१६औं गणतन्त्र दिवस : व्यवस्था फेरियो, अवस्था फेरिएन !
वि.सं.२०८० जेठ १५ सोमवार १०:४०
shares

-भुमिराज अधिकारी
काठमाडौँ । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । राज्यकको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस ! निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।
गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए । वि.सं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी) का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो ।
वि.सं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । वि.सं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।
नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठक समेत आह्वान गर्नुभयो । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो ।
२०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दै राजतन्त्रको अन्त्य गर्यो। जसले राष्ट्र प्रमुखको रुपमा रहेको शाह वंशीय परम्पराको किलो उखेल्यो र देशको शासन सत्ता नागरिकको हातमा आयो । १९ दिने जनआन्दोलन हुँदै प्राप्त भएको गणतन्त्रको १६ वर्ष पूरा हुँदा पनि जन अपेक्षा र मुलुकका समस्या जस्ताकै तस्तै छन् । गणतन्त्र आएको १६ औँ वर्ष बिति सक्दा पनि जनताको अवस्था भने फेरिन सकेको छैन ।
कसरी आयो गणतन्त्र ?
नेपालमा २००७ सालमा प्रजातन्त्र प्राप्ति पछि गणतन्त्रका कुरा उठेपनि यो ओझेलमै परेको थियो । यो आम मानिसले स्वीकारिएको विषय भने थिएन । तर २०५८ जेठ १९ मा तत्कालीन राजा वीरेन्द्रको बंश नाश हुनेगरी दरबार हत्या काण्ड भएपछि गणतन्त्रको बहस सतहमा आयो । राजा वीरेन्द्रको बंश नाशपछि ज्ञानेन्द्र राजा भए । वीरेन्द्रको हत्यापछि सशस्त्र युद्ध गरिरहेको माओवादीले खास गरी गणतन्त्रलाई जोडतोडले उठायो । ज्ञानेन्द्रले ०६१ माघ १९ मा शाही घोषणामार्फत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी शासन सत्ताको नेतृत्व आफ्नो हातमा लिए । यसले पनि राजनीतिक दलहरुलाई राजतन्त्र विरोधी कित्तामा उभ्याउन सजिलो भयो ।
राजाको कदम विरुद्ध राजनीतिक दलहरु आन्दोलनमा होमिए । २०६२ चैत २४ गतेबाट देशब्यापी आन्दोलन शुरु भयो । सशस्त्र युद्ध गरिरहेको माओवादी र संसदीय धारमा रहेका राजनीतिक दलहरुबीच पनि राजाको कदम विरुद्ध आन्दोलन गर्ने सहमति भयो । चैत २४ बाट शुरु भएको आन्दोलन २०६३ वैशााख ११ गते १९ दिनसम्म चल्यो । वैशाख ११ गते राजा ज्ञानेन्द्रले संसद पुनःस्थापना गरेपछि आन्दोलन टुंगियो । ०६२/६३ को आन्दोलनले गणतन्त्रको जग बसाल्यो । आन्दोलनमा २५ जनाले ज्यान गुमाए । यहीबीचमा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भयो । नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो र माओवादी समेतलाई सम्मिलित गरी अन्तरिम व्यवस्थापिका संसदको निर्माण भयो ।
माओवादी समेत सम्मिलित संयुक्त सरकार बन्यो र नेपालको भावी संविधान निर्माण गर्नका लागि संविधानसभाको निर्वाचन गरायो । ०६४ चैत २८ मा पहिलो संविधान सभाको निर्वाचन सम्पन्न भयो । माओवादी ठूलो दलको रुपमा उदायो । ०६४ मै कांग्रेसले पनि गणतन्त्रमा जाने निर्णय गर्यो । २०६५ जेठ १५ मा नेपाल गणतन्त्रमा प्रवेश गर्यो । कांग्रेसले निर्णय नगरेको भए सायद गणतन्त्र स्थापना हुँदैन थियो भन्ने धेरै राजनीतिक दलका नेताहरुको भनाई छ । गणतन्त्र आएपछि पहिलो संविधान सभाले संविधान दिन सकेन । दोस्रो संविधान सभाले २०७२ असोज ३ गते संविधान जारी गर्यो। संविधान जारी पछि ०७४ /०७९ मा संघ,प्रदेश र स्थानीय तहको निर्वाचन भयो । त्यस पछि निरन्तर तीन तहका सरकार अस्तित्वमा आएका छन्।


















