पूर्वराजदूत झा हत्या प्रकरण : शंकाको घेरामा सुरक्षागार्ड !

२०७५ मंसिर ४ मंगलवार
939
shares
काठमाडौं । राजधानीको बबरमहलमा भएको एउटा ‘हाइप्रोफाइल मर्डर’ प्रहरीका लागि टाउको दुखाइको विषय बनेको छ । चार महिना वितिसक्दा पनि प्रहरीले पूर्वराजदूत केशवराज झा हत्याको गुत्थी सुल्झाउन नसकेको हो ।
४ भदौमा ८० वर्षीय झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी हानेर हत्या भएको थियो । घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको प्रहरीले बताएको छ तर, भरपर्दो प्रमाण फेला पार्न नसक्दा अनुसन्धान अधिकारीहरु मौन छन् ।
घटनाबारे अनुसन्धान गरिरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंह भन्छन्, ‘हामी अनुसन्धान गरिरहेका छौं तर, उपलब्धी हासिल भइसकेको छैन । अनुसन्धानमा बलियो सबुत हात पर्न नसकेको उनी स्वीकार्छन् । प्रहरीले घटनालगत्तै अनुसन्धानका लागि सुरक्षागार्ड ४८ वर्षीय कान्छाराज तामाङ, माली ५३ वर्षीय आइतेसिंह तामाङ र ५६ वर्षीय जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो । तर, उनीहरु सबै छुटिसकेका छन् ।
शंकाको घेरामा सुरक्षागार्ड
घटनालगत्तै प्रहरीले घटनास्थलमा ल्याएको जर्मन सेफर्ड कुकुर म्याक्सले घरभित्रै हत्यारा रहेको संकेत गरेको थियो । त्यही आधारमा प्रहरीले पहिले सुरक्षागार्ड तामाङ र दुई मालीमाथि अनुसन्धान अघि बढायो । तर, बन्द कोठाभित्रको रहस्यमय हत्यामा प्रहरीले उनीहरुबाट कुनै महत्वपूर्ण सुराक हात पार्न सकेन ।
प्रहरीले पोलिग्राफदेखि नार्को परीक्षणसम्म गरेको छ । त्यसमा दुई मालीले ‘क्लीन चिट’ पाए भने ‘सुरक्षागार्ड’माथि भने शंका गर्नुपर्ने प्रशस्त आधारहरु भेटिएका छन् । स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा गरिएको पोलिग्राफ परीक्षणले तामाङले प्रहरीसामू झुटो बयान दिएको खुलेको थियो ।
परीक्षणका क्रममा सोधिएका संक्षिप्त प्रश्नहरुमा तामाङले दिएको अधिकांश जवाफ शंकास्पद देखियो । यसले अनुसन्धान अधिकारीहरुलाई झा प्रकरणको रहस्य सुल्झाउने आधार त दियो तर, प्रमाणले पुष्टि गराउन नसक्दा अधिकारीहरुले उपलब्धि हासिल गर्न सकेनन् ।
नेपाल प्रहरीले अनुसन्धानमा कमै मात्र अपनाउने अर्को एउटा विधि पनि झा प्रकरणमा अपनाइयो । त्यो हो, ‘नार्को’ टेष्ट । ललितपुरस्थित पाटन अस्पतालमा गरिएको नार्को परीक्षणबाट कुनै महत्वपूर्ण उपलब्धी भने हात लागेन । नार्को परीक्षणमा अभियुक्तलाई लठ्याउने औषधि दिएर प्रश्न सोधिन्छ । लठ्याएर एउटा अवस्थामा पुगेपछि व्यक्तिले झुठ नबोल्ने विश्वासमा यो परीक्षण गरिन्छ ।
यसअघि ०६५ सालमा डा. उपेन्द्र देवकोटीकी छोरी मेघाको अपहरण भएको घटनामा पनि नार्को परीक्षण गरिएको थियो ।
झासँग तामाङको असन्तुष्टि
पारिवारिक स्रोतका अनुसार तामाङ झण्डै एक दशकयता झाको घरमा कार्यरत थिए । उनले सुरक्षागार्डसँगै सेफको काम गर्दै आएका थिए । गेटनजिकै रहेको टहरोमा सुत्थे ।
स्रोतका अनुसार तामाङले तलबलाई लिएर केही समयदेखि असन्तुष्टि व्यक्त गरिरहेका थिए । ‘पहिले उसले मासिक १३ हजार पाउँदै आएको थियो’ स्रोतले भन्यो, ‘पछिल्लो समय दुई हजार बढाएर १५ हजार बनाइएको थियो ।’ तर, त्यतिमा पनि उनी सन्तुष्ट थिएनन् । खाना पकाउनेसँगै सुरक्षागार्डको पनि काम गर्नुपर्ने हुँदा उनले आफूलाई अन्याय गरिएको बताउने गरेका थिए । उनी यति ‘फ्रस्टेड’ भइसकेका थिए कि गाडी धुन लगाउँदा पैसा माग्ने गरेका थिए ।
घरमा आउने आफन्तसमक्ष पनि असन्तुष्टि राख्ने गरेको परिवारका एक सदस्य बताउँछन् । ‘कहिले घाँस काट्न लगाउँछन्, कहिले कपडा धुन लगाउँछन् । तर, पैसा चाहिँ दिँदैनन्’, तामाङको भनाइलाई स्मरण गर्दै एक आफन्त भन्छन् । झाको घरमा काम गर्नुअघि भारतमा पनि सेफको काम गरेको बताउने तामाङको श्रीमती र दुई छोरा छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ८ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनी अहिले आफ्नै गाउँ पनौतीस्थित खोपासीमा छन् ।
प्रश्नै प्रश्नले जेलिएको अनुसन्धान
झा हत्यालाई अनुसन्धान अधिकारीहरुले सीमित रहस्यमय घटना मध्येको एक मानेका छन् ।
शंका गर्ने ठाउँ अनेक छन् तर, ठोस प्रमाण छैन । घटना क्रमले पेशेवर अपराधीले घटना गराएको जस्तो पनि देखिन्छ । तर, हालसम्मको अनुसन्धानको ट्याक कुनै पेशेवर व्यक्तिसम्म पुगेको छैन । सुरक्षागार्ड तामाङमै अड्किएको छ । छोरी राजश्री नेपाल बाहिर हुनु र छोराबुहारीलाई बिदाइ गरेको २४ घण्टा बित्न नपाउँदै झाको हत्या हुनु संयोग हो या नियोजित हो भन्ने विषयलाई जोडेर पनि प्रहरीले अनुसन्धान गर्यो । तर, परिवारभित्रै गरिएको अनुसन्धानले कुनै निकास दिन सकेन ।
झा पत्नी ज्ञानुतिर पनि शंकाको सुई नघुमाइएको होइन । घटना भएको रात उनी पहिलो तलामा सुतेकी थिइन्, जहाँबाट हत्यारा घरभित्र प्रवेश गरेको प्रहरीको अनुमान छ । झ्यालमा रहेको जालीको सानो भाग काटिएको छ । त्यहाँबाट हात छिराएर चुकुल खोलिएको हुनसक्ने प्रहरीको आशंका छ ।
तर, झ्यालको जाली काटेर हत्यारा कोठामा छिर्दा समेत त्यहीँ सुतेकी श्रीमतीले किन केही अत्तोपत्तो पाइनन् रु यो प्रश्नले अधिकारीहरुलाई शंका गर्ने ठाउँ दिएको थियो । यति मात्र होइन, झाको हत्यामा श्रीमती सुत्ने कोठामै भएको भान्सामा राखिएको चक्कु प्रयोग भएको थियो । त्यसैले झाको काजकिरिया सकिएपछि पत्नीतर्फ निगरानी बढाइएको थियो भने बयान लिने प्रयास समेत गरिएको थियो ।
तर, उनी बयान दिन सक्ने अवस्थामै थिइनन् । ७० वर्षकी उनलाई चाँडै विर्सिहाल्ने रोग छ । ‘चिया खाएको केहीबेरमै फेरि चिया खाउँ न भन्ने अवस्था छ’, एक अनुसन्धान अधिकारीले भने, ‘उनी औषधिसमेत लिइरहेकी थिइन् ।’ हरेक दिन साँझ उनी निदाउने औषधि खाएर सुत्छिन् । त्यसैले उनीतर्फ शंका गर्नु व्यर्थ रहेको प्रहरीको निश्कर्ष थियो ।
घरको सबैभन्दा माथिको भागको एक छेउमा पूजा कोठा छ । त्यसअगाडि बार पनि छ । त्यसको नजिकै रहेको झ्यालमा पनि जाली काटिएको भेटिएको थियो । त्यसैले छतबाट ज्ञानुको कोठासम्म हत्यारा पुगेको प्रहरीको अनुमान छ ।
तर, हत्यारा छतसम्म कसरी पुगे भन्ने प्रश्न अनुत्तरित छ । राति २५ फिट अग्लो भर्याङ लगाउनु सहज कुरा होइन । साथै भर्याङ प्रयोग भएको संकेत पनि छैन । बरु झ्यालको एक भागमा नांगो खुट्टाको ३ वटा डाम देखिएको छ, जसले घटनालाई रहस्यमय बनाएको अनुसन्धान अधिकारीहरु बताउँछन् ।

२०७५ मंसिर ४ मंगलवार