिनैरहेका छन् । यो आन्दोलन कति समयसम्म जाला भनी कसैले अनुमान गर्न सकेको छैन । तर शहरमुखी सम्भ्रान्तविरुद्ध निमुखा र विपन्न जनताको यो आन्दोलन तार्किक निष्कर्षमा नपुगी टुंगिने स्थिति पनि छैन । आन्दोलनलाई सरकारले उचित सम्बोधन नगरेमा उग्रवादी तत्त्वहरूले यसको दुरुपयोग गर्ने जोखिम प्रबल छ ।
































