जसका औंलाहरु क्यानभासमा चित्र बनेर दौडिन्छन

Nepal Life Insurance Long Ad

आर्ट ग्यालरीहरू किन आम मान्छेको पहुँचभन्दा पर हुन्छन् । क्यानभासहरू किन खानदानी परिवारका भित्तामा मात्रै झुन्डिन्छन् ? के कला भनेको सामान्य मान्छेका लागि होइन ? यस्तो प्रश्न धेरैअघिदेखि धेरैपटक उठाइने गरेको छ ।

संसारमा कलाको सामाजिक दायित्वलाई अस्वीकार गर्नेहरूले दशकौँअघिदेखि ‘कला कलाका लागि’ भन्ने नारा लगाइरहेका छन्, उनीहरूले कलालाई समाज र जीवनविरोधी कित्तामा उभ्याएर विश्वव्यापी अभियान नै चलाएका छन् । त्यसको प्रभाव नेपाली सिर्जनाजगत्सम्म पनि जब्बर रहेको छ, खासगरी चित्रकला क्षेत्रमा । तर, पछिल्ला दिनमा कलाले सामाजिक जीवनसँग प्रत्यक्ष सरोकार राख्नुपर्छ, यो सम्भ्रान्तहरूको आँखाको स्वाद मेट्ने खुराक मात्रै होइन भन्ने आवाज नेपाली कला क्षेत्रमा पनि बलियो हुँदै गएको छ । भक्तपुरकी प्रिया सुवालका हातले क्यानभासमा कोर्ने चित्रकलाले भने यो परम्परागत मानकलाई फेरीदिएको छ ।

मान्छेको चाहना र सृजनालाई उमेरले छेक्दैन भन्छन् । २० वर्षिया प्रिया सुवालका लागि पनि त्यो लागू हुन्छ । उनका सृजना र जाँगर हेर्ने हो भने उमेरले बयस्क र कलाले पारंगत कलाकारको भन्दा कम छैन । आफूलाई मन परेका कुनै पनि वस्तुलाई कलामा उतार्न उनलाई न अल्छी लाग्छ, न झन्झट । सायद, उनी चित्र कोर्नकै लागि यो धर्तीमा जन्मिएकी हुन् । अध्ययन र रुझान पनि उनको मिल्दोजुल्दो नै छ, हाल उनि आर्किटेक्टकी विद्यार्थी हुन् ।

उनको कलाप्रतिको मोह हेरेपछि भावना शर्माको कविता विस्फारित हुन्छ :

कहिले रातो रङ सजाएर
बेहुली पारिदिन्छ
फेरी एकै छिनमा पखालिदिन्छ
मखमली सपनाहरु
सादा बनाइदिन्छ सेतो पोतेर…
कहिले इन्द्रेणी सजाउँछ
अनि आँखाहरुमा फुल्न नपाउँदै
बगाइदिन्छ निलो रंगमा आँशुको समुन्द्र…

पटक पटक कालो रात पोत्छ ऊ
असाध्यै खुले झैँ लाग्छ मलाई
मेरा सपनाहरु कालै रातमा त उज्याला भएर फुल्छन् !
म बुझ्छु,
कुन रङमा अझ बढी मुस्कुराउछन् राता गुलाबहरु
कुन रङले एक बन्छन् क्षितिजमा धर्ती आकाश !
सोध्दैन मलाई
सुन्दैन मेरो / खोइ कसको सुन्छ?
बरालिन्छ चित्रकार रङहरुको संसारमा
पोतिरहन्छ म मा असरल्ल नखुल्ने रङहरु
प्रयोग गरिरहन्छ
तर बुझ्दैन कहिल्यै
मेरो जीवन कुन रङमा बढी खुल्छ !!
विचलित छु
अशान्त छु
अझैँ कति बसौ मौन?
किन नकोरौ आफ्नै रंगहरुको आकृति ?

जीवनमा आउने अनेक भावनात्मक उतावचडावले कहिले विक्षिप्त बनाउछ त कहिले प्रफुल्ल। यस्तै मनोभावलाई चित्रमा उतार्ने कलाकार सुवाल भन्छिन, ‘सुख प्राप्त भएपछि हराएर जान्छ, दुःख चाँहि मानिसको भावानात्मक तरङ्गमा थुनिन्छ । तिनै अन्तरमनको भाव कलाकृतिमा पोख्ने कोसिस गर्छु ।’ पछिल्लो समय चित्रकला विधा फस्टाएझैं देखिन्छ । बढ्दै गइरहेको ललितकला कलेजहरूले नयाँ पुस्ता जन्माइरहेका पनि छन् । समीक्षकहरू भने कलाकर्मीको संख्या मात्रै बढिरहेको दाबी गर्छन् । उनीहरूका अनुसार नेपाली ललितकलामा गुणात्मकता र नयाँ अवधारणागत काम खासै भइरहेको छैन । राजधानीका विभिन्न आर्ट ग्यालरीहरूमा नियमितजस्तै भइरहने चित्रकला प्रदर्शनीहरू अवलोकन गर्ने हो भने पनि यस्तै भान हुन्छ ।

यतिखेर हाम्रो चित्रकला र अन्य कलाका अन्य विधा कतातिर गइरहेको छ भन्नेबारे खोजी र छलफल गर्न जरुरी रहेको प्रियाको बुझाइ छ । विकसित मुलुकको तुलनामा नेपालमा कलाप्रति नै स्पष्ट अवधारणा नरहेको उनको मत छ । ‘हाम्रोमा कसैलाई मन लाग्यो भने एक घण्टामा नै एउटा चित्र तयार गरिदिन सक्छ,’ उनी भन्छिन, ‘यस्तोमा कलाप्रतिको गहिरो भाव, ज्ञान र सिर्जनशीलताको हुने त कुरै भएन ।’ एउटै विषयवस्तु र माध्यम भए पनि नेपालीहरूको भन्दा युरोपियन तथा चिनियाँ चित्रकारहरूको कलाकृतिमा सिर्जनशील कौशल परैबाट छुटिने उनको अनुभव छ । ‘विदेशी चित्रकारहरूमा विषयवस्तुप्रति गहन अध्ययन, सिर्जनात्मक ज्ञान र कलाको गहन भाव पाइन्छ,’ उनी भन्छन्, ‘कला हतारमा भन्दा पनि गहनतासँग डुबेर मात्र सिर्जना हुन्छ ।’ ‘विकसित मुलुकमा कलाकृति सिर्जनाका लागि आर्ट भिलेजकै रूपमा छुट्टै स्थानहरू तोकिएको हुन्छ,’ उनी भन्छिन, ‘हाम्रोमा यस्तो त अवधारणा पनि बनेको छैन ।’ यसको प्रत्यक्ष असर कलाकारका सिर्जनामा पर्ने उनको ठहर छ ।

प्रिया अध्ययनका हिसाबले आर्किटेक्चर इञ्जिनियर हुन्। चित्रकला भने उनको रहर हो जसलाई ‘पार्ट टाइम’ कामका रूपमा अघि बढाएकी छन्। कालान्तरमा यसलाई पनि निरन्तर अघि बढाउने उनको सोच छ। ‘अहिलेको जमानामा एउटा मात्रै खुबी भएर मात्रै हुँदैन, एउटा मात्रै काम जानेर हुँदैन, ब्याक-अप पनि सोच्नुपर्छ,’ इञ्जिनियरिङबाट समय निकालेर चित्रकलामा रमाउनु र सीप निखार्नुको तात्पर्य खुलाउँदै उनी भन्छिन, ‘आफूले सीप जानेका क्षेत्रलाई सँगसँगै लैजाने प्रयास गरिरहेको छु।’

प्रिया भन्छिन, ‘चित्रकला त्यो विधा हो, जसमा सम्पूर्ण भाषा, सङ्गीत र साहित्य अटाएको छ । कलाको सम्बन्ध मानिसको जीवन र जगत्सँग अन्योन्याश्रित रहेको हुन्छ । विश्व मञ्चमा यो विधा साहित्य, सङ्गीत, कला र कलाका अन्य विधाहरुभन्दा उच्च र जेठो विधाका रुपमा प्रतिष्ठित छ ।संसारले चित्रकला विधालाई विश्वभाषा मान्छ । कारण, यसलाई बुझ्न र बुझाउन कुनै पनि देशको स्थानीय भाषाको आवश्यकता पर्दैन । यसको औचित्य दृष्टिगोचर भएर नै पूरा हुने हुँदा दृष्टि अनुभूतिबाट नै आनन्दको पराकाष्ठामा पुगिन्छ । केन्नेथ क्वार्क भन्छन्– ‘कला सम्पूर्णतः हाम्रा ज्ञान, हाम्रा स्मृति र हाम्रा सम्बन्धहरुसँग सम्बन्धित छ ।’ यस्तै कलालाई क्रोचेले मनःसृष्टि वा अन्तज्र्ञान मानेका छन् । जे होस्, मानव विकासपश्चात् साङ्केतिक बाटोबाट रेखाङ्कित रुपमा शब्द र भाषामा प्रतिस्थापित हुँदै आएको यो विधालाई भौतिक, अभौतिक, आध्यात्मिक र दर्शनको सुन्दर अभिव्यक्ति गर्ने माध्यमका रुपमा आज विश्व जनमञ्चले स्वीकारेको छ ।’

राफेल, भेनगाग, डाली, पिसारो, लियानार्दो दा भिञ्ची, पाब्लो पिकासो, मोने, माने, दोमियर, कुर्बे, कान्दस्की, विलियम डि कनिङ, ज्याक्सन पोलक आदि विश्व प्रसिद्ध कलाकारहरु यस क्षेत्रका पिता हुन् । यिनीहरुका कलाकृतिले युग बोलेका छन् । त्यसैले यिनीहरुका कृतिहरुको आर्थिक मापन हुन सक्दैन भनिन्छ । किन त ? विश्वमा स्थापना भएका नौलानौला सैद्धान्तिक मान्यताभित्रका प्रक्षेपित विविध वादहरुको आविष्कार र ऐतिहासिक सामाजिक पृष्ठभूमिको अवशेषको चित्राङ्कित अवस्था नै यिनीहरुका ऐतिहासिक कलाकृतिहरुको मूल्य आँक्न नमिल्ने अवस्थाहरु हुन् । मूलतः वादहरुको स्थापना, कृतिको गरिमा र वैभवता नै कृतिहरुलाई आर्थिक मूल्यविहीनताको धरातलमा टेकाइराख्ने सम्मानित अवस्थाहरु हुन् ।

३१ भदौ २०७७, बुधवार १०:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु