भारतीय प्रधानमन्त्री मोदीले ईपीजीको प्रतिवेदन छिट्टै बुझ्ने भट्टराईको दाबी

वि.सं.२०७५ कात्तिक २९ बिहीवार १५:४८
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने दाबी गरेका छन्। त्यस विषयमा दुवैतर्फका सदस्यबीच कुराकानी भैरहेको उनकोभ भनाइ थियो। ‘हाम्रोतर्फका संयोजकले भारतीय संयोजकसँग कुराकानी गरिरहनुभएको छ। अब मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ।
डा। भट्टराईले ईपीजीले नेपाल–भारत द्विपक्षीय सम्बन्धका सन्धि, सम्झौतादेखि लिएर सबै पक्षको बारेमा पुनरावलोकन गरेको दाबी गरे। उनले थपे, ‘ईपीजीको यो दुई वर्षे कार्यकालमा ९ पटकसम्म बैठक बसेर हामीले विभिन्न आयामबारे छलफल गर्यौं। र, हामी दुवै तर्फका बसेर एकल प्रतिवेदन बनायौं। यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई पेश गर्ने निर्णय गरेका छौं। पहिले भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने भनेका छौं।
बिहीबार रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै सल्लाहकार भट्टराईले ईपीजीको रिपोर्ट अत्यन्तै राम्रो बनेको र दुवै देशको हितमा रहेको पनि जिकिर गरे। उनले भने, ‘रिपोर्ट कसरी अघि बढाउने भन्नेबारे अहिले दुवै तर्फका संयोजकबीच कुराकानी तथा सम्वाद भैरहेको छ।’वर्तमान सरकार गठनका बेला मुलुक संक्रमणकालीन अवस्थामा रहेको सुनाउँदै भट्टराईले भने, ‘राजनीतिक अस्थिरतापनि हामीले सँगै भोग्नुपर्यो।
तर, हामीले संविधान जारी गरिसकेपछि र त्यो संविधानअन्तर्गत रहेर तीनै तहका सरकार बनाएपछि र बहुमतको सरकार बनाईसकेपछि उहाँहरुको चासो अहिले द्वन्द्वबाट शान्ति प्रक्रियामा, त्यसपछि सहमतिमा संविधान जारी गरेको र एकात्मक शासन प्रणालीबाट संघात्मकमा जान कसरी सम्भव भयो भनेर रहेको छ। नेपालमा भएका कुटनीतिक नियोगका प्रमुखहरु र हामीसँग भएको कुराकानीमा यो विषयमा उहाँहरुको चासो रहेको पाइन्छ।
नेपालबाट अन्य द्वन्द्वग्रस्त देशले पनि सकारात्मक कुरा सिक्न सक्छन् भनेर कुटनीतिक नियोगका प्रमुखहरुले भन्न गरेको पनि भट्टराईले सुनाए। नेपालले आन्तरिक रुपमा प्राप्त गरेको यी उपलब्धिहरुलाई विदेश नीतिको एउटा एजेण्डा भएको उनको तर्क छ। ‘हामीले द्विपक्षीय र बहु–आयामिक अन्तर्राष्ट्रिय सेमिनारहरुमा यी विषयहरुलाई पनि उठाउनुपर्छ। यो सरकारले त्यो काम गर्दै आएको छ,’ भट्टराईले भने।