मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

4.11K
shares

काठमाडौँ । सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, घाइते भई अपाङ्गता तथा अशक्त हुने तथा मृतकका परिवारका सदस्यलाई सरकारले यथोचित व्यवस्था गर्नेछ। उक्त घटनामा परेर हालसम्म २७ जनाको मृत्यु हुनुका साथै ६१३ जना घाइते भएका छन्। ठूलो मात्रामा आर्थिक क्षति भएको छ। उक्त दुःखद् घटनामा परी ज्यान गुमाउने मृतकप्रति श्रद्धासुमन अपर्ण गर्दै सरकारले शोक प्रकट गर्ने निर्णय गरेको छ।

बैठकले प्रभावित शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ। प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधिसहितको स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने तथा विपद् प्रभावित क्षेत्रमा विद्युत्, खानेपानी, सञ्चार लगायतका अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ।

प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन सम्बन्धित निकायलाई थप सतर्कता अपनाउन निर्देशन दिँदै बैठकले त्यसका लागि तत्काल आवश्यक कदम चाल्ने निर्णय समेत गरेको छ। बैठकले यस दुःखद् परिस्थितिमा प्रशासनिक निकाय, सुरक्षा अङ्ग, स्थानीय तह, निजी क्षेत्र, सामाजिक संस्था एवं गैर सरकारी संस्थालाई समन्वयात्मकरुपमा परिचालन गरी विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र बसोबासको व्यवस्था मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयको समन्वयमा उक्त क्षेत्रमा भएको क्षतिको विवरण यथाशीघ्र तयार गरी मूल्याङ्कन गर्ने र तथ्य विवरणसहितको परिस्थिति स्पष्ट भइसकेपछि पुनःस्थापना तथा पुनःनिर्माण लगायतका आवश्यक विषयका सम्बन्धमा आवश्यक निर्णय गर्ने मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सबैको समन्वयात्मक ढङ्गमा प्रभावित क्षेत्रमा काम गर्नुपर्छ, प्राकृतिक विपद् आइलागेर नागरिक पीडित हुनुहुन्छ।

घटना लगत्तै हेरविचार गर्ने, उद्धार गर्ने, अस्पताल तथा स्वास्थ्य संस्था पु¥याउन सहयोग गर्ने, शल्यक्रिया लगायत आवश्यक उपचारमा संलग्न हुने, सुरक्षा दिने, समाचार दिने लगायतका कार्यमा स्वतःस्फूर्त तत्कालै परिचालित भई प्राकृतिक विपदमा तदारुकताका साथ मानवीय उद्धारमा संलग्न भई सेवा पु¥याउने सबै तह र तप्काप्रति सरकारले हार्दिक धन्यवाद प्रकट गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083