व्यक्ति खराब भएर मात्र अहिलेको संकट आएको होइन’ प्रतिगमनकै विरुद्ध लड्नु छ, केको चुनाव ?- विश्वभक्त दुलाल ‘आहुती’

Nepal Life Insurance Long Ad

काठमाडौं । मार्क्सवादी चिन्तक एवं विचारकका रुपमा चिनिने अहिले आफैंले खोलेको ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ का संयोजक छन् ।

तत्कालीन एकीकृत माओवादीबाट सैद्धान्तिक विमति राख्दै बाहिरिएपछि उनले नयाँ पार्टीको निर्माण गरेका हुन् ।

आहुती संसदीय व्यवस्था विरुद्ध संघर्ष गरेर अर्को व्यवस्था स्थापना गर्नुपर्ने बताउँछन् । क्रान्ति र समाजवाद आजैबाट कार्यान्वयन गर्न सकिने उनको तर्क छ ।

केपी ओलीको सन्दर्भमा प्रश्न गर्दा उनी व्यक्ति खराब भएर मात्रै अहिलेको संकट नआएको बताउँछन् र व्यवस्था नै बदल्नुपर्ने बताउँछन् ।

यिनै सन्दर्भहरुलाई लिएर आहुतीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ–

खड्प्रसाद ओली नेतृत्वको सरकारद्वारा संसद विघटनपछि उत्पन्न संकट पार्टी, गुट वा व्यक्तिको कारणले नभई मूलतः दलाल संसदीय पुँजीवादी व्यवस्थाको असफलताबाट जन्मिएको तपाईंहरुको ठहर छ । तपाईंले परिकल्पना गरेको व्यवस्था चाहिँ कस्तो हो ?

हामीले भनेको वैज्ञानिक समाजवाद हो । यो हामीले मात्रै भनेको होइन, कम्युनिष्ट आन्दोलनले शुरुवातदेखि नै वैज्ञानिक समाजवाद भनेको हा् । कार्ल मार्क्स एंगेल्सहरुले भनेको हो । समाज विज्ञानको नियमअनुसार बनाउने नियम वैज्ञानिक समाजवाद हो ।

तपाईंलाई मानिसहरुले विचारक र मार्क्सवादी चिन्तकका रुपमा चिन्छन् । विचारमा त आहुती खरो छ तर, सांगठनिकरुपमा सफल हुन गाह्रो छ भनेर मानिसहरु टिप्पणी गर्छन् नि !

बैचारिकरुपमा हामी ठीक छौँ भने संगठन बनाउन उहाँहरु आए भैहाल्यो नि । नेतृत्व गर्न पनि उहाँहरु आए भैहाल्यो । यो केही ठूलो कुरा भएन । हामीले नेतृत्व प्रणाली यसरी विकास गर्दै छैनौँ कि नमरेसम्म एउटा मान्छे रहिरहन्छ । निरंकुश हुने गरी बन्ने पुरानो नेतृत्व प्रणाली हामी भत्काइदिन्छौँ ।

महाधिवेशनसम्म पुग्दा हाम्रो सबै नियमावली बन्छ र मान्छेले छर्लंगै देख्छन् कि यो त अर्कै बनाउन लागेको रहेछ । अहिले पनि संयोजन कसैले गर्नुपर्ने भएकाले त्यो भूमिकामा म छु, यसको मतलव, निरंकुश अध्यक्ष, निरंकुश महासचिव परम्परावादी ढंगले बनाउने हाम्रो सोच छैन ।

लामो समय माओवादीमा बस्नुभयो । विचारको मन्थन गर्नुभयो । जहाँ युद्धमा होमिएर आएका क्रान्तिकारीहरु थिए । उनीहरुसँग सैद्धान्तिकरुपमा फरक मत राखेर तपाईं निस्कनुपर्‍यो । अब एक/दुई वर्षमै त्यस्ता क्याडरहरु कसरी खडा गर्न सक्नुहुन्छ ?

हरेक एउटा स्कुलले एउटा प्रवृत्तिका मान्छे उत्पादन गर्छ । स्कुलहरु हुन् यिनीहरु । उत्पादन गरेर संस्कारका रुपमा त्यो प्रवृत्ति अपनाउन थालेपछि विल्कुल नयाँ ठाउँमा जानका निम्ति त्यो भीडले लड्नै सक्दैन । त्यसभित्रका अपवादका पात्रहरु नयाँ ठाउँमा जान्छन्, विद्रोह गर्छन् । नत्र त्यो भीड मोटामोटी त्यो स्कुलको नेतासँगै नै बेगर सकिन्छ । त्यसकारण, हामीले ३५ नाघेका मानिसलाई ध्यान दिने, ३५ भन्दा मुनि र १६ वर्षभन्दा माथिका मान्छेलाई जोड दिने भनेका छौँ । पुरानो पुस्तालाई बदलेर क्रान्ति गरांैला भन्ने सपना देखेर हुँदैन । ऊ आउँदैन, उसले नयाँ सपना देख्नै सक्दैन । अब नयाँ पुस्ताका मान्छेलाई, नयाँ स्कुल बनाएर हुर्काउनुपर्ने हुन्छ । विचार र संगठन दुवै नयाँ भएकाले स्कुल पनि नयाँ नै हुनुपर्छ ।

ढिलो र चाँडो भनेको सही विचार छ कि छैन र प्रविधिमा आधारित हुन्छ । हिजो क्रान्ति र संगठनका कुरा गर्दाखेरि बर्षौँ वर्ष किन लाग्थ्यो ? एउटै परिपत्र एउटा ठाउँबाट एउटा जिल्लामा पुर्‍याउनुपर्यो भने पाँच/दश दिन, एक महिना लाग्थ्यो । एउटा भेला गर्न महिनौं लाग्थ्यो । आज पाँच सेकेण्डमा इमेलमा दुनियाँभर पठाउन सक्नुहुन्छ । विज्ञान प्रविधिले समयलाई खुम्च्याइदियो । आजसम्मको कम्युनिष्ट आन्दोलन आवाजको गतिमा थियो भने अबको कम्युनिष्ट आन्दोलन र विश्व प्रकाशको गतिमा चलेको छ । त्यसैले सही कुरा भन्नुभयो भने मानिसहरुको पुर्‍याउनका निम्ति समस्या छैन । हिजो बीसौँ वर्ष लगाएर गर्ने क्रान्ति आज पाँच/सात वर्षमा सम्भव छ । विचार चाहिँ सही हुनुपर्‍यो ।

अहिले मानिसहरुमा कम्युनिष्ट फोबियाजस्तो छ । मानिसहरु प्रतिष्ठाका लागि सम्पत्ति आर्जन गर्न र नाफाघाटमै व्यस्त छन् । यस्तोबेला फेरि नयाँ कम्युनिष्ट विचारप्रति आकर्षण कसरी सम्भव छ ?

मानिसहरु नाफा–घाटामा छन् र बहुसंख्यक मानिस नाफा–घाटाका बावजुत पनि संकटग्रस्त छन् । यो त सत्य हो । स्वार्थी छन् । किनकि स्वार्थी हुन बाध्य छन् । र, स्वार्थी भएवापत मान्छे पीडित छन् । किनकि स्वार्थ त पूरा भएको छैन । त्यसको समाधान जब उसले विचार र प्रक्रियामा देख्छ, वास्तविक उत्साह त त्यसपछि आउने हो । जस्तो कि–दुईतिहाइ बहुमतका आसपासमा मान्छेले नेकपा नेकपालाई भोट हाल्न उत्साहित भयो नि । किनकि अब चाहिँ स्थायी प्रकारको सरकार बन्ला, मेरो जीवनमा परिवर्तन आउला, महँगी घट्ला, आम्दानी बढ्ला भनेर ।

नेपालको सन्दर्भमा भन्ने हो भने यो प्रतिगमन भएर चुनावमा भाग लिने त प्रश्नै उठ्दैन । मिल्दै मिल्दैन । उपयोग गर्न पनि मिल्दैन । किनकि प्रतिगमनकै विरुद्ध लड्नु छ भने केको चुनाव ?

मानिस पुँजीवाद, उपभोक्तावाद र स्वार्थले थिल्थिलो भएको छ, संकटग्रस्त भएको छ । तर, समाधान त भएको छैन । त्योभन्दा राम्रोसँग समाधान हुने बाटो र प्रक्रिया देखाएपछि मान्छे किन संगठित हुँदैन ? मनचिन्ते कुरा गरेर पो हुँदैन । विगतमा जस्तो १०/१५ वर्षपछि क्रन्ति गरौँला हिडौँ, अनि भविश्य बन्छ भनेर अब मानिस आउँदैन । त्यसैले त हामीले भनेको हो कि अहिल्यै क्रान्ति, आजैदेखि समाजवाद ! शुरुमा एक/दुई प्रतिशत नै किन नहोस् । अहिलेभन्दा तपाईंको आम्दानी बढ्छ, अहिलेभन्दा खर्च घट्छ भन्ने मूर्त रुपमा देखाउन सक्नुपर्‍यो । क्रान्तिसँग दुस्मनी छ र मान्छेको ? छैन नि ।

अब हामीले अहिल्यैदेखि समाजवादको केही न केही भोग्न मिल्ने प्रतिशत हाम्रो जीवनमा भोग्न मिल्ने बनाउँछौँ । १५ वर्षपछिको सपना देखाउँदा त मानिस हिँडिरहेका छन् ।

अहिल्यै समाजवाद ल्याउने त्यस्तो जादुको छडी तपाईंहरुसँग के छ ?

जादुको छडी होइन, विचारको कुरा हो । पुँजीवाद उत्पादनकर्ता र उपभोगकर्ताको बीचमा सम्बन्ध विच्छेद गरेर टिकेको हो । यो सम्पूर्ण सेना, पुलिस, अदालत सबै किन बनाएको भन्दा उत्पादक र उपभोक्ताकर्ताका बीचमा सम्बन्ध विच्छेद गरेर वीचमा बस्न । र, फेरि भाऊ त्यसैले तोक्छ । जसले उत्पादन गर्दैन, उपभोग गर्दैन भाउ त्यसले तोक्छ ।

तपाईंले गोलभेँडा उत्पादन गर्नुहुन्छ मैले काउली उत्पादन गर्छु । हामी छिमेकी हौँ । गोलेभेँडा बेच्न तपाई कालिमाटी बजार जानुहुन्छ । म काउली लिएर कालिमाटी बजार जान्छु । त्यही काउली घुम्दै घुम्दै तपाईंकहाँ आइपुग्छ, त्यही गोलचक्करमा घुम्दाघुम्दै मकहाँ आइपुग्छ । तपाईंले १० रुपैयाँमा बेचेको गोलभेँडा मैले ४० रुपैयाँ तिरेर किन्नुपर्छ । ३० रुपैयाँ कसले खायो ? तपाईं र मैले साटेको भए २० मा खान्थेँ नि । यसले आम्दानी बढ्यो र मेरो खर्च घट्यो । त्यहाँ गर्ने भनेको एउटा मात्र कुरा हो– हाम्रो वीचमा जुन पुँजीवाद बसेको छ, त्यसलाई हटाइदिऔँ ।

दुनियाँमा मान्छेको सातवटा आवश्यकता छ । पहिलो खाना, दोस्रो बास, तेस्रो बस्त्र, चौथो औषधी उपचार, पाँचौँ शिक्षा, छैटौँ मनोरञ्जन र सातौँ त्यसलाई व्यवस्थापन गर्ने काम । सातजना यो कुर्सीमा बस्छौँ हामी । किनकि यो सबै उत्पादन त सेना, पुलिस, न्यायाधीश, राजनेताले गर्दैन । हामीले गर्ने हो । मलाई कपडा चाहियो तपाईंले बनाउनुभएको छ भने मलाई दिनुहुन्छ । मासु मसँग छ, तपाईंलाई दिन्छु । किन चाहियो पुँजीवाद ? हामीले त्यसो गर्न थालेपछि त्यो पुजीँवादले हामीसँग नगर भन्न आउँछ । किनकि उसको नाफा हुँदैन । त्यसपछि हामी गर्छौँ भनेर लड्नुपर्छ । समाजवाद बनाउन थाल्यो भनेपछि हाम्रा नेता कार्यकर्ता मार्न आउँछ । टोले गुण्डा, पुलिस, सशस्त्र र सेना लगाएर हाम्रो समाजवाद भाँड्न आउँछ । त्यसपछि हामी लड्ने सत्ता बनाउनुपर्छ र हामीले बनाएको समाजवादको निम्ति प्रतिरोध गर्न सशस्त्र संघर्ष अनिवार्य हुन्छ । संसारभरिको शोषक वर्ष करोडौं अरब खर्च गरेर मान्छे मार्ने साधन लिएर बसेको छ । त्यसै क्रान्ति हुन दिन्छ ।

मध्यावधि चुनावको चर्चा छ । अहिले नभए पनि दुई वर्षपछि चुनाव भैहाल्छ । तपाईंहरु चाहिँ चुनाव लड्नुहुन्छ कि हुन्न ?

आम रुपमा लेनिनवादीहरुले संसदीय चुनावहरुलाई आवश्यक पर्दा उपयोगसम्म गर्न सकिन्छ भनेका छन् । यो आम मार्क्सवादीहरुको सिद्धान्त भयो । निरपेक्ष बहिस्कार भन्ने कुरा मार्क्सवादीको सिद्धान्तभित्र पर्दैन । दोस्रो, यो रणनैतिक नभएर कार्यनीतिक सवाल हो भन्छौँ । तर, उपयोग भनेको भाग लिने होइन । उपयोग भनेको सन्देश दिनका निम्ति केही ठाउँमा उठाउने हो ।

नेपालको सन्दर्भमा भन्ने हो भने यो प्रतिगमन भएर चुनावमा भाग लिने त प्रश्नै उठ्दैन । मिल्दै मिल्दैन । उपयोग गर्न पनि मिल्दैन । किनकि प्रतिगमनकै विरुद्ध लड्नु छ भने केको चुनाव ?

नेपालमा यति धेरै कम्युनिष्ट पार्टी छन् । कम्युनिष्टकै सरकार छ । फेरि तपाईंलाई अर्को नयाँ पर्टी खडा गर्ने के त्यस्तो बाध्यता आइपर्‍यो ?

नेपाली कम्युनिष्ट आन्दोलनका ७०/८० वर्षले केही उपलब्धी दिएका छन् र केही समस्याहरु पनि छन् । यसको एउटा मुख्य पंक्ति नेकपा नेकपाको रुपमा पतन भयो । त्यो भनेको कम्युनिष्ट आन्दोलन पतन भएको हो । त्यो, पुँजीवादी पार्टीमा रुपान्तरण भएको हो । अर्को कुरा, व्यक्तिहरु बिग्रेका कारणले कम्युनिष्ट आन्दोलन बिग्रिएको भन्ने नेपाल र विश्व कम्युनिष्ट आन्दोलनको जुन निष्कर्ष छ, त्यो गलत छ । व्यक्तिहरु बिग्रेका हुन्, तर, बिग्रनु परिणाम मात्रै हो । कारण होइन । कारणचाहिँ मार्क्सवादी विचारमा विकास नभएको हो ।

विशेषतः माओ त्सेतुङको मृत्युपछि मार्क्सवादमा विकास छैन । त्यसैले, नेपालमा कम्युनिष्ट आन्दोलनको जुन हविगत छ, त्यो विचारमा विकास हुन नसकेकाले नै हो । सन् १९५९ को क्युवाली क्रान्तिपछि संसारभर कम्युनिष्ट क्रान्ति छैन, प्रतिक्रान्ति मात्रै छ । त्यसकारणले हामीले एक थान पार्टी बनाउने नारा बनाएर मात्र होइन कि मार्क्सवादमा विकाससहित हामीले एउटा दिशा दिन सक्यौँ भने पार्टी गठन गर्नुको अर्थ छ । त्यसैले, हामीले चार/पाँच वर्ष अगाडिदेखि पहिलेका पार्टीमा पनि छलफल शुरु गरेका हौँ । तर, उसको औचित्य सकिएपछि हामीले अर्को पार्टी निर्माण गरेका हौँ । मार्क्सवादमै नयाँ निश्कर्षसहित अगाडि बढेर मात्रै हामीले कम्युनिष्ट आन्दोलनलाई फेरि नयाँ शिराबाट अगाडि उठाउन सक्छौँ । लेनिनहरुले व्याख्या गरेको युगको अन्त्य भयो, नयाँ युगको प्रारम्भ भैसक्यो । त्यसैले, पुरानो युगको रणनीतिअनुसार लडेर अब कम्युनिष्ट आन्दोलन जितिँदैन ।

नेपालका संवैधानिक व्यवस्थामा हरेकपटक परिवर्तन हुन्छ र सामाजिक जात व्यवस्थामा आधारित संरचना ज्युँदै हुन्छ । बनाउँदै गयौं, अन्ततः जात व्यवस्थाजस्तै पार्टी बन्छ । त्यसकारणले दक्षिण एशियाको वर्ग संघर्षलाई जात व्यवस्थाबाट अलग गरे हेर्नुहुँदैन

दोस्रो कुरा, अबको समाजमा १०/१५ वर्ष लगाएर केन्द्रीय सत्ता कब्जा गर्ने अनि देशव्यापी समाजवाद गराउने पुरानो युगको नीति लागु हुँदैन । अहिलेदेखि नै वैज्ञानिक समाजवादी व्यवस्था बनाउन शुरु गर्नुपर्ने हुन्छ । पुँजीवादको विकल्प र समानान्तरमा बनाउनुपर्ने हुन्छ । त्यसको मतलव हो, एउटै भूगोलमा दुई वटा व्यवस्था हुन्छ । एउटा पुँजीवाद, अर्को समाजवाद । समाजवादले बहुसंख्यकको न्यायको पक्षमा, विज्ञानको पक्षमा भूमिका खेल्छ । अन्त त समाजवादले पुँजीवादलाई ध्वंश गर्नुपर्छ । हिजोजस्तो एक देशमा क्रान्ति गर्ने र त्यसलाई फैलाउँदै लाने भन्ने पनि सम्भव छैन । किनकि हिजो दुश्मनहरु त्यति छिटो दमन गर्न पुग्ने विज्ञान आएको थिएन, पुँजीवादीहरु एक आपसमा लड्थे । मिल्दैनथे । तर, आज पुँजीपतिहरु एक ढिक्का छन् । २८/३० देश मिलेर हान्छन् । एक ठाउँमा हान्नुपर्‍यो भने पाँच मिनेटमा फाइटर प्लेन पुगिहाल्छ ।

त्यसैले, अहिलेदेखि नै वैज्ञानिक समाजवादी व्यवस्था नै बनाउने हो । त्यो सत्ता मात्र होइन । त्यसको अर्थतन्त्र पनि बनाउने हो, त्यसको संस्कृति पनि बनाउने हो । सिद्धान्त दर्शन राजनीति त हुन्छ हुन्छ । अनि त्यो अर्थतन्त्र समाजको रक्षाको निम्ति, प्रतिरोधको निम्ति संघर्ष गर्छ । त्यसपछि राज्यसत्ता पनि चाहियो । त्यसरी सिंगो व्यवस्था नै बनाउँदै जानुपर्छ ।

तेस्रो कुरा, नेपाली समाजको बनावटका बारेमा कम्युनिष्ट आन्दोलनले ठीक विश्लेषण गर्न सकेन । खासगरी दक्षिण एसियामै । यहाँको सर्वहारा वर्ग भनेको मजदुर, भूमिहीन किसान वा गाउँका सर्वहारा हुन् । औद्योगिक सर्वहारा त थिएनन् । त्यसैले, दक्षिण एसियाको हकमा एउटा मुख्य सर्वहारा दलित हो । सर्वहाराभन्दा कैयौँ अर्थमा त्यो दासत्वमा छ । भनेपछि, यो समुदाय क्रान्तिको अघिल्लो पंक्तिमा आउनुपर्छ ।

नेपालका संवैधानिक व्यवस्थामा हरेकपटक परिवर्तन हुन्छ र सामाजिक जात व्यवस्थामा आधारित संरचना ज्युँदै हुन्छ । बनाउँदै गयौं, अन्ततः जात व्यवस्थाजस्तै पार्टी बन्छ । त्यसकारणले दक्षिण एशियाको वर्ग संघर्षलाई जात व्यवस्थाबाट अलग गरे हेर्नुहुँदैन । यो ठाउँको लोकतान्त्रिक या कम्युनिष्ट आन्दोलन जात व्यवस्था विरोधी हुनुपर्छ । अनि समाजवाद आउँदा पनि जात व्यवस्था नभएको समाजवाद आउँछ भनेर हामीले अर्को निश्कर्ष निकालेका छौँ । आधारभुत विश्व कम्युनिष्ट आन्दोलनलाई नै अगाडि बढाउने निश्कर्षसहित संगठनको निर्माणमा पनि नयाँ निश्कर्षमा छौँ । अहिलेसम्मको संगठन पिरामिड आकारको बन्यो । जुन पुँजीवादले सिर्जना गरेको हो । सबैभन्दा थोरै मानिसले शासन गर्नका लागि बनेको हो । कम्युनिष्टहरुले त बहुसंख्यक मानिस, श्रमिकहरु शक्तिशाली बन्ने भनेका छन् । बहुसंख्यक शक्तिशाली बन्न त निर्णय गर्ने अधिकार पनि बहुसंख्यकमा हुनुपर्छ नि । त्यसकारणले पार्टी पनि हामीले छाल आकारको बनाउनुपर्छ ।

त्यसैले, तीन वर्षचाहिँ हामी प्रचारको अभियानमा थियौँ । सबैको दिमागलाई त पुरानै शासक अनुकुल ढालिएको छ । सबै नयाँ कुरा गर्नुपर्ने भएकाले एक चरण देश–विदेशमा हामी प्रचार गर्ने, विभिन्न भाषामा अनुवाद गरेर प्रचार गर्ने अभियानमा थियौँ । हामीले विचारको मात्रै प्रचार गर्ने भनेको त विभिन्न ठाउँमा उत्साहित भएर समिति नै बनाउन थाल्नुभयो । चार पाँच देशमै विस्तार भयो । सातै प्रदेशमा समिति बन्न पुग्यो । त्यसैले, हामीले यसलाई पार्टीको रुप दियौँ । संघर्ष र कार्यदिशा लागुगर्ने अब प्रकट हुन्छ ।

यहाँले विश्व कम्युनिष्ट आन्दोलनकै पुनर्व्याख्या हुनुपर्छ भन्नुहुन्छ । निर्णायक तहमा तल्लो तप्का हुनुपर्छ भन्नुहुन्छ । तर, अहिले कम्युनिष्ट पार्टीहरुले पनि पुँजीवादलाई अवलम्वन गरिरहेको अवस्था छ । मानिसहरु नाफाघाटामा अभ्यस्त भैसकेका छन् । तपाईं उनीहरुकै विरुद्ध लड्नुपर्छ भन्नुहुन्छ । त्यसका लागि त जनधरातल पनि चाहिएला नि ? जनताले विश्वास गर्छन् त ?

हामीले प्रचार मात्रै गर्ने भनेर छुट्याएको अवधिमा पनि मानिसहरु संगठित हुन थाले । यो हामीले सोचेको भन्दा बढी हो । तर, अहिलेदेखि नै समाजवाद निर्माण गर्ने भन्ने जुन कार्यदिशा बनाएका छौँ, त्यसलाई लागु त गरेका छैनौँ । २३ दलमा गठबन्धनमा जान्छौँ भनेर पनि हामीले भनेका होइनौँ । उहाँहरुले घटककै रुपमा आउनुपर्‍यो भन्नुभयो । रणनैतिक संयुक्त मोर्चा बनाउने भनेर चार पार्टीको वक्तव्य पनि दिएका छौँ ।

मान्छे आउँछन् कि आउँदैनन् भन्ने कुराचाहिँ हाम्रो कार्यदिशा ठीक हुन्छ कि हुँदैन भन्ने कुराले निक्र्यौल गर्छ । दुःख पाएका मानिसहरु कति छन् ? तीन करोड पनि जनसंख्या नपुगेको देशका पौने एक करोड मानिस विदेशमा छन् । यसको कुनै समाधान त छैन । विकल्प के त ? क्रान्तिको ठीक कार्यदिशालाई कार्यान्वयन गर्न सक्दा मानिसहरु जम्मा नहुने, पहल कदमी नलिने भन्ने त प्रश्नै छैन । हाम्रो कार्यदिशा नै गलत ठानेका रहेछौँ भने त धेरै मानिस जम्मा भए पनि त्यो भताभुंग हुन्छ । तर, हामीले तय गरेको कार्यदिशा अन्तरगत वास्तविक समाजवाद निर्माणको प्रक्रियामा मानिसहरुको ठूलो लहर चल्न सम्भव छ । त्यसले मात्रै कम्युनिष्ट आन्दोलनको नयाँ ध्रुव निर्माण गर्छ ।

नेपालमा २००६ सालदेखि कम्युनिष्ट पार्टीको उदय भयो । तर, अहिलेसम्मको प्रवृत्ति पहिला जनतालाई विचार, आदर्श र समाजवादको सुन्दर फूल देखाउने र काँडा बनेर घोच्ने । तपाईं पनि कम्युनिष्ट नामधारी अर्को त्यस्तै पात्र बन्न खोज्नुभएको होइन ?

यस्तो कसरी भयो भन्ने कुराको पहिला उत्तर दिनुपर्‍यो । व्यक्ति खराब भएर यस्तो भएको होइन । विचारको विकास नभएकाले हो । लेनिनहरुसँग त्योबेलाको समयलाई हाँक्ने विचार थियो । मार्क्सहरुसँग आफ्नो विचारलाई विकास गर्ने एक स्तरको क्षमता, प्रतिभा र समर्पण भयो । त्यसकारण उहाँहरुले अरुलाई धोका दिनु परेन । माओ त्सेतुङहरुले आफ्नो समयलाई लड्ने विचार विकास गर्नुभयो, त्यसकारण अरुलाई धोका दिनु परेन । विश्वमा जहाँ–जहाँ मानिसलाई धोका हुन्छ, त्यो विचारमा विकास नभएपछि भएको हो । पुरानो विचारबाट काम चालाउन खोजियो, जुन हुनेवाला थिएन । त्यसपछि उसले झुट बोल्नुपर्‍यो ।

संसदीय व्यवस्थामा मानिस भ्रष्ट किन हुन्छ ? भ्रष्टाचार गर्ने बानी पर्नुभन्दा पहिले कोही मान्छे भ्रष्टाचार गरी बाँचेर आनन्दित हुन चाहान्छ त ? चाहँदैन नि । संसदीय व्यवस्थाको निर्माण जसरी भएको हुन्छ, त्यहाँभित्र छिरेपछि कि त बाबाजी जस्तो भएर निस्कनुपर्छ कि त भ्रष्ट हुनुपर्छ । त्यसको चुनावको डिजाइन नै यसरी गरिएको छ कि त्यहाँ करोडौँ रुपैयाँ खर्च हुन्छ ? कहाँबाट ल्याउने ? व्यापारीले भनेको त मान्नुपर्‍यो । म पुगेपछि केही काम गर्छु भनेर पैसा लिएर चुनाव लड्नुपर्‍यो । त्यसैले, समस्या व्यक्तिको नभएर संसदीय व्यवस्थाको वैचारिकीको हो ।

कि म ठीक भएको हुनाले क्रान्ति गर्न सक्छु भन्यो भने त्यो बेठिक कुरा हुन्छ । म महान हुँ, मैले क्रान्ति हाँक्छु, समर्थन गर भन्ने हावा कुरा हो । ऊ मरेपछि के हुन्छ ? मैले यो विचार लिएको छु, यो तिमीले पनि बुझ्ने विचार हो र यो तिमीले गरे पनि हुन्छ र मैले गरे पनि हुन्छ भन्न सक्नुपर्‍यो ।

कुनै पनि मानिस संसारमा आएपछि राम्रै भएर मर्न चाहन्छ । तर, उसको परिस्थिति र विचारले खराब बन्न बाध्य बन्छ । महिलाको बारेमा सम्पूर्ण निर्णय गर्ने अधिकार महिलालाई मात्रै हुने पार्टी बनाउन हो भने महिलाको बारेमा पार्टीले कुनै गलत निर्णय गर्नै सक्दैन । तर, यहाँ त महिलाका बारेको निर्णय चाहिँ पुरुषले गरिदिनुपर्छ । त्यसैले, हामीले नेता महान छ र क्रान्ति हाँक्छ भन्दैनौँ । विचारमा संरचना हुन्छ र जसले क्रान्ति हाँक्न सक्छ ।

तपाईंले संसदीय व्यवस्थामा प्रकट भएको आजको संकटको समाधान संसदको पुनर्स्थापना, मध्यावधि चुनाव वा यही व्यवस्थाभित्रै गरिने एक वा अर्को चलखेलबाट सम्भव छैन भन्नुभएको छ । विकल्पमा संघर्ष र हस्तक्षेप बढाउँदै लैजानुपर्छ भन्ने निष्कर्ष तपाईंको पार्टीको छ । त्यो संघर्षचाहिँ कस्तो हो ?

प्रतिरोध भनेको केपी ओलीका कारणले वा नेकपा नेकपाभित्रको संघर्षका कारणले वा नेकपाका कारणले भनेर आम जनताको ध्यान ध्यान खिचिँदै छ । संसदभित्रका सबै पार्टीले पनि यही भन्नेवाला छन् । वास्तवमा भएको त यो व्यवस्थाको संकट हो । यो व्यवस्थाले त्यो संकट पैदा भएको हो । सबैभन्दा पहिले आम जनताको बीचमा यो विचार, विश्लेषण र भण्डाफोर लानुपर्‍यो कि यो संकटको व्यवस्था हो । यो व्यवस्था रहेसम्म यस प्रकारका जनतालाई दुःख दिने संकट आइरहन्छन् । त्यसकारणले व्यवस्थाका विरुद्ध जानुपर्छ भन्ने चेतना, अपील र वैचारिकी निर्माण गर्नु पहिलो काम हो ।

प्रशिक्षणबाट यो व्यवस्थाको विकल्पमा समाजवादी संरचनाहरु बनाउन थाल्नुपर्ने हुन्छ । संसदीय व्यवस्था नै सबैभन्दा राम्रो व्यवस्था भनेर जनताको आँखामा धुलो छ्यापिएको छ । त्यो भ्रमलाई चिर्नु र यो जनविरोधी व्यवस्थालाई चिन्ने बनाउनको निम्ति अभियान चलाउने नै हाम्रो संघर्ष हो ।

उनीहरुसँग स्रोत साधन छ, सूचना प्रविधि छ । तर, उनीहरुसँग लड्नका निम्ति तपाईंहरुसँग के छ ?

पहिलो कुरा उनीहरुसँग सबै भएको कहाँबाट ? जनताले कर तिरेको हुनाले हो । जनताको सम्पत्ति हो त्यो त । उनीहरुले कहीँवाट कमाएर ल्याएको त होइन । त्यसकारणले जनता त्यसको विरुद्ध लागिसकेपछि त क्रान्तिसँग पनि चाहेको कुरा सबै भैहाल्छ नि ! मुख्य कुरा त मानिस कता लाग्छ भन्ने कुरा हो । बहुसंख्यक श्रमजीवि जनताले जम्मा गरेको पैसा, जनता जतिजति क्रान्तिको पक्षमा आउँछ क्रान्तिकारीसँग पनि सबै कुरा हुन्छ । क्रान्ति गर्नुभन्दा पहिले त सबै कुरा दुश्मनसँग त हुन्छ नि !

यो अन्तरवार्ता अनलाईन खबरमा प्रकाशित रहेको छ।

१३ माघ २०७७, मंगलवार १२:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु