अर्थमन्त्री खतिवडाको विकास : निजी कर्मचारीलाई पाँच गाडी उपहार
वि.सं.२०७६ वैशाख १० मंगलवार १५:३१
shares

काठमाडौं। आर्थिक मितव्ययिता र सुशासनको कुरा गरेर नथाक्ने अर्थमन्त्री युवराज खतिवडाको निजी सचिवालयमा एक उपसचिव, एक शाखा अधिकृत र एक कम्प्युटर अधिकृत गरी तीनजना कर्मचारी छन्। तर मन्त्रालयले निजी सचिवालयका लागि भनेर पाँचवटा गाडी उपलब्ध गराएको छ।
मन्त्री खतिवडाको निजी सचिवालयमा रहेका उपसचिव होमकान्त भण्डारी, शाखा अधिकृत किरण पौडेल र कम्प्युटर अधिकृत बलराम श्रेष्ठ तीनैजनाले एक-एकवटा गाडी चढ्न पाउने हो भने पनि दुईवटा गाडी जगेडा हुन आउँछ।
तीनजना कर्मचारी रहेको निजी सचिवालय लाई पाँचवटा गाडी किन भन्ने हाम्रो प्रश्नमा मन्त्रीका निजी सचिव होमकान्त भण्डारीले आफूहरूले अनावश्यक र निजी काममा गाडी प्रयोग नगरेको जवाफ दिए।
‘मन्त्रीज्यूको कार्यक्रमहरू भइराख्छ, मुभमेन्ट भइरहन्छ,’ भण्डारीले भने, ‘व्यस्त भइ रहनु पर्ने भएकाले हो, अनावश्यक र निजी कामका लागि प्रयोग गरेका छैनौं।
त्यसका लागि मन्त्रीका सल्लाहकार र स्वकीय सचिवालयले प्रयोग गर्ने गाडी पनि निजी सचिवालयकै नाममा उल्लेख भएको हुनसक्ने संकेत गरे। व्यक्तिगत रूपमा कसैलाई गाडी छैन, स्वकीय सचिवालयले पनि प्रयोग गरेको हुनसक्छ, उनले भने, ‘अहिले त्यस्तो देखिएको मात्र होला।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार बा२झ ३७३३ नम्बरको टोयटा ल्याण्डक्रु्ूजर, बा१झ ८२१६ नम्बरको सान्टा फे जीप, बा२झ ३४९४ नम्बरको मारुती स्वीफ्ट कार, बा२झ १२६७ नम्बरको मित्सुबिसी पजेरो र बा१झ ८९१२ नम्बरको सेन्ट्रो कार मन्त्रीको निजी सचिवालयका नाममा रहेको छ। मन्त्री खतिवडाले भने बा२झ २३३० नम्बरको निशान एक्स ट्रायल जीप चढ्ने गरेको देखिन्छ।
सचिव र सचिवालय
सचिव डा. राजन खनाल बा २ झ २३२९ नम्बरको निशान एक्स ट्रायल जीप चढ्छन्। उनको सचिवालयका लागि भनेर बा२झ ३५१३ नम्बरको फोर्ड इकोस्पोर्ट कार मन्त्रालयले उपलब्ध गराएको छ। राजस्व सचिव लालशंकर घिमिरेको प्रयोजनमा बा२झ ३१९८ नम्बरको ह्युन्डाई आईटेन र उनको सचिवालयका लागि भनेर बा२झ २३२८ नम्बरको निशान एक्स ट्रायल जीप मन्त्रालयले उपलब्ध गराएको छ।
महाशाखाको नाममा राखेर उपसचिवलाई गाडी
सरकारले सह–सचिवसम्मका कर्मचारीलाई चारपांग्रे सवारी सुविधा उपलब्ध गराउँछ। तर अधिकांश मन्त्रालयमा उपसचिव, केहीमा शाखा अधिकृत र च्यानल मिलाउन सक्ने नासुसम्मले गाडी प्रयोग गर्ने गरेको देखिन्छ। अर्थ मन्त्रालयमा भने उपसचिवहरूलाई सीधै गाडी उपलब्ध गराइएको छैन, तर प्रायः उपसचिवले गाडी चढ्ने गरेको देखिन्छ।
उदाहरणका लागि, बजेट तथा कार्यक्रम महाशाखामा सहसचिव हरिशरण पुडासैनीका अलावा ९ जना उपसचिव पनि छन्। बाँकी कर्मचारी शाखा अधिकृत र कम्प्युटर अधिकृत रहेका छन्।
मन्त्रालयले हामीलाई उपलब्ध गराएको विवरणमा उक्त महाशाखाका लागि ९ वटा गाडी छुट्ट्याइएको छ। त्यसो त सह–सचिव पुडासैनीले आफ्नै सुविधामा गाडी पाएकाले त्यो सहित महाशाखाको प्रयोजनमा रहेको गाडीको संख्या १० पुग्छ।


















