अलमलमै ने क पा, आज पनि सचिवालय बैठक बस्दै

6.34K
shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्र सांगठनिक एकताको विषयमा अलमल देखिएको छ। प्रदेश कमिटीका पदाधिकारी चयन भए पनि सदस्यहरूको टुंगो लागेको छैन।

ने क पा यसअघि बसेको सचिवालयको बैठकले प्रदेश कमिटीका सदस्यको टुंगो लगाउने तथा केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड गर्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा सम्मिलित कार्यदल बनाएको थियो। कार्यदलले प्रस्ताव सचिवालयमा लगे पनि सचिवालय बैठकले ठोस निर्णय भने गर्न सकेन्।

बिहीवार र शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा कार्य दलले बिहिबार पेस गरेको सांगठनिक एकीकरण सम्बन्धी प्रस्तावमाथि छलफल गरेको थियो। छलफलमा उठेका विषयवस्तुलाई आवश्यक पुनर्विचार गरी निर्णय लिन स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

ने क पा भित्र संगठन एकता प्रक्रिया ढिलाइ भएको जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि चुलिएको छ। पार्टीका २१ जना सांसद एवं केन्द्रीय सदस्यहरूले असन्तुष्टि सहितको ज्ञापन पत्रसमेत नेतृत्वलाई बुझाएका छन्। पार्टी एकता भएको ६ महिना पूरा हुँदा पनि ने क पाले एकतालाई स्थानीय तहसम्म पुराउन सकेको छैन। न त केन्द्रीय सदस्यले जिम्मेवारी नै पाएका छन्।

‘हामीले पटक पटक पार्टी नेतृत्वलाई जिम्मेवारी दिन तथा एकतालाई तीव्रता दिन आग्रह गरिरहेका छौँ सुनुवाइ भएको छैन,’ स्थायी कमिटी सदस्य गणेश साहले भने, ‘एकता हुँदा हर्षित कार्यकर्तामा निराशा फैलिँदै गएको छ।’ उनले काठमाडौंमा भएको एकता कलंकीको जाममा अड्किएको व्यङ्ग्य गर्दै भने, ‘एकता तल्लो तहसम्म त के थानकोटसम्म पनि पुगेको छैन। कलंकीको जाममै अड्किएको छ।’

विधान अनुसार तीन महिना भित्र बस्नुपर्ने स्थायी कमिटीको बैठक चार महिना बित्दासमेत हुन नसक्नु दुर्भाग्य भएको साहले बताए। यता एकताको ६ महिना पूरा हुँदासम्म पोलिटव्यूरो गठनसमेत हुन सकेको छैन। शुक्रवारको सचिवालय बैठकले पोलिटव्यूरो गठन गर्ने निर्णय गरे पनि पोलिटव्यूरोमा कसलाई ल्याउने भन्ने एकमत हुन सकेको छैन। त्यस्तै विशेष प्रदेश कमिटी, काठमाडौंमा विशेष जिल्ला कमिटी, सम्पर्क कमिटी, प्रदेश समन्वय कमिटीलगायतका कमिटीको टुङ्गोसमेत लाग्न सकेको छैन।

शुक्रवारको सचिवालय बैठकले विशेष प्रदेश कमिटी गठन गरी त्यसको मातहतमा रहने गरी काठमाडौंमा विशेष जिल्ला कमिटी गठन गर्ने निर्णयसमेत गरेको थियो। शुक्रवारको बैठक निर्णय गर्न नसक्दा बैठक आज पनि बोलाइएको छ। आज बस्ने बैठकमा पोलिट व्यूरो गठन, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड, सरकारको समीक्षा गर्ने एजेन्डा तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।