राजपा पदाधिकारीको बैठक : महाधिवेशन कहिले ?
वि.सं.२०७६ वैशाख ९ सोमवार ११:०४
shares

काठमाडौं। बैशाख सातदेखि नौ गतेसम्म गर्ने भनिएको महाधिवेशनको मिति सरेपछि नयाँ मिति घोषणा, पार्टीको संगठन निर्माण, दुई नम्बर प्रदेश सरकारको काम कारवाहीलगायतका विषयमा छलफल गर्न राजपा पदाधिकारीको बैठक आइतबारदेखि राजधानीमा सुरु भएको छ। विशेष गरी महाधिवेशनका विषयमा केन्द्रित बैठकमा पदाधिकारीहरुले आफ्नो विचार राख्ने क्रम जारी छ।
आइतबार बसेको बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए। भण्डारीले समसामयिक र राष्ट्रिय राजनीतिका विषयलाई बैठकमा प्रस्तुत गरेका थिए। आइतबार बसेको बैठकमा विषय प्रवेश गराउने मात्र काम भएकाले सोमबार बस्ने बैठकमा विस्तृतमा छलफल हुने राजपा सहमहामन्त्री सुरेश मण्डलले जानकारी दिए।
‘लामो अन्तरालपछि सुरु भएको पदाधिकारी बैठकमा संयोजक शरतसिंह भण्डारीले विभिन्न विषयलाई बैठकमा प्रवेश गराउनु भएको छ,’ सहमहामन्त्री मण्डलले भने, ‘बैठकले महधिवेशनको नयाँ मिति तय गर्नुका साथै दुई नम्बर प्रदेश सरकारको समीक्षा र मन्त्रीहरुको कामको मूल्यांकन गर्नेछ।
बैठकमा संघीय समाजवादी फोरमसँगको एकताका विषयमा पनि छलफल हुनेछ। संघीय समाजवादी फोरमले राजपासँग एकता गर्न भन्दै सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता टोली नै गठन गरेको छ। फोरमले एकताकालागि राजपालाई पत्रसमेत पठाएको छ। राजपाले पनि नेता राजेन्द्र महतोको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने फोरमको पत्रको जवाफ पनि दिएको छ।



















